काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रहरी खेलकुद समितिले प्रदेश ५ मा बैशाखमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधामा स्वर्ण, रजत र कास्यपदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार नगदसहित सम्मानित गरेका छन् ।

विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र कास्य पदक विजेतालाई २ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै विभिन्न खेलहरुमा राष्ट्रिय कीर्तिमान राख्न सफल १५ जना खेलाडीहरुलाई जनही थप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक तथा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष सर्वेन्द्र खनालले प्रतियोगिताका विभिन्न विधामा पदक जित्न सफल खेलाडीहरुलाई सम्मानित गरे ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ हजार ६ सय ८८ पदको लागि नेपाल प्रहरीबाट २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए । २०७५ चैत्र २७ गतेदेखि २०७६ वैशाख ११ गतेसम्म ५ नम्बर प्रदेशका विभिन्न जिल्ला तथा ललितपुर र पोखरामा सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीहरुले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो ।
पदक विजेता खेलाडीहरुलाई सम्मानित गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्रहरी संगठनको प्रतिनिधित्व गर्दै विभिन्न पदक जितेर राष्ट्रिय सम्मान बढाउन संगठनमा आवद्ध खेलाडीहरुको योगदान अतुलनीय रहेको बताए ।
उनले खेलकुदको क्षेत्रमा विकासमा चाहिने पूर्वाधार एवम् साधन श्रोतयुक्त बनाई खेल जगतमा भविष्य सुनिश्चित गरी खेलाडीहरुको व्यावसायिक जीवन र सामाजिक प्रतिष्ठा बढाउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको थपे ।
महानिरीक्षक खनालले विगतमा केही राम्रा खेलाडी पलायन समेत भएकोमा चन्ता व्यक्त गर्दै अबका दिनमा त्यो अवस्था आउन नदिने समेत प्रतिबद्धता व्यक्त गरे । यस्तै विज्ञान र प्रविधिमा बिशेष योगदान पु¥याएका प्रहरी हवल्दार पूर्ण बहादुर आलेलाई प्रशंसापत्रले सम्मानित गरेका छन् ।