default_image

1 year ago

February 12, 2023

चिरायु चन्चलाको कराते साधना

भुपेन्द्र जि.सी,काठमाडौं चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने । नेपालमै तीन वर्ष […]

149 views

0 Bookmark

भुपेन्द्र जि.सी,काठमाडौं

चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने ।

नेपालमै तीन वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चन्चला करातेतर्फ पदक दिलाउने पहिलो नेपाली खेलाडी बनिन् । चन्चलाले सातदोबाटोस्थित कराते एकेडेमीको हलमा एकल कातातर्फ स्वर्णका लागि पाकिस्तानकी शाहिदीसँग प्रतिस्पर्धामा थिइन् । तर फाइनलमा थोरै अन्तरले पराजित भएपछि उनी रजत पदकमा सिमित हुनुपरेको थियो । स्वर्ण जित्ने आशासहित चन्चलाले उत्कृष्ट प्रदर्शनसाथ फाइनलमा २४.६२ अंक ल्याएपनि शाहिदीले २५.२८ प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरिन् ।

घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्ने चन्चलाका लागि १३ औं साग आयोजना भएकै हलमा यो साता भने फरक माहोल थियो । दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिताको पहिलो दिन विहीबार एकल र टिम काता दुवैमा चन्चला स्वर्ण पदक जित्न सफल भइन् । दोहोरो स्वर्ण जितेपनि चन्चलाको अनुहारमा खासै खुसी थिएन ।

घरेलु प्रतियोगितामा लगातार सफल भएकी उनीसँग तीन वर्षअघि त्यहि स्थानमा करिअरको सबैभन्दा ठूलो सपना पूरा गर्नबाट चुकेको पीडा कतै न कतै लुकेको थियो । दोस्रो स्वर्ण जितेपछि आफ्नो गी परिवर्तन गरेर आएकी उनी सागको प्रसंग निकाल्ने बितिक्कै केही गम्भीर बनिन् ।

अनुहार मलिन बनाउँदै उनले भनिन्,’त्यो त एकदमै पीडादायी क्षण थियो । आफ्नै देशमा हुँदा पनि जित्न सकिएन । मैले सागमा स्वर्ण जित्ने लक्ष्यका साथ धेरै मिहिनेत गरेको थिए । यतिधेरै खेल खेलेपछि देशका लागि एउटा स्वर्ण जित्ने सपना थियो । साग सकिएपछि अझ पीडा भयो । कति दिन त सुत्न पनि सकिएन ।’

‘अभ्यास त राम्रो भएको थियो । स्वदेशमा स्वर्ण नै जित्छु जस्तो लागेको थियो । दुर्भाग्यवस सकिएन । अहिले पनि त्यो दिन सम्झियो भने धेरै गाह्रो हुन्छ । त्यो हारपछि त अहिले खेल पनि के खेल्नु जस्तो लाग्छ । त्यति धेरै मिहिनेत गर्दापनि स्वर्ण जित्न सकिनँ । एक मनले त अब खेल्नै छाडौंजस्तो भएको थियो’, रसाएको आँखा पुछ्दै उनले सुनाइन् ।

त्यसो त चन्चलाले देशको प्रतिनिधित्व गर्ने क्रममा सामना कठिन समय यो पहिलो थिएन । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा खेल स्थल पुगेर पनि खेल्न नपाइ फर्कनुपरेको थियो ।

हरेक खेलाडीको सपना देशका लागि पदक जित्ने हुन्छ । जित्ने स्तर नहुँदा कम्तिमा पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने हुन्छ । तर छनोट चरण पार गरेर नियमित प्रशिक्षण पश्चात खेल स्थलमा गएर खेल्ने नपाइ फर्कनुपर्ने कल्पना कसैले गर्दैनन् । त्यो खेलाडीका लागि दुख भन्दापनि समग्र खेल जगतकै लागि अपमान सरह हुन्छ । चन्चलाले त्यसबेला सोही नियतिको सामना गर्नुपर्यो ।

त्यसबेला नेपालको करातेमा आन्तरिक विवाद हुँदा त्यसको प्रत्यक्ष असर खेलाडीमा परेको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मान्यता प्राप्त संघको विवाद चल्दा चन्चला छनोट भएर पनि नखेली फर्कनुपरेको थियो । त्यसबेला अन्तिम समयमा उनको स्थानमा अर्को खेलाडीले खेलेकी थिइन् । सागको स्वर्ण जित्न नसकेको पीडा भुलाउन उनले त्यहि क्षणको सहारा लिइन् । पीडा भुलाउनका लागि उनले आफ्नै भोगाइलाई सहारा बनाइन् ।

