5 years ago
May 29, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् ।

विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटका रुपमा रहेको अन्तिम ३ खेल्नु अघि शनिबार नेपाली टोलीले इराकको सामना गर्दैछ । चैत १६ गते दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनल अघि नै नेपाल आइसकेका अलमुताइरीले राष्ट्रिय टोलीलाई दुई साता पनि राम्ररी प्रशिक्षण दिन पाएनन् ।
थ्री नेसन्स सकिएलगत्तै छाडिएका कति खेलाडी मोफसलका प्रतियोगितामा भाग लिन निस्किए भने कति देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारीमा जुटे । एनएसएल वैशाख ११ गते देखि जेठ १ गते सम्म दशरथ रंगशालामै भएको थियो । सामूहिक प्रशिक्षणका लागि लामो समय नपाए पनि अलमुताइरीको एनएसएलका अधिकांश खेल हेरेर नयाँ, पुराना खेलाडीको प्रदर्शनको निगरानी गरे । त्यसकै आधारमा उनले टोलीको छनोट गरे ।
अलमुताइरीले इतिहास हेरेनन् । खेलाडी छनोटमा निर्मम भए । नामले होइन अहिलेको प्रदर्शनलाई आधार मानेर छनोट गर्दा थ्री नेसन्स जितेको झन्डै दुई महिना नपुग्दै १३ खेलाडी अहिलेको टोलीमा पर्न असफल भए । अधिकांश युवा खेलाडीको बाहुल्यता रहेको टोलीमा एकै पटक ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा समेटिने अवसर पाएका छन् ।

अलमुताइरीको टोली छनोटले धेरैलाई आश्चार्यमा पारेको थियो । युवा खेलाडीमाथि मात्र भर गरेर अनुभवलाई विश्राम दिदा टोलीले अबका ४ खेलमा कस्तो प्रदर्शन गर्ला भन्ने पक्कै चासोको विषय हुनेछ । प्रशिक्षकले जोखिम लिनै पर्छ । त्यसलाई अलमुताइरी पक्कै राम्ररी बुझेकै छन् ।
अलमुताइरी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले राष्ट्रिय टोलीको अन्तिम छनोटसँगै एउटा एजेन्डा सेट गरेका छन् , वान टिम वान गोल । अहिले त्यो सामाजिक सञ्जालमा चर्चामा छ । सामाजिक सञ्जालकै माध्यमबाट अलमुताइरीले भरोसा आर्जन गरेका छन् । हेर्दा लाग्छ उनी आलोचनाबाट खासै आत्तिदैनन् ।
इराक पुगेर उनले समाजिक सञ्जालमा लेखे, ‘प्रदर्शन राम्रो भएन भने त्यसको दोष खेलाडीलाई होइन मलाई दिनुस् ।’
आफूले अनुमान गरे भन्दा फरक नतिजा वा प्रदर्शन भयो भने पनि त्यसको जिम्मेवारी खेलाडीलाई नभई आफू लिन उनी मानसिक रुपमा तयार देखिन्छन् । छोटो समयमै प्रशिक्षकको मुल्याङ्कन गर्न सकिन्न, गर्न हुन्न । अलमुताइरीलाई पनि विश्व कप छनोट र इराकविरुद्धको खेलबाट मुल्याङ्कन गर्न हतार हुनेछ ।

