default_image

5 years ago

May 27, 2021

रोनाल्डो र मेस्सी : तथ्यांकमा को अगाडि ?

325 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम सायदै कुनै कीर्तिमानसँग जोडिन बाँकी होला । पछिल्लो दशकमा गरेको प्रदर्शनले यी दुईलाई विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको सुचिमा उभ्याएको छ ।

विश्व फुटबलमा यी दुईले जित्न बाँकी व्यक्तिगत अवार्ड सायदै होला । क्लब फुटबलमा पनि दुवैले सफलताको शिखर चुमेका छन् । तर जब अन्तर्राष्ट्रिय उपाधिको कुरा आउँछ, दुवैले विश्वकपमा सफलता हासिल गरेका छैनन् । रोनाल्डोले पोर्चुगललाई युरोपेली च्याम्पियनसिप जिताउँदा मेस्सी भने अझैपनि अर्जेन्टिनाका लागि उपाधि दिलाउन संघर्षरत छन् ।

खेलाडीको मैदानभित्रको प्रदर्शन, टोलीमा सहकर्मीको स्तर र प्रशिक्षकको रणनीतिले उनीहरुको नतिजामा असर पर्छ । दुई खेलाडीमा को उत्कृष्ट भन्ने आ-आफ्नो तर्क हुन सक्छ । तर तथ्यांक भने सर्वविदित रहन्छ । प्रस्तुत छ मेस्सी र रोनाल्डोको हालसम्मको तथ्यांक :

१. क्लबको लागि गोल

क्लबको लागि गोल संख्या हेर्ने हो भने मेस्सीले भन्दा रोनाल्डोले धेरै गोल गरेका छन् । तर पोर्चुगिज स्टारले मेस्सीभन्दा २ सिजन बढी खेलेका छन् । रोनाल्डोले ६ सय ७४ गोल गर्दा मेस्सी २ गोलले मात्र पछाडी छन् ।

दुवै खेलाडीले क्लबका लागि ६ सय ७० गोल माथि गर्दा प्रदर्शनमा एकरुपता देखाएका छन् । विशेषगरी २००९-१० देखि २०१४-१५ सिजनसम्म दुवै आफ्नो करिअरकै उच्च विन्दुमा थिए । एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि मेस्सीको नाममा छ । उनले २०११-१२ सिजनमा ७३ गोल गरेका थिए ।

औसतमा हेर्दा पनि मेस्सी नै अघि छन् । रोनाल्डोले प्रति सिजन ३५ गोलको औसतमा प्रदर्शन गर्दा मेस्सीले ३९.५ गोलको औसतमा प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले एकै सिजनमा सर्वाधिक ६१ गोल सन् २०१४-१५ सिजनमा गरेका थिए । उनले २०१०-११ देखि २०१५-१६ सिजनसम्म लगातार ६ सिजन ५० गोलको आँकडा पार गरेका थिए ।

पछिल्ला केहि सिजनमा रोनाल्डोको प्रदर्शनमा केहि गिरावट आएको देख्न सकिन्छ । विशेषगरी युभेन्टस गएको पहिलो सिजन रोनाल्डोले ३० गोलको आँकडा पनि पार गर्न सकेनन् । मेस्सीले भने केहि चोटका बाबजुद पनि लगातार एकैरूपको प्रदर्शन दिँदै आएका छन् ।

२. क्लब असिस्ट

मेस्सी र रोनाल्डोको असिस्ट दाँज्ने हो भने मेस्सी निकै अगाडि छन् । मेस्सीको खेल्ने शैलीले पनि उनलाई खेलमा बढी आबद्ध गराउँछ । मेस्सीको गोल अवसर सिर्जना गर्ने क्षमताले गर्दापनि उनलाई रोनाल्डोभन्दा केहि राम्रो भन्ने आधार दिएको छ । रोनाल्डोको पनि फरवार्डको रुपमा असिस्ट संख्या उत्कृष्ट छ, तर मेस्सीको तुलनामा उक्त संख्या फिक्का पर्छ ।

३. च्याम्पियन्स लिग

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडमा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाए । युभेन्टस गएपछि भने च्याम्पियन्स लिगमा उनको प्रदर्शन फितलो हुँदै आएको छ ।