चन्चला र गंगा अधिकारी छनोट हुँदै अन्य खेलाडीका साथ कोरिया पुगेका थिए । तर एनओसीले गंगाको स्थानमा अनुपमा मगर र चन्चलाको विधामा विमला तामाङलाई कोरिया लग्यो । कोरिया पुगेपछि आयोजकले दिने एक्रेडीटेसन कार्ड अर्कैलाई दिएपछि चन्चला यसै स्वेदश फर्किइन् ।

‘सागभन्दा अघि २०१४ को एसियन गेम्समा नेपालबाट छनोट भएर गएपनि त्यहाँ गएर खेल्न पाइनँ । आफ्नो ठाउँमा अरुले खेले । त्यतिबेला पनि अब खेल्न छोड्छु भन्ने सोच आएको थियो’, उनले भनिन्, ‘तर श्रीमान, गुरु, दाइ, साथीभाई सबैले यो एउटा खेल मात्रै होइन । फेरि आउँछ भनेर सम्झाएपछि पुन खेल्ने निर्णय लिएँ ।’

एक मनले त चन्चालाले नखेल्ने नै निर्णय लिएकी थिइन् । तर कराते नशा बनिसकेको थियो । जब उनले रिङ र म्याटमा गि (कराते खेलाडीले खेल्दा लगाउने पोशाक) लगाएको देख्थिन्, त्यसपछि मनले नखेली बस्न मान्दैन थियो ।

चन्चला ६ वर्षअघि आमा बनेकी थिइन् । महिलाले बच्चा जन्माएपछि पनि खेल्न सक्छन् भन्ने उनी उदाहरण हुन् । चन्चला उमेरले ३७ वर्ष पुगिसकिन्, तर रिङमा उनको जोश र जाँगर युवा खेलाडीको भन्दा कम छैन । उनीसँग करातेमा होमिएका धेरैले कराते छोडीसके । कराते छोड्न नसक्ने केही रेफ्री त केही प्रशिक्षकका रुपमा खेलकर्म अघि बढाइरहेका छन् । तर तातामीमा पसेपछि उनको प्रदर्शन हेर्दा करातेमा चिरायु चन्चला अहिले नै रोकिने सोचमा छैनन् ।

चन्चलाले करातेको आधारभूत प्रशिक्षण बुबाबाट सिकेकी हुन् । त्यसपछि उनले धुलिखेलमा रहँदा विजय र बनेपामा ओम, सुरेश, गंगाराम महर्जन , हिरा डंगोल, राजेन्द्र कपाली गुरुसँग थप प्रशिक्षण लिँदै आफूलाई निखारिन् । त्यसपछि पुलिसमा आवद्धपछि भएसँगै योगेन्द्र, राजेश, केदार, गणेश, पर्शुराम बस्नेत र मन्डेकाजी श्रेष्ठबाट सिकेकी थिइन् ।

चन्चलाको बाल्यकाल

चन्चलाको जन्म काभ्रेको पाँचखाल तामाघाटमा बुबा झटक र आमा ठूली दनुवारको कोखबाट २०४३ साल कात्तिक ११ गते पहिलो सन्तानको रुपमा भएको थियो । उनका तीन बहिनी र एक भाई छन् । गाउँघरमा अझैपनि खेलेर के हुन्छ भन्ने मान्यता भएको अवस्थामा ३० वर्षअघि गाउँ समाजबाट अघि बढ्दै चन्चलाले खेललाई आफ्नो करिअर बनाउने निर्णय लिइन् ।

ग्रामिण भेगमा छोरी मान्छे घरको काममा मात्रै सिमित हुनुपर्छ भन्ने मान्यता थियो । अर्काको घर जाने मान्छे खेल्नु हुँदैन भन्थे । त्यो मानसिकता भएको समाजबाट उनको छर छिमेक पनि अछुतो थिएन । गाउँलेको कुरा सुनेर आमाले गाली मात्र होइन कहिले काहिँ हात नै उठाएको सम्झना छ । तर बुवा काका कराते खेल्ने भएकाले चन्चलामा पनि सानो उमेरदेखि नै करातेप्रति आकर्षण बढ्यो ।

