default_image

3 years ago

August 11, 2021

पिएसजीमा मेस्सीको नयाँ यात्रा सुरु

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्दैछन् । झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए । बार्सिलोना छाड्ने घोषणा गर्दा निकै भावुक देखिएका मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले […]

76 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्दैछन् । झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए ।

बार्सिलोना छाड्ने घोषणा गर्दा निकै भावुक देखिएका मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । त्यसो त अघिल्लो दिन नै मेस्सी आउने प्रतीक्षामा समर्थकले सहरमा भिड जम्मा गरिसकेका थिए । मंगलबार मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता पक्का गरेका हुन् । गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ‌।

मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।

यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अ‍ौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ ‌। बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अ‍ोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले इच्छा देखाएनन् ।

पिएसजी नै उत्तम गन्तव्य – मेस्सी

क्लबसँग सम्झौता गरेलगत्तै मेस्सीले पिएसजी आफ्नो लागि उत्तम क्लब रहेको अभिव्यक्ति दिए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक छु । मलाई थाहा छ यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने । क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो । म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु,’ उनले भने ।

क्लबका अध्यक्ष नासेर अल खलिफाले मेस्सीलाई अनुबन्ध पाउँदा निकै खुसी रहेको बताए । ‘ म खुसी छु की मेस्सीले पिएसजी आउने निर्णय गरे । उनी हाम्रो परिवारको हिस्सा बन्नु गौरवको कुरा हो,’ उनले थपे,’मेस्सीले शीर्ष श्रेणीको फुटबलमा उपाधि जित्ने लक्ष्य राखेका थिए । यो हाम्रो क्लबको लक्ष्यसँग मेल खाएर नै सहकार्य भएको हो ।’

यससँगै पिएसजीले ट्रान्सफर विन्डोमा चौथो फ्री ट्रान्सफरका रुपमा मेस्सीलाई अनुबन्ध गर्यो । मेस्सीअघि नेदरल्यान्ड्सका कप्तान जिओर्जिनिओ वाइनाल्डम, इटालीका गोलरक्षक जियानलुईजी डोनारुममा र स्पेन तथा रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई अनुबन्ध गरेको थियो । इन्टर मिलानबाट डिफेन्डर अक्रफ हकिमी पनि पिएसजी आएका छन् ।

बिदाइमा भावुक मेस्सी

त्यसअघि विहीबार मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा सम्हालिन सकेका थिएनन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।

मेस्सीले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रुपमा सबै प्रयास गरेपनि त्यो सम्भव नभएको मेस्सीले प्रष्ट पारे । ‘म, क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ-आफ्नो स्थानमा प्रष्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं । तर लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि यो अवस्था चाहेका थिएनौं,’ मेस्सीले भने ।

मेस्सीले गत सिजन र यस सिजनको अवस्था ठिक विपरित भएको पनि स्वीकारे । ‘ गत सिजन म आफैं क्लब छाड्न चाहन्थे, तर त्यो सम्भव भएन । यसपटक मैले क्लबमा रहने सक्दो प्रयास गरें, तर अवस्था यस्तो भयो की दुवै पक्षले चाहेर पनि त्यो सम्भव हुन सकेन,’ उनले भने । मेस्सीले आफ्नो र परिवारको सारा जीवन नै बार्सिलोनामा बितेको हुनाले केहि वर्षपछि यहाँ नै फर्कने प्रष्ट पारे ।

मेस्सीले यो आफ्नो करिअरकै सबैभन्दा कठिन समय रहेको स्वीकारे । ‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुपर्यो। धेरै खराब नतिजाको सामना गरें, तर यो जस्तो अवस्था थिएन । अब मैले पुन: प्रशिक्षणमा फर्कनुपर्छ तर अवस्था निकै फरक हुनेछ । यो समय मेरो लागि निकै कठिन छ,’ उनले भने ।

मेस्सीले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए । ‘यो निकै दुखलाग्दो समय हो । मैले यस क्लबमा रहेर निकै सफलता हासिल गरें । तर यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ । मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ,’ उनले भने । मेस्सीले आफ्नो सम्झौता कहिले पनि समस्या नरहेको प्रष्ट पारे ।

मेस्सीले आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए । ‘अध्यक्षले भनेजस्तै खेलाडीभन्दा क्लब ठूलो हो । खेलाडी आउने जाने क्रम जारी नै रहन्छ । अहिले पनि क्लबमा राम्रा खेलाडी छन् । अन्य खेलाडी पनि भविष्यमा आउने नै छन् । मलाई विश्वास छ आउने दिनमा पनि क्लब सफल नै हुनेछ,’ उनले भने ।

