default_image

2 years ago

October 21, 2022

आमा बनेको ४५ दिनमा प्रशिक्षण, १२ महिनामै स्वर्ण

767 views

0 Bookmark

भूपेन्द्र जि.सी., पोखरा

सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् ।

बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् । छोरा १ वर्ष पुग्दा नपुग्दै विपनाले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण समेत जितिन् ‌‌। उनी र एउटा आमाको लागि सायद यो भन्दा ठूलो खुसी करिअरमा सायदै भेटिएला । खेलप्रेमी र सामान्य मानिसका लागि पनि उनी प्रेरणाको स्रोत बनेकी छिन् ।

विपनाले विहीबार सम्पन्न फाइनलमा स्वस्थानी श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् । आमा बनेपछि खेल्न सकिँदैन भन्नेलाई उनी राम्रो उदाहरण बनिन् । स्वर्ण जितेलगत्तै उनी केही समय भावुक बनिन् । नहुन् पनि कसरी, यहि उपलब्धिको लागि दुधे बालकलाई छाडेर उनी कडा मिहिनेत गर्न तल्लीन थिइन् । उनले स्वस्थानीलाई फाइनलमा ९–११, ११–८ ११–८, र ११–६ ले पराजित गर्दै स्वर्ण जित्न सफल भइन् ।

पहिलो सेट गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनको साथ स्वर्ण चुमिन् । आमा भित्र स्क्वास कोर्टमा स्वर्णको लागि प्रतिस्पर्धा गर्दा छोरा साङ्गे बाहिर हजुरआमा लहरीमाया ब्लोनसँग थिए । उनी खेल बुझ्न र बोल्न सक्दैनन् । तर हजुरआमासँग बाहिर बसेका उनी आमा खोजिरहेका थिए ।

विपनाले स्वर्ण जित्न धेरै त्याग र मिहिनेत गरेकी छिन् । उनले जितपछि मिहिनेतको फल प्राप्त गरेको बताइन् । ‘यो मेरो वर्षाैंको तयारी हो । मैले राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण जिते । मैले धेरै मिहिनेत गरेको थिए । यो मेरो मात्र नभएर सबै नारी र आमाहरुको जित हो’, स्वर्ण जितेपछि विपनाले भनिन् ।

विपनाले खेलमा फर्कन परिवारको ठूलो साथ र सहयोग पाइन् । नत्र त दुधे बालक छाडेर कोर्टमा फर्कन सहज हुने थिएन । एक वर्ष नपुग्दै बच्चाहरु आफ्नो आमा बाहेक अरुसँग मान्न धेरै कठिन पर्छ । अरुलाई फकाउन नै गाह्रो हुन्छ ।

‘मलाई यहाँसम्म फर्कन परिवारले धेरै सहयोग गरेको छ । मम्मीले मेरो लागि धेरै दुःख गर्नु भएको छ’, भावुक मुद्रामा उनले भनिन् ।

विपनाको छोरा हेर्न आमा टोलीसँगै २२ गते नै पोखरा आएकी थिइन् । विपनाले स्वर्ण जित्नेबारे नसोचेको बताइन् ।’ मैले जित्छु भनेर सोचेको पनि थिइनँ । स्वस्थानीले पहिलो सेट जित्यो । पछि सट र सर्भिस पनि राम्रो भयो । खेलमा फर्कन सकें’, उनले भनिन् ।

विपनाले फाइनलमा पहिलो सेट गुमाएकी थिइन् । एक समय दोस्रो सेटमा ५–० ले पछि थिइन् । तर हिम्मत हारिनन् र खेलमा फर्कन सफल भइन् ।

‘यत्रो मिहिनेत खेर फाल्नु हुँदैन । मैले यो सेट जसरी पनि जित्छु भनेर सोचें । मैले धेरै मिहिनेत गरेको छु । पहिलो सेटमा अलि डराए जस्तो थिए । नर्भस भएजस्तो थिएँ । मैले पहिलो सेटमा पनि राम्रो खेल खेल्नु पर्ने थियो । ध्यान नै अलि केन्द्रित भएन । पछि राम्रो भयो । मेरो स्वर्ण जित्ने सपना पूरा भयो’, उनले खेलपछि भनिन् ।