गोल संख्यामा पछि रहेपनि मेस्सीको प्रदर्शन पनि कमजोर छैन । प्रति खेल गोल औसतमा मेस्सी निकै अघि छन् । यसै गतिमा जाने हो भने मेस्सीले रोनाल्डोलाई भेट्ने सम्भावना छ तर उमेरले कस्तो साथ दिन्छ त्यो हेर्न भने बाँकी नै छ ।

४. फिफा विश्वकप

विश्वकपको प्रदर्शन हेर्दा भने मेस्सी र रोनाल्डो दुवैले आफ्नो स्तरअनुसार नतिजा दिन सकेका छैनन् । दुई खेलाडीको तुलना गर्दा भने रोनाल्डोले मेस्सीभन्दा कम खेलमा धेरै गोल गरेका छन् । तर प्रतियोगितामा भने मेस्सी फाइनल पुग्दा रोनाल्डोले सेमिफाइनल यात्रा पार गर्न सकेका छैनन् ।

मेस्सीले सन् २०१४ मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए । तर फाइनलमा जर्मनीसँग पराजित भएपछि उनी उपाधिबाट विमुख भए ।

५. अन्तर्राष्ट्रिय खेल

अन्तर्राष्ट्रिय खेलमा रोनाल्डो मेस्सीभन्दा निकै अघि छन् । दुई वर्षअघि करिअर सुरु भएका कारण पनि उनलाई केहि फाइदा पुगेको छ । रोनाल्डो हाल १ सय ७३ खेलमा १ सय ३ गोल गर्दै सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । उनी अलि दाइको १ सय ९ गोलको कीर्तिमान पछ्याइरहेका छन् ।

मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता त हुन् । तर रोनाल्डोको तुलनामा उनी पछाडी नै छन् । मेस्सीले १ सय ४२ खेलमा ७१ गोल गरेका छन् । उनको गोल औसत ०.५ छ भने रोनाल्डो ०.६ गोल औसतसहित केहि अगाडि छन् ।

६. टोलीका लागि उपाधि

मेस्सी र रोनाल्डोको उपाधि संख्यामा खासै अन्तर छैन । तर लिग उपाधिमा भने मेस्सी अघि छन् । उनले बार्सिलोनाबाट खेल्दै १० पटक ला लिगा उपाधि जितेका छन् । रोनाल्डोले भने इंग्ल्यान्ड, स्पेन र इटालीमा जोडेर कुल सात पटक उपाधि जितेका छन् । रोनाल्डोले तीन फरक देशमा लिग जित्दै आफूलाई फरक अवस्थामा पनि सिद्ध गरेका छन् ।

रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगमा भने पछि पारेका छन् । रोनाल्डोको यस प्रतियोगितामा एकल दबदबाले उनलाई मिस्टर च्याम्पियन्स लिगको उपनाम नै दिइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि रोनाल्डोले युरोपेली च्याम्पियनसिप र यूईएफए नेसन्स लिग जित्दा मेस्सी उपाधिविहिन छन् ।

७. व्यक्तिगत उपाधि

जब व्यक्तिगत उपाधिको कुरा आउँछ, पछिल्लो दशक यी दुईले नै सबै अवार्डमा वर्चस्व जमाएका छन् । मेस्सीले सन् २०१९ मा ब्यालोन डी’ओर जित्दै सर्वाधिक प्रतिष्ठित उपाधिमा रोनाल्डोलाई पछि पारे । मेस्सीको यो छैटौं उपाधि थियो भने रोनाल्डोले ५ पटक आफ्नो नाम यो उपाधि गरेका छन् ।

यता रोनाल्डोले फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने अवार्ड २ पटक जित्दा मेस्सीले १ पटक जितेका छन् । मेस्सीले लिगको सर्वोत्कृष्ट अवार्ड धेरै पटक जितेका छन् तर रोनाल्डोले तीन फरक लिगमा यो उपलब्धि हासिल गर्दै फरक सफलता हासिल गरेका छन् ।

२०२१ जुन सम्मको तथ्यांक

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.