मेस्सीले आफू समर्थकका बिचमा रहेर बिदाइ लिन नपाएकोमा खिन्न महसुस गरेको बताए । ‘अहिलेको अवस्था नै यस्तै रहयो । पछि फेरी कुनै अवसर आयो भने म बिदाइमा समर्थकमाझ आउन सक्छु होला, तर त्यो बेलामा फरक स्थिति हुनेछ । हामीले समर्थकसँग रहेर खेल्न पनि पाएनौं । यो निकै खराब समय रहयो,’ उनले भने ।

मेस्सीले आफू बार्सिलोनामा रहन नपाउने खबर सुनेपछि निकै दुख लागेको अनुभव साटे । ‘ जब मैले सम्झौता हुन नसक्नेबारे खबर पाएँ, निकै नरमाइलो लाग्यो । मेरो परिवारका लागि पनि त्यो सहज समय थिएन । तर मैले आफू फुटबल खेल्न पाउँछु भनेर चित्त बुझाएँ । अब भविष्यको बारेमा सोच्नुपर्छ भन्ने परिवारले पनि थाहा पाएका छन्,’ मेस्सीले थपे ।

मेस्सीले क्लबलाई समस्यामा पार्ने मनसाय नरहेकोले नै अहिले नै कठिन निर्णय लिएको बताए । ‘हामीले ट्रान्सफर विन्डोको अन्त्यसम्म रहेर प्रतीक्षा गर्ने अवस्था छैन । क्लब निकै ऋणमा छ र म त्यसको बोझ बन्न चाहन्न । अध्यक्ष लापोर्टाले पनि योबारे प्रष्ट पारेका छन् । म आफैं पनि आफ्नो भविष्यबारे चिन्तित छु र निर्णय लिनुछ,’ उनले भने ।

मेस्सीले बार्सिलोनाबाट अर्को च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा हुन नसकेको पनि बताए । ‘हामीले च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा गर्न सकेनौं । मलाई लिभरपुलसँगको सेमिफाइनल र चेल्सीसँगको खेल याद आउँछ । हामीले विविध कारणले च्याम्पियन्स लिगसम्म पुग्न सकेनौं । अहिले सम्झंदा निकै दुख लाग्छ तर त्यो वास्तविकता थियो,’ उनले भने ।

मेस्सीले ड्यानी आल्भेसको उदाहरण दिँदै आफू कम्तिमा उनको करिअरको उपाधि कीर्तिमानसम्म पुग्न चाहने बताए । ‘ड्यानी आल्भेसले हिजो भर्खर ओलम्पिक स्वर्ण जिते । उनी हामीसँगै खेल्दा पनि सधैं जित्न चाहने खेलाडी हुन् । म पनि कम्तिमा उनीजति उपाधि जित्न चाहन्छु,’ मेस्सीले थपे । आल्भेसले करिअरमा ४३ उपाधि जित्दा मेस्सीले ३८ उपाधि हासिल गरेका छन् ।

बार्सिलोनाको ‘आर्थिक समस्या’

मेस्सीले आफूले नियमित लिँदै आएको भन्दा कम रकममा सम्झौता गर्न तयार भएपनि बार्सिलोनाको आर्थिक अवस्था एकदम नाजुक भएको कारण उनी क्लबमा रहन सम्भव भएन । तीन सिजन अघिसम्म बार्सिलोना विश्व खेलकुदमा सर्वाधिक तलब दिने टोलीमा पर्थ्यो । तर पछिल्लो दशक आर्थिक व्यवस्थापनमा चुक्दै आएपछि अब बार्सिलोना निकै ठूलो संकटमा परेको छ ।

प्रिमियर लिगको तुलना गर्ने हो भने अब बार्सिलोनाले लेस्टर सिटी वा एस्टन भिल्लाको जति मात्र तलब दिन पाउँछ । ला लिगामा टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिडभन्दा पछि हुनुपर्ने अवस्था छ । त्यसका लागि बार्सिलोनाले खेलाडी बेच्ने मात्र नभएर हाल क्लबमा रहेका खेलाडीको पनि तलब घटाउनु पर्नेछ । खेलाडी बेच्ने प्रक्रिया सुरु त भएको छ तर आवश्यक गतिमा अघि बढेको छैन ।

ला लिगाको नियमअनुसार क्लबले ट्रान्सफरबाट आएको २५ प्रतिशत रकम मात्र नयाँ खेलाडी अनुबन्धमा खर्च गर्न पाउँछ । यहि रकम सम्झौता अन्त्य भएको खेलाडीलाई पुन: क्लबमा राख्न प्रयोग गरिन्छ । बाँकी ७५ प्रतिशत रकम भने ऋण चुक्ता गर्न खर्च गर्नुपर्ने हुन्छ । यसैपनि ठूलो आर्थिक भार बेहोरेको बार्सिलोनाले कोरोना भाइरस संक्रमणका कारण थप घाटा बेहोरेको थियो ।

