default_image

1 year ago

January 17, 2024

घाइते रेश्माको शल्यक्रिया र पुनरागमनको प्रतीक्षा

3889 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– डेढ दशक भन्दा लामो खेल जीवनमा यस्तो कठिन मोड उनले कहिल्यै सामना गर्नुपरेको थिएन । अधिकांश समय भलिबलकै वरपर रहने गरेकी एपिएफ महिला टोलीकी सदस्य रेश्मा भण्डारीको अहिले दैनिकी भने फेरिएको छ । टोली पोखरामा जारी चौथो टाइगर कपमा उपाधि रक्षाको प्रयासमा जुटिरहँदा उनी भने पछिल्लो १५ दिन देखि अस्पतालमा छिन् ।

बायाँ घुँडामा गम्भिर चोट लागेपछि त्यसको शल्यक्रिया गर्नुपर्ने भएको छ । राम्ररी घुँडा खुम्चाउन मिल्ने भएपछि शल्यक्रिया हुने बताइएकोले त्यसका लागि दैनिक फिजियो गर्दै रेश्मा प्रतीक्षामा छिन् । शल्यक्रिया सकेर छिट्टै घर फर्कने आशामा छिन् उनी ।

भलिबलमा एक पछि अर्को प्रतियोगिता हुँदैछन् । चार वर्षपछि ढोरपाटन लिग अर्को साताबाट सुरु हुँदैछ । त्यसपछि पनि अन्य प्रतियोगिताको तयारी चलिरहेको छ । रेश्मा भने अस्पतालमा बसेर भलिबलको प्रत्यक्ष प्रसारण हेर्न बाध्य छिन् ।

‘खेल्न सुरु गरेदेखि गत वर्ष अस्ट्रेलिया जाँदा बाहेक भलिबलबाट कहिल्यै टाढा भइन’, उनले भनिन्, ‘बाहिर बस्न यति गाह्रो हुने रहेछ भन्ने अहिले आएर महसुस भयो । साथीहरु खेलिरहँदा आफ्नो अस्पताल बस्न गाह्रो हुने रहेछ । मान्छे अस्पतालमा मन भलिबलमा जस्तो भएको छ ।’

अर्को साता शल्यक्रिया हुन्छ भनेकोले केहि राहत पनि महसुस गरेकी छिन् । आशावादी हुँदै भन्छिन, ‘त्यसपछि त बिस्तारै ठिक हुन्छ होला । हुन त डक्टरले पूर्ण रुपमा ठिक भएर कोर्टमा फर्कन एक वर्ष जति लाग्न सक्छ भन्नुभएको छ । फेरि पुरानै अवस्थामा फर्कने आशा भने छ । ’

हेटौंडामा गत महिना भएको केशवलाल स्मृती भलिबलका दौरान चोट लागेयता काठमाडौं फर्केर उनी घर गएकी छैनन् । जहाजबाट काठमाडौं फर्केर त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा बलम्बुस्थित एपिएफको अस्पताल पुगेकी उनी त्यहिं छिन् ।
सामान्य चोट हो भनेर बुवालाई ढाँटेकी उनले अस्पताल पुगेर डाक्टर भेटेर घर फर्कने बताएकी थिइन् । तर, उनले भनेजस्तो भएन ।

अस्पतालमै बसेर दैनिक फिजियो गर्ने अनि शल्यक्रिया गरेर फर्कने भनेपछि बुबाले छोरीले झुट बोलेको थाहा पाए । चोट लागेको दिन आमा भने कालिन्चोक गएकी थिइन । सामान्य चोट लागेको छ भन्ने सोचेर बुवालाई फोन गरेकी रेश्माले प्रतिप्रश्न पछि आफूले भन्न लागेको कुरै नसुनाइ फोन राखिन् ।

‘साँझ बुवालाई फोन गरेको ,भोली त तिमीहरुको पुलिससँग गेम होइन भन्नुभयो,’ उनले त्यो दिनको सम्झाना गर्दै भनिन्, ‘उहाँलाई खेलको चासो थियो । अहिले नभनौं जस्तो ठाने । हो भनेर फोन राखे । चोटका कारण दुखाई थियो । भोलीपल्ट विहान फेरि बुवालाई गरेर सामान्य चोट लागेको छ । म काठमाडौं फर्कन लागेको भनेपछि बल्ल उहाँलाई थाहा भयो । एयरपोर्ट आउँछु भन्नुभएको थियो एकपटक अस्पताल पुगेर आउने हो आउनु पर्दैन भने । पछि अस्पताल आएपछि यस्तो हुँदा नि सामान्य भन्छे भन्नुभयो ।’