त्यसअर्थ अहिलेको भ्रमण नयाँ युवा टोलीका लागि परिक्षणकै रुपमा लिनुपर्ने हुन्छ । त्यसको अर्को कारण ४ मध्ये ३ टोली नेपालभन्दा निकै बलिया र वरियतामा माथि छन् । मैत्रीपूर्ण खेलको प्रतिद्वन्द्वि इराकसँग नेपाल दुई दशकपछि खेल्दैछ । इराक एसियाकै पावर हाउस मध्येको एक मानिन्छ ।
कुवेतमा विश्व कप र एसिया कप छनोटका प्रतिद्वन्द्वि पनि नेपालका लागि सहज छैनन् । त्यहाँ नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेको सामना गर्नुपर्नेछ । छनोटमा यसअघि चाइनिज ताइपेलाई २–० ले हराउनु बाहेक छनोटमा सबै खेल गुमाएको थियो । अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले यसपटक त्यो भन्दा कम अन्तरको हार बेहोर्यो भने पनि सन्तोष मान्नु पर्ने हुन्छ । बराबरीमा रोक्न सके त्यसको अर्थ जित भन्दा ठूलो हुनेछ । चाइनिज ताइपेसँगको खेलमा जितको अपेक्षा राख्नु अन्यथा हुने छैन । त्यसबाहेक कुवेतसँगको पहिलो खेल ७–० र अर्को खेल १–० को गुमाएको थियो ।
इराक जानुअघि पत्रकार सम्मेलनमा अलमुताइरीले प्रष्ट भनेका थिए, ‘हामी विश्व कपमा छनोट हुन्छौ भनेर जान लागेका छैनौं । दीर्घकालिन योजनाका साथ टोलीमा निर्माणमा लागेका छौं । केहि समय दिनुस् । त्यसपछि मुल्याङ्कन गर्नु होला मेरो कुनै गुनासो हुने छैन ।’
यति तयारी गरेका थिएकी कुनै पनि खेलाडी किन टोलीमा परेन भन्ने प्रश्नमा उनीसँग जवाफ थियो । उनले बारम्बार साफ च्याम्पियनसिपलाई लक्षित गरेर टोली निर्माणमा लागेको बताएका थिए । अहिलेको भ्रमणका आधारमा पछि टोलीमा अन्य खेलाडी फर्कन सक्ने सम्भावनालाई पनि उनले खुला राखेका छन् ।

अलमुताइरीको पहिलो खेलका रुपमा नेपाली टोलीले इराकको सामना गर्दछ । सन् १९८६ को विश्व कप खेलेको इराक यसै पनि नेपालमाथि बलियो छ । एसिया कप जितिसकेको इराक नेपाल भन्दा फिफा वरियतामा १ सय ३ स्थान माथि छ । नेपालको वरियता १ सय ७१ औं स्थानमा छ । विश्व कप छनोटको तयारीमा रहेको इराक आफ्नो समूहको शीर्षस्थानमा छ भने नेपाल चौथो स्थानमा छ । त्यसैले धेरै आशा गर्ने ठाँउ छैन ।
त्यो राम्ररी बुझेका अलमुताइरीले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘हाम्रो लागि नतिजा होइन प्रदर्शन महत्वपूर्ण हो ।’ उनले विश्वास गरेका खेलाडीले कस्तो प्रदर्शन गर्छन् उनका लागि त्यसमा बढी चासो रहनेछ ।
यसैपनि इराकविरुद्ध ३ खेलमा नेपालले हार बेहोरेको थियो । भारतमा १९८२ मा भएको एसियाली खेलकुदमा यी दुई टोलीबीच पहिलो भेट भएको थियो । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा नेपाल टोली ३–० को हार बेहोरेको थियो । त्यसपटक एकै पटक यी दुई टोलीबीच २००१ मा विश्व कप छनोटमा आमना सामना भएको थियो ।

जसमा पहिलो खेलमा ९–१ ले हारेको नेपालले अर्को खेलमा कडा टक्कर दिने क्रममा ४–२ को हार बेहोरेको थियो । त्यसबेला पहिलो पटक इराकको पोष्टमा नेपाली खेलाडी गोल गर्न सफल भए । नीराजन रायमाझीले पहिलो र दोस्रो दुवै खेलमा गोल गर्दा दोस्रोमा हरि खड्काले पनि गोल गरेका थिए । दुई दशकपछि हुने इराकविरुद्ध मैत्रीपूर्ण खेलमा यदि कुनै खेलाडी गर्न सफल भएको खण्डमा त्यो उनका लागि पनि स्मरणीय हुनेछ ।
विश्वव्यापी महामारी चलिरहेका बेला विश्व कप छनोट अघि इराक जस्तो शसक्त टोलीसँग खेल्न पाउनु नेपाली टोलीका लागि राम्रो मौका हो । टोलीका कप्तान किरण चेम्जोङले त्यसैले भनेका छन्, ‘विश्वकप अघि इराकसँग खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो ।’
इराकविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेको खण्डमा नेपाली टोली उच्च मनोबलका साथ आइतबार कुवेत यात्रामा निस्कने निश्चित छ । अलमुताइरीले लामो योजनाका साथ थालेको यात्रालाई नेपाली टोलीका समर्थकले नजिकबाट पक्कै हेर्नेछन्।नतिजा आफ्नो ठाउँमा रहला,नयाँ स्वरूपको नेपाली टोलीले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न सबै आतुर छन् ।
यो पनि पढ्नुहोस : यसपटक नरोकियोस् फुटबलमा परिवर्तन
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]