बुवाको प्रेरणाले नै करातेमा लागेको चन्चला बताउँछिन् । गाउँमा ६ महिना मात्र प्रशिक्षण गर्न मिल्थ्यो । वर्षायाममा खेल्ने सम्भावना थिएन । सामान्य प्रशिक्षणमा पनि उनी विस्तारै राम्रो खेल्न थालिन् । २०६५ मा काठमाडौंमा भएकको पाँचौं राष्ट्रिय प्रतियोगितादेखि उनले राष्ट्रिय प्रतियोगितामा भाग लिन सुरु गरिन् । प्रभावशाली खेलाडी भएकाले उनलाई पुलिसले त्यसै वर्ष क्लबमा आवद्ध गरायो ।

तातामी हुँदै जीवनमा श्रीमानको साथ

चन्चलाका श्रीमान् नारायणकाजी राई करातेका पूर्व खेलाडी र वर्तमान समयका रेफ्री हुन् । खेलकै क्रममा चन्चलाको नारायणसँग प्रेम बस्यो । करातेको तातामीले जोडेको सम्बन्ध विवाहमा परिणत भयो । श्रीमान् पनि करातेकै खेलाडी भएकाले उनलाई विवाहपछि पनि खेलमै लाग्न थप सहज भयो । श्रीमानको साथ र हौसलाले उनी लगातार खेल्दै आएकी छिन् ।

‘श्रीमान पनि करातेमा भएकाले सहज हुने रहेछ । उहाँले बुझ्ने भएकाले अहिलेसम्म निस्फिक्री खेल्न पाएकी छु । सन्तान भएपछि नखेल भनेको भए सायद मैले त्यसमा फरक मत राख्ने थिइनँ । तर वहाँले सबै काममा सहयोग गर्नुहुन्छ । श्रीमानको साथले नै अहिलेसम्म फिट छु’, उनले सुनाइन् ।

मातृत्वपछिको खेल करिअर

छोरा निशान्त कात्तिकमाा ७ वर्ष पूरा भए । नेपालमा मात्रै होईन विश्व खेलकुदमै सन्तान जन्माएपछि महिला खेलाडीको शरीरले पुरानै अवस्थामा साथ दिदैन भन्ने सोच छ । त्यसैले पनि महिला खेलाडी निकै ढिलो विवाह गर्दछन् । सक्रिय खेलाडी जीवनमा विवाह गर्ने कमै खेलाडी हुन्छन् । तर चन्चला आमा बनेर खेल्न सकिन्छ भन्ने राम्रो उदाहरण हुन् ।

कराते यसैपनि शारीरिक रुपमा नियमित फिटनेस कायम राख्नुपर्ने खेल हो । अझ कातामा हरेक समय आफ्नो शरीरलाई एकै स्तरमा राख्नुपर्छ । सामान्य घरपरिवारकी उनले शल्यक्रियापछि आफ्नो घरपरिवारसँगै करातेलाई निरन्तर अघि बढाउन देखाएको साहस र क्षमताको कदर गर्नैपर्छ । उनको भोगाइ र वर्तमान अवस्था हेर्दा साँच्चै उनको जन्म त कराते खेल्न नै भएको रहेछ भन्दा फरक नपर्ला ।

सामान्यतया सुत्केरी अवस्थाबाट पूर्ण रुपमा प्रदर्शनका लागि तयार हुन झन्डै एक वर्ष लाग्छ । अझ शल्यक्रिया गरेको अवस्थामा थप सजग हुनुपर्छ । तर चन्चला आमा बनेको साढे तीन महिनामै अभ्यासमा फर्केकी थिइन् । आमा बनेको १० महिनापछि उनले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक नै जितिन् ।

शल्यक्रियाअघि पनि खेलकै पिर

सुत्केरी हुँदा उनको टिचिङ अस्पतालमा शल्यक्रिया गर्नुपर्यो । उक्त निर्णय लिँदा चिकित्सकसमक्ष चन्चलाको पहिलो प्रश्न नै शल्यक्रियापछि खेल्न सकिन्छ कि सकिँदैन भन्ने थियो । ‘म शल्यक्रिया गर्न लागेको ठाँउबाट बाहिर निस्केर एकछिन रोएँ । मैले श्रीमानलाई शल्यक्रिया गरेपछि खेल्न सक्दिन कि भनेर सोधेको थिएँ । उहाँले चिकित्सकसँग कुरा गर्दिनु भयो । मैले आफैं पनि कुरा गरें । ६–७ महिना विश्रामपछि खेल्न सक्ने चिकित्सकले बताउनुभयो। त्यसपछि मलाई विश्वास लाग्यो । तर मैले साढे तीन महिनामै अभ्यास सुरु गरें । त्यो मेरो विश्वास नै हो’, चन्चलाले भनिन् ।

