नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् ।

एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा उनी भावुक बने । उनले नेपाली खेलकुदमै अतुलनीय काम गरेर देखाएका छन् । ‘म उद्योगी व्यापारी मान्छे, व्यापारमा नाफाघाटाको कुरा हुन्छ ’ उनले भने– ‘तर खेलकुदमा मैले कहिल्यै नाफाघाटा हेरिन । गीताको श्लोक ‘कर्म गर, फलको आश नगर’ सदैव मेरो मुल मन्त्र रह्यो ।’
नेपालगन्जमा २०५५ सालमा भएको चौथो बृहत राष्ट्रिय खेलकुद सफलताको एकल श्रेय उनलाई नै जान्छ । उनले सम्पूर्ण खेलाडी तथा अफिसियलको आवास तथा भोजनको व्यवस्थापन आफ्नै खर्चमा गर्ने भएपछि राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा नेपालगन्जलाई दिएको थियो ।
टण्डन राइसमिल परिसरमा लखनउबाट टेन्ट र कालिगढ ल्याएर त्यतिबेला ‘ओलम्पिक भिलेज’को झझल्को दिनेगरी सामुहिक भोजनको व्यवस्था मिलाइएको थियो । नेपाली खेलकुदको फोहोरी राजनीति र चलखेलका कारण केही समय सुस्ताएका टण्डनलाई फेरि भारोत्तोलनको नेतृत्वमा ल्याइयो ।
नेपालगन्जमा पहिलोपटक दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप पनि गराएर देखाउँदा नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डमा ‘स्पेशल अवार्ड’ बाट सम्मानित गरेको थियो । त्यतिबेला पनि उनको लिखित मन्तव्यले सबैको मन छोएको थियो ।

नेपाल भारोत्तोलन संघको नेतृत्व सम्हालिरहँदा युथ एशियन च्याम्पियनसीप पनि गत बर्ष काठमाडौंमा भयो । यी बाहेक यिनले गरेका तमाम कामका फेहरिस्त लामै छन् । नेपालगन्जीया खेलाडीमाझ उनी लोकप्रिय छन्, सम्मानित छन् । त्यसैले त उनी खेलाडीका लागि एक कुशल अभिभावक हुन् । उनलाई नेपाली खेलकुदका भिष्म पितामह पनि भन्ने गरिन्छ ।
गत बर्ष विश्व खेलकुद पत्रकार दिवसका दिन स्थापना भएको जुमा स्पोटर््स क्लबले आफ्नो वार्षिक साधारण सभाका अवसरमा बृहत राष्ट्रिय खेलकुदको चौथो र आठौं संस्करणका स्थानीय नेतृत्वकर्तालाई सम्मान गरेको हो ।
चौथो संस्करण सफलताको श्रेय टण्डनलाई दिएजस्तै २० बर्षपछि गत वैशाखमा राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्जमा सफलतापुर्वक सम्पन्न गर्न आयोजकले मध्यपश्चिम क्षेत्रीय खेलकुद अध्यक्ष भिम ओलीलाई श्रेय दिन चाह्यो । ओलीको खेलकुदप्रतिको लगाव, एकाग्रता र निष्ठाका कारण इतिहासकै अतुलनीय पुर्वाधार निर्माण भएको कार्यक्रममा चर्चा गरियो ।