एजेन्सी – म्यानचेस्टर युनाइटेडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ४ बच्चाका बाबु हुन् । जर्जिनिया रोड्रिग्वेज र रोनाल्डोको जोडीले आफूहरुको जुम्ल्याहा बच्चा हुन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

रोनाल्डोकी पार्टनर ३ महिनाको गर्भवती रहेको बताइएको छ । उनले पहिलो सन्तानका रुपमा एलाना मार्टिनालाई सन् २०१७ को नोभेम्बरमा जन्म दिएका छन् । रोनाल्डोका त्यसअघि नै ३ बच्चा क्रिस्टियानो जुनियर तथा जुम्ल्याहा इभा र माटेउ छन् । क्रिस्टियानो जुनियर ११ वर्ष र जुम्ल्याहा इभा र माटेउ ४ वर्षका भए । एलाना बाहेक बच्चालाई सरेगेट आमाले जन्म दिएकी हुन् ।
‘हामीले जुम्ल्याहाको अपेक्षा गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ रोनाल्डो र जर्जिनियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माया छ । हामी तिमीहरुलाई भेट्न आतुर छौं ।’ रोनाल्डोले यो घोषणा गरेको पोस्ट सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएको पोस्ट समेत बनेको छ । पोस्ट भएको २४ घण्टा बित्दा २ करोड ७६ लाखले पोस्ट लाइक गरेका छन् ।
रोनाल्डाको जोडीले जुम्ल्याहा बच्चा हुन लागेको घोषणा गर्नुअघि नै सञ्चारमाध्यमले खबर प्रकाशित गरिसकेका थिए । ३६ वर्षे रोनाल्डोले २०१७ मा नै आफूले ७ वटा बच्चा चाहेको बताएका थिए । २७ वर्षकी मोडल जर्जिनाले पनि आफूलाई आमा हुनुभन्दा ठूलो अरु केहि नभएको र अझै बच्चा जन्माउन चाहेको बताएकी थिइन् । रोनाल्डोकी आमा डोलोरेसले सबै भन्दा पहिले रोनाल्डोको जोडीलाई बधाई दिएको थियो । उनले सबैभन्दा महत्वपूर्ण भनेको अब जन्मने बच्चाको स्वास्थ्य रहेको उल्लेख गरेकी छिन् ।
रोनाल्डोले २०१६ मा गुची स्टोरमा घण्टाको १० युरोमा काम गर्दा भेटेका थिए । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोसँगै जर्जिना म्याड्रिड, टुरिन हुँदै अहिले म्यानचेस्टर बस्दै आएकी छन् ।