सातौं र आठौं राष्ट्रियमा उनी कास्यमा सिमित भएकी थिइन् । ‘त्यो समय खासै खेल्दिन थिएँ । त्यसबेला मभन्दा अझ राम्रा खेलाडी थिए,’ उनले भनिन्, ‘धेरै खुसी लागेको छ । जे होस् मेरो मिहिनेत खेर गएन । विशेषगरी मम्मीलाई धेरै धेरै धन्यवाद । मम्मी र श्रीमानले मलाई धेरै सहयोग गर्नु भएको छ’, उनले भनिन् ।

विपनाका श्रीमान मेकराज बहादुर लामा काठमाडौंको बौद्धमा व्यापार व्यवसाय गर्दछन् । उनी फाइनलका लागि उपस्थित हुने योजना रहेपनि व्यापार सम्हाल्नु पर्ने हुँदा आउन सकेनन् ।

विपनाकी आमा पनि त्यतिनै खुसी छिन् । छोरीलाई खेलमा फर्कन दिन उनी ४५ दिन पुग्दा देखिनै नाती हेर्दै आएकी छिन् । ‘यत्रो बच्चाको आमाले त्यत्रो मिहिनेत गरेर स्वर्ण जितिन् । उनले सानै देखि खेलमा रुचि राख्थिन् । मेरो पसल एन्फाको छेउमा छ । उ त सानोमा लुकी लुकी खेल हेर्न जान्थिन् । उसको इच्छा देखेर १२ वषमै खेलमा हाल्देका थियौं । मिहिनेत अनुसार राम्रो पनि भयो’, आमा लहरीमाया ब्लोनले भनिन् ।

‘यो बाबु ४५ दिन पुगेको दिनदेखि विपना प्रशिक्षणमा जान थालेको हो । मैले त नजाउ भनेको थिएँ तर मानिनन् । खेल्ने नै भनेपछि केही लागेन,’ उनले भनिन्, ‘आमा खेल्न जाँदा पहिला त बच्चाले मान्ने थिएन । दुध खुवाएर राख्थ्यौं । पछि बानी पर्दै गयो । अहिले त म भएपछि मान्छ’, उनले भनिन् ।

‘छोराछोरीको खुसी हुन् भन्ने नै आमा बुबाको इच्छा हो । हामीले त बच्चा सानो छ नजाउ पनि भन्छौं । तर उनी एकै छिन आउँछु भनेर जान्छिन् । अभ्यासबाट फर्केपछि छोरा रोएको छ कि छैन भनेर सोध्छिन्’, उनले भनिन् ।

विपना पहिलाको भन्दा स्क्वास राम्रो हुँदै गएको बताउँछिन् । तर हालसम्म उनले दुई पटक मात्रै साग खेल्न पाएकी छिन् । १३ औं सागमा उनले कास्य पदक जितेकी थिइन् । विदेशमा गएर खेल्न पाए खेल स्तरमा पनि धेरै परिवर्तन हुने उनको अपेक्षा छ । अन्तर्राष्ट्रिय खेल नहुँदा उनले पनि आफ्नो असली स्तर राम्रोसँग जाच्न पाएकी छैनन् । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा प्रशस्त खेल खेल्न चाहन्छिन् ।

स्क्वासलाई अझ विकास गर्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता आवश्यक बनिसकेको छ । खेलाडीले आफ्नो मिहिनेत, प्रतिभा देखाउन र चिन्न अवसर पाउनु पर्छ । सम्बन्धित संघ र पदाधिकारीले यो विषयमा गम्भीर भएर सोच्नुपर्छ । नियमित घरेलु प्रतियोगितासँगै अन्तर्राष्ट्रिय नतिजाले खेलको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्छ नै, युवा पुस्तालाई पनि खेलमा लाग्न प्रेरित गर्छ ।

October 24, 2024

जापानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]

October 22, 2024

नेपाली उसु खेलाडीले थाउँलो वर्ल्ड कपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

Success

Thank you for your time.