बच्चा छाडेर अभ्यासमा

चन्चलाले साढे तीन महिनामै बच्चा छाडेर अभ्यास गर्न थालिन् । जुन समय बच्चाले आफ्नो आमा भन्दा अरुसँग बस्न नै मान्दैन, अरुलाई चिन्न पनि कठिन हुन्छ, त्यसबेला चन्चला प्रशिक्षण गरिरहेकी हुन्थिन् । यसै वर्षको सुरुवातबाट मात्रै उनले बच्चा आफूसँगै राख्न थालेकी छन् । त्यसअघि उनले कहिले माइती त कहिले माइली बहिनीकोमा छाड्थिन् । धेरै समय छोरा मामाघरमै हुर्किए । बच्चा १६ महिनाको हुँदा एसियन गेम्सको प्रशिक्षणका लागि पोखरा जानु पर्यो । त्यसपछि उनले छोरालाई माइतीमा छाडिन्।

दुधे बालकबाट उनी झन्डै पाँच महिना टाढा भइन् । १८ औं एसियन गेम्सको लागि उने दुधे बालक आफूदेखि टाढा गरेकी थिइन् । सुरुको दिन माइतमा बच्चाले रोएर मान्दै मानेन् । उनका श्रीमानले लगेर बच्चा छोडेका थिए । पहिलो दिन बच्चा धेरै रोयो । कसैले फकाउन सकेनन् । माइतीलाई पनि लागेको थियो अझै बच्चा छाड्ने समय भएको छैन । एक दुई दिन बाटो हेरेर फर्काइदिनु पर्छ । तर दोस्रो दिनबाट सबैलाई आश्चर्य पार्दै बच्चाले आमा खोजेर रुन छाड्यो । त्यसैले पनि उनलाई कराते खेल्न सहज भयो ।

खेल हुने दिन विहान उनलाई छोराले फोन गरेर शुभकामना दिने गरेको सुनाउँछिन् । त्यो शुभकामनाले गर्दा उनमा प्रतिस्पर्धाको लागि झनै जोश र जागँर आउँछ । ‘एक पटक छनोट खेलमा मैले उसलाई लिएर आएको छु । स्कुल हुँदा खेल्ने ठाउँमा लग्न मिल्दैन । खेल हुने दिन विहान फोन गरेर शुभकामना दिन्छ । छोराको बोली सुन्दा नै जित्नै पर्छ भन्ने लाग्छ । छोराले मलाई भनेको छ उसको लागि भएपनि जित्नुपर्छ भन्ने लाग्छ । त्यसैले गर्दा खेलमा झन् उर्जा र जोश आउँछ’, उनले भनिन् ।

चन्चला खेलको दौरानमा जति पीडा सामना गरे पनि कराते खेलेकोमा कुनै पछुतो नलागेको बताउँछिन् । ‘पीडाका क्षण त छन् । तर मलाई कहिल्यै पछुतो लागेन । खेलले गर्दा आज मलाई चन्चला दनुवार भनेर पहिचान दिएको छ । ११ औं साफ, एसियन गेम्समा फर्किएर आउँदा धेरै पीडा भयो । त्यो समय सामना गर्न निकै कठिन भयो, तर पछुतो कहिल्यै लागेन’, उनले भनिन् ।

चन्चलाको अबको लक्ष्य एसियाली खेलकुदमा पदक जित्नु हो । त्यसको लागि छनोट खेलका दौरान हुने प्रदर्शनमा भर पर्ने उनी बताउँछिन् । समग्र खेलकुदकै लागि चन्चला उदाहरणीय खेलाडी र आमा हुन् । पटक पटक हण्डरको सामना गरेपनि उनको नियमित प्रशिक्षणको मिहिनेत र खेलप्रतिको लगाव एक सच्चा खेल साधकको प्रतिक हो ।

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 20, 2024

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]

Success

Thank you for your time.