default_image

4 years ago

November 25, 2019

गुमनाम फुपूल्हामु

सुबास हुमागाईं, काठमाडौं योजना अनुसार नै सबै चलेको हुन्थ्यो भने फुपूल्हामु खत्री अहिले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन जापानबाट नेपाल फर्किंदै हुन्थिन् । तर घरेलु मैदानमा दक्षिण एसियाको खेल महोत्सव आयोजना हुने मिति नजिकिंदै गर्दा नेपाली जुडोले पाएको सर्वकालीन उत्कृष्ट खेलाडी मध्यकी फुपूल्हामु गुमनाम छिन् । र त्यसको कारण हो उनीमाथि लागेको प्रतिबन्ध […]

59 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

योजना अनुसार नै सबै चलेको हुन्थ्यो भने फुपूल्हामु खत्री अहिले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन जापानबाट नेपाल फर्किंदै हुन्थिन् । तर घरेलु मैदानमा दक्षिण एसियाको खेल महोत्सव आयोजना हुने मिति नजिकिंदै गर्दा नेपाली जुडोले पाएको सर्वकालीन उत्कृष्ट खेलाडी मध्यकी फुपूल्हामु गुमनाम छिन् । र त्यसको कारण हो उनीमाथि लागेको प्रतिबन्ध !

ओलम्पिक सोलिडारिटी कोर्ष अन्तर्गत जापानमा दुई वर्षका लागि अध्ययन र प्रशिक्षण छात्रवृत्ति पाएकी उनी त्यहाँबाट विना जानकारी स्वदेश फर्किइन् । नतिजा जुडो संघ र नेपाल ओलम्पिक कमिटीले उनलाई २०२० ओलम्पिकसम्मका लागि प्रतिबन्ध गर्‍यो । ओलम्पिक कोर्षअन्तर्गत विदेशी छात्रवृत्तिमा रहेको खेलाडी विना जानकारी यसरि फर्कंदा संघ र एनओसीमाथि उठेको प्रश्न र अन्य खेलाडीको सहभागिता पनि खतरामा परेपछि उनलाई प्रतिबन्ध लगाइएको थियो ।

भारतमा सन् २०१६ मा भएको १२ औं सागमा नेपालले जितेको तीन स्वर्णपदक मध्य एक फुपूल्हामुले नै जितेकी थिइन् । उनीसँगै उसुकी निमा घर्तीमगर र पुरुष फुटबल टोलीले नेपालको लाज बचाएका थिए । फुपूले त्यसबेला ६३ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । राउन्ड रोबिन लिगमा भएको उक्त स्पर्धामा उनले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको प्रतिद्वन्द्वीलाई पराजित गरेकी थिइन् ।

सागमा स्वर्ण जितेको केहि महिनापछि नै फुपू ब्राजिलमा भएको रियो ओलम्पिकमा सहभागी भइन् । त्यहाँ उनले पूरै ४ मिनेट समय खेलेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले पूरै समय टिकेर खेलेको यो नै पहिलो पटक थियो । यसबाहेक उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निरन्तर सफलता हात पारिन् । घरेलु प्रतियोगितामा उनलाई बिरलै कसैले चुनौती दिए । उनले केहि सेकेन्डमा नै विपक्षीलाई ‘इप्पोन’ प्रहार गर्दै लगातार स्वर्ण जित्दै आएकी थिइन् ।

गतवर्ष चैत्रमा पश्चिम नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदका दौरान फुपू नेपाल आएकी थिइन् । जापानको ताकाओका विश्वविद्यालयमा प्रशिक्षणमा रहेकी उनले विना कुनै औपचारिक जानकारी नेपाल आएपछि ओलम्पिक र संघले संयुक्त रुपमा उनलाई २०२० ओलम्पिकसम्म प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

फुपूका अनुसार त्यहाँ रहेर प्रशिक्षण गर्न नसकेपछि उनी स्वदेश फर्किएकी थिइन् । उनले त्यहाँ रहँदाको कठिनाई संघ र ओलम्पिक कमिटिलाई जानकारी दिएपनि दुवै तर्फबाट उचित समन्वय नहुँदा फुपू आफैं स्वदेश फर्कन बाध्य भएको बताएकी थिइन् । फुपू नेपाल फर्किएलगत्तै जुडो संघले उनलाई स्पष्टिकरण माग गर्‍यो। ओलम्पिक कमिटिको आदेशमा जुडो संघले स्पष्टिकरण माग गर्ने आवश्यक प्रक्रिया अगाडी बढाएको थियो । तर फुपूको जवाफ र जापानबाट पनि उनीबारे सन्तोषजनक रिपोर्ट नआएपछि उनलाई प्रतिबन्ध लगाइएको थियो ।

जापानको विश्वविद्यालयले उनीबारे ४३ पन्नाको रिपोर्ट र प्रशिक्षकले फुपूबारे बेग्लै १३ पन्ना रिपोर्ट संघलाई पठाएको संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए । संघले उनलाई कारवाही गरेपछि फुपू त्यसयता कुनै सम्पर्कमा नरहेको बताए । केहि खेलाडीले जानकारी दिएअनुसार उनी हाल विदेशमा रहेको अध्यक्ष बज्राचार्यले बताए । बज्राचार्यका अनुसार फुपू यसरी ‘गुमनाम’ हुँदा उनी आफैंलाई त असर परेको छँदै छ, जुडो खेल र समग्र नेपाली खेलकुदलाई पनि यसले घाटा पुर्‍याएको छ ।