पुस १४ गते पूर्व क्लब चन्द्रागिरी नगरपालिका न्यु डायमण्डविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । पाँचौं सेटमा १५–१४ एपिएफ अगाडि रहेको खेलमा उनलाई चोट लागेको थियो । ‘बल उठिसकेको थियो । सरस्वती अलि टाढा थिइ । म हान्छु भनेर उफ्रिए । त्यति बेला मलाई बायाँ खुट्टा बाङ्गेको अनुभव भयो । सट हानेर ल्यान्ड गर्दा सट्किसकेछ । खुट्टा टेक्नै सकिन, ‘उनले भनिन्, ‘खेलका दौरान केहि अप्ठेरो भएको थियो । समान्य होला भनेर खासै याद पनि गरिएन ।’

त्यसपछिको क्षण स्मरण गर्दै उनले भनिन्, ‘सबै जना खुसी साट्ने क्रममा म लडेको चालै पाएन छन् । पछि मलाई मन्च लगियो । धन्न त्यो सटमा हामीले अंक पाएर जितेका रहेछौं । त्यस्तो तीव्र प्रतिस्पर्धात्मक खेल जितेका थियौं । फाइनलमा न्यु डायमण्डलाई नै हराएर एपिएफ च्याम्पियन बनेको थियो ।’

काठमाडौं फर्केर एमआरआई गरेपछि थाहा भयो उनको घुँडाको ५० प्रतिशत एसियल र २ वटा मिनिस्कस टियर भएको रहेछ ।
भलिबलकै कारण सफलता र धेरैको माया पाएको मान्ने रेश्मा विस्तारै विश्राम लिने सोचमा पनि थिइन् । सुखद विदाईको इच्छा रहेछ । अब उनको योजना अर्को एक वर्षका लागि सरेको छ ।

‘पहिला जस्तै कोर्टमा फर्केर खेल्ने र विश्राम लिने मन छ ,’ उनले सुनाइन्, ‘२०६५ को पाँचौं र छैटौं राष्ट्रिय खेलकुद मध्यमान्चलबाट खेले । सातौं, आठौं र गत वर्ष नवौं एपिएफबाट खेले । अब १० औं खेलेर अनि विस्तारै भलिबल छाड्ने सोचिरहेको छु । हेरौं रिकभरी कसरी हुन्छ । तर एक पटक कोर्टमा फर्केर छाड्ने इच्छा छ ।’

सन् २०१३ देखि २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म लगातार राष्ट्रिय टोलीकी सदस्य रहेकी रेश्मा भलिबल निकै मिस गरिरहेकी छिन् । उनले थपिन्, ‘टिमसँगै हुँदा सामान्य लाग्थ्यो । अहिले सँगै नहुँदा भलिबल र टिम झन् बढी मिस हुने रहेछ ।’

१२ औं सागमा महिला टोलीले कास्य पदक जित्दा र १३ औं सागमा इतिहासिक रजत पदक जित्दा उनी टोलीको सदस्य थिइन् । १३ औं साग अघि सेन्ट्रल जोनको उपाधि जित्दा पनि उनी राष्ट्रिय टोलीमै थिइन् ।

हेटौंडाको प्रतियोगिताको प्रत्यक्ष प्रसारण नभएका कारण उनको चोटका बारेमा धेरैलाई थाहा पनि छैन । भलिबल प्रेमीले टाइगर कपमा उनलाई नदेख्दा चासो राख्ने गरेका छन् । धेरैले म्यासेज पनि गर्छन् । अहिले उनलाई लाग्छ, ‘भलिबलबाट कमाएकै यहि रहेछ । सबैले माया गर्नुहुन्छ चासो गर्नुहुन्छ । त्यसैले सबै परिस्थितिले साथ दियो भने १० औं राष्ट्रिय खेलकुदमा फर्कनेछु ।’

१० औं राष्ट्रिय खेलकुद कर्णालीमा २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि नै घोषणा भइसकेको छ । सुर्खेतमा हालै सम्पन्न राष्ट्रिय पुरुष भलिबलको प्रत्यक्ष प्रसारण हरेकी उनले अन्तिममा प्रश्न गरिन्, ‘१० औं त्यहि हुन्छ है । बाफ रे कत्ति दर्शक ?’

July 10, 2025

करिब ११ करोडमा खेलकुदका दुईवटा संरचना निर्माण

ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि […]

July 9, 2025

टेबल टेनिसको लेभल वान कोचिङ कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधवार सुरु भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । कोर्समा सातै प्रदेशको सहभागिता […]

July 9, 2025

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तेस्रो थाउलो वल्ड कपका कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहिरत सम्मान गरिएको छ। जापानमा गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म […]

Success

Thank you for your time.