अहिलेको अवस्थामा बार्सिलोनाले अनुबन्ध गरिसकेका खेलाडीलाई पनि दर्ता गराउन पाएको छैन । सर्जियो अगुएरो, एरिक गार्सिया, मेम्फिस डिपाए र एमर्सन रोयल अझैपनि औपचारिक रुपमा दर्ता हुन पर्खिरहेका छन् । अब बार्सिलोनाले क्लबमा रहेका मोटो तलब लिने खेलाडीलाई बाहिर पठाएपछि मात्र नयाँ खेलाडी दर्ता हुने देखिन्छ । मेस्सीको हकमा बार्सिलोनाले उनले पाउने बराबर रकमको खेलाडी बेच्ने अवस्था नरहेको कारण नै सम्झौता नभएको हो ।

बार्सिलोना अहिले झन्डै १ बिलियन युरो ऋणमा छ । अघिल्लो सिजनको तुलनामा क्लबले आफ्नो तलबबाट ४० प्रतिशत कटौती गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा क्लबका खेलाडी पनि बेच्न नसक्नु र नयाँ खेलाडी अनुबन्ध गर्नुले क्लब थप समस्यामा परेको छ । क्लबले अहिले टोलीमा रहेका खेलाडीलाई पनि तलब घटाउन आग्रह गरिसकेको छ, यसको विवरण भने क्लबले केहि सातापछि लिगलाई बुझाउने छ ।

बार्सिलोनाले फ्रान्सिस्को ट्रीन्काओ, कोन्राड फुएन्ते, जुनिअर फिर्पो, क्लेर तोबिदो र कार्लेस अलेनालाई बेचिसकेको छ । तर यी सबै खेलाडी निकै कम रकममा ट्रान्सफर भए र तलब पनि निकै कम थियो । अब बार्सिलोनाको ध्यान मोटो तलब बुझ्ने स्यामुएल उम्टिटी, मिरालेम प्यानिच, ओस्मान डेम्बेले, एन्टोइन ग्रिजमन लगायत खेलाडी बेच्नुमा हुनुपर्छ । यसो हुन सके मात्र क्लबले अनुबन्ध गरिसकेका खेलाडीलाई दर्ता गर्न पाउँछ ।

ला लिगाले आफ्नो नियममा अडिग रहने बताइरहँदा बार्सिलोना र रियल म्याड्रिडले यसको आलोचना गरेका छन् । यसकै फलस्वरूप दुवै क्लबले बुधबार मात्र लिगलाई आएको आर्थिक सम्झौतामा असहमति जनाएका छन् । अमेरिकी लगानीकर्ता सिभिसीले लिगको १० प्रतिशत व्यावसायिक अधिकारको लागि २.७ बिलियन युरो दिने घोषणा गरेको थियो । त्यसको ९० प्रतिशत रकम क्लबहरुले प्राप्त गर्ने थिए । तर रियल र बार्सिलोनाले क्लबहरुको अधिकारी रहेको विषयमा छलफल नगरेको भन्दै आलोचना गरेका छन् । यस विषयमा लिग संरचनाका ४२ क्लबले अर्को साता मतदान गर्ने बुझिएको छ ।

कस्तो हुन्छ मेस्सीबिनाको बार्सिलोना ?

झन्डै १७ वर्षमा पहिलो पटक बार्सिलोना मेस्सीबिना सिजनको सुरुवात गर्दै छ । पछिल्ला ५ सिजनमा मेस्सीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा ५१, ४५, ५१, ३१, र ३८ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि १७ सिजन खेल्दा औसतमा ४० गोल गर्दै आएका छन् । त्यसैले बार्सिलोनाका लागि सबैभन्दा ठूलो चुनौति मेस्सीको अनुपस्थितिमा पर्याप्त गोल गर्नु हुनेछ ।

बार्सिलोनाले यस सिजन म्यानचेस्टर सिटीबाट फरवार्ड सर्जियो अगुएरो भित्राएको छ । अगुएरो मेस्सीसँग अर्जेन्टिनाबाट धेरै पटक सँगै खेलेका छन् । व्यक्तिगत रुपमा पनि उनी मेस्सीका सबैभन्दा नजिकका साथीमा गनिन्छन् ।