‘सागमा स्वर्ण पदक जितेको र ओलम्पिकमा समेत खेलिसकेको खेलाडी नहुनु दुखलाग्दो कुरा हो । उनले जापान छोड्ने निर्णय लिनु निकै महँगो सावित भयो । खेलकुदमा खेलाडीका रुपमा मात्र नभएर एक आइकन नै बनेकी उनले यसो गर्छिन भन्ने लागेको थिएन । हामीसँग राय सल्लाह नै नगरी यस्तो निर्णय लिइन्, हामीले जवाफ दिने ठाउँ पनि रहेन,’ बज्राचार्यले भने ।

फुपूमाथि जुडो संघ र राज्यले गरेको लगानी खेर गएको उनको बुझाइ छ । ‘ उनीमाथि देशलेनिकै लगानी गरेको छ । खेलाडीका रुपमा पनि उनको भविष्य उज्ज्वल थियो । उमेरको हिसाबले अझै उत्कृष्ट खेल्ने समय बाँकी रहँदा यसरी छाड्नु ठिक होइन । विदेशमा रहँदा उच्च स्तरको प्रशिक्षण हुन्छ र त्यसै अनुसारको अपेक्षा पनि । प्रशिक्षकले गाली गरे भन्दैमा विना जानकारी स्वदेश फर्कनु राम्रो कदम थिएन,’ अध्यक्षले थपे ।

आठौं राष्ट्रिय खेलकुदअघि नेपाल फर्केकी फुपू त्यसयता संघको सम्पर्कमा छैनन् । फुपूको स्वर्ण पदकले जुडोमा नयाँ आयाम आएको अध्यक्ष आफैं पनि स्वीकार्छन् । तर अब यसलाई बिर्सेर अगाडी बढ्नुको विकल्प नरहेको उनी मान्छन् । अब आउने दिनमा नयाँ खेलाडीको नतिजाले संघमा थप उर्जा थपिएको उनले बताए । ‘ १२ औं सागपछि जुडोको चार्म बढेको हो । अहिले नयाँ खेलाडीबाट पनि हामीले निकै आशा राखेका छौं । मनिता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ, सोनिया भट्ट, पुनम श्रेष्ठ, उमेश मगर, मोहन बम, संजित डंगोललगायत खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा पनि आफूलाई प्रमाणित गरेका छन् । अब हामीले अगाडी बढ्नुको विकल्प छैन,’ उनले भने ।

घरेलु मैदानमा हुने सागका लागि संघले उत्कृष्ट तयारी गरेको अध्यक्ष बज्राचार्यको दावी छ । ‘ हामीले उत्कृष्ट तयारी गरेका छौं । खेल हुनुअघि जापान र मंगोलियाको वैदेशिक प्रशिक्षणले थप हौसला मिलेको छ । टोली यही बुुधबार र बिहीबार स्वदेश फर्कनेछन् । हामीले पछिल्लो पटक भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएका छौं । हाम्रो मुख्य प्रतिद्वन्द्वी भारत नै हो । पाकिस्तान पनि राम्रो छ । गतवर्षको दक्षिण एसियाली च्याम्पियनसिपले हामीलाई केहि सहयोग पक्कै पुगेको छ,’ उनले टुंग्याए ।

फुपूको जुडोबाट अकस्मात प्रस्थानले उनी आफैंलाई निकै नोक्सान पुगेको छ । उनीसँगै जुडो खेलले पनि एक दुर्लभ प्रतिभा गुमाएको छ । युवा अवस्थामै अन्तर्राष्ट्रिय पदक जित्दै ठूलो सम्भावना देखाएकी फुपू एकाएक गुमनाम हुँदा नेपाली खेलक्षेत्रले नै यसको मूल्य चुकाएको छ । घरेलु मैदानमा स्वर्ण जित्ने फुपूको सपना त टुट्यो, आगामी दिन उनको खेलमा फर्कने सम्भावना पनि अन्यौलमा छ ।

हाल विदेशमा रहेकी उनी हाम्रो सम्पर्कमा पनि आइनन् । २०२० सम्म प्रतिबन्ध भोगेकी फुपू अहिले भर्खर २३ वर्षकी भइन् । जुडोको अन्तर्राष्ट्रिय स्तर हेर्ने हो भने २५ देखि ३० वर्ष खेलाडीको लागि उच्च विन्दुमा प्रतिस्पर्धा गर्ने उत्तम उमेर मानिन्छ । उनीमाथि गरिएको लगानी, उनले देखाएको सम्भावना र क्षमता हेर्दा उनको पुनरागमनलाई नकार्न सकिन्न । अब अपेक्षा छ त केवल गुमनाम फुपूको सानदार पुनरागमनको ।

यो पनि : फुपूलाई सन् २०२० सम्म प्रतिबन्ध !

Success

Thank you for your time.