त्यस्तै नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपाएलाई लियोनबाट भित्राउन पनि बार्सिलोना सफल भएको छ । अगुएरो र डिपाएसँगै भरपर्दा फरवार्ड एन्टोइन ग्रिजमनले बार्सिलोनाको अग्रपंक्ति सम्हाल्ने देखिन्छ । त्यस्तै अग्रपंक्तिमा बार्सिलोनाका लागि युवा खेलाडीद्वय उस्मान डेम्बेले र अन्सु फाती पनि छन् ।

अगुएरो र डिपाए पहिलो पटक बार्सिलोनाको जर्सीमा उत्रनेछन् । त्यसैले पनि उनीहरुबाट मेस्सीझैं प्रदर्शनको आशा गर्नु न्यायोचित हुँदैन । त्यस्तै ग्रिजमनले २ वर्षमा सबै प्रतियोगितामा बार्सिलोनाका लागि ३५ गोल गरेका छन् । यो मेस्सीको एकै सिजनको औसतभन्दा पनि कम हो ।

अर्का फरवार्ड डेम्बेलेबाट बार्सिलोनाका प्रशंसकहरुले धेरै आशा राखेपनि बारम्बारको चोटका कारण उनले सोचेअनुरुप खेल पस्किन पाएका छैनन् । त्यस्तै फातीबाट पनि उत्तिकै आशा रहेको छ । तर १८ वर्षका उनलाई पनि शीर्ष स्तरमा जम्न केही समय भने अवश्य लाग्नेछ ।

टोलीका लागि गोल मात्र नभई मेस्सीको योगदान असिस्टमा पनि उत्तिकै देखिन्छ । आउने सिजन स्पेनका १८ वर्षीय मिडफिल्डर पेड्रिले बार्सिलोनाको लागि प्लेमेकरको भुमिका निभाउने देखिन्छ । पेड्रि आकर्षक युवा खेलाडी हुन् र उनले आफ्नो क्षमता युरोकप तथा ओलम्पिक्सबाट दर्शाएका छन् । तर पेड्रिबाट मेस्सीजस्तै असिस्टको योगदानको अपेक्षा गर्नु जायज हुँदैन ।

गोलकर्ता र गोलको सिर्जनाकर्ताका साथसाथै मेस्सी क्लबका कप्तान पनि हुन् । डिफेन्डर जेरार्ड पिके, जोर्डी अल्बा र मिडफिल्डर सर्जिओ बुस्केट्स क्लबका वरिष्ठ खेलाडीको रुपमा आउने सिजन टिमको नेतृत्व गर्नुपर्ने हुन्छ । यसैपनि मेस्सीको अनुपस्थितिमा बुस्केट्स र पिकेले कप्तानी सम्हालिसकेका छन् ।

मेस्सीको अनुपस्थितिमा बार्सिलोनाले अगुएरो, डिपाए, ग्रिजमन, फाती, पेड्री, पिके, अल्बा वा बुस्केट्समा मेस्सीको गुण खोज्नु गल्ती हुने छ । यी सबै आफैंमा सक्षम खेलाडी हुन् र मेस्सीसंग हरेक कुरामा दाँज्न खोज्नु प्रशंसकहरुको भुल हुनेछ । किनभने मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनलाई प्रतिस्थापन गरु असम्भव झैं हुनेछ । तर बार्सिलोनालाई उनको अभावमा फेरी नयाँ पुस्ताको सुरुवात गर्ने मौका रहेको छ ।

क्लबका अध्यक्ष जोअन लापोर्टाले मेस्सीको अनुपस्थिति भर्न बार्सिलोना झनै लगावसँग खेल्ने बताएका छन् । लापोर्टाका अनुसार मेस्सीको अनुपस्थितिमा युवा खेलाडी तथा नयाँ खेलाडीहरुलाई आफ्नो महत्त्व प्रस्तुत गर्ने मौका मिल्ने पनि बताएका छन् ।

मेस्सी र बार्सिलोना डेढ दशकभन्दा बढी पर्यायवाची जस्तै थिए । त्यसैले उनको अनुपस्थितिमा टिमको पुनर्निमाण गर्न अवश्य पनि केहि समय लाग्नेछ । यहि बेला प्रशंसकहरुको धैर्यता र समर्थनको सबैभन्दा धेरै आवश्यक पर्छ ।

मेस्सीले एक दिन बार्सिलोना छोड्नु नै थियो । तर त्यो दिन अप्रत्याशित रुपमा छिटै आइपुग्यो । हरेक चुनौतिमा अवसर हुन्छ भनेझैं क्लब खेलाडीभन्दा ठूलो हुन्छ भन्ने उदाहरण दिन बार्सिलोनालाई यस सिजन ठुलो अवसर रहेको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.