default_image

4 years ago

December 28, 2019

सागको उस्तै पदक फरक कसरी ?

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]

60 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् ।

स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि केहि सञ्चारमाध्यमले आयशासँग प्रतिक्रिया लिँदा उनले खुसी हुँदै भनिन्,‘ सरकारको पुरस्कार घोषणाले निकै खुसी लागेको छ ।’ उनको खुसी जायज थियो । प्रधानमन्त्री ओलीले सागका व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँको घोषणा गरेका थिए । यो पुरस्कार अघिल्लो संस्करणको सागको भन्दा झन्डै दोब्बर नै हो । १२ औं सागको व्यक्तिगत स्पर्धाका स्वर्ण विजेताले ५ लाख रुपैयाँ पाएका थिए ।

तर, घर पुगेर सञ्चारमाध्यममा आएका फरक फरक समाचारले आयशाको ध्यान खिच्यो । उनी जस्तै व्यक्तिगत स्पर्धाका पदक विजेताको अनुहार उज्यालो थियो । तर, टिम इभेन्ट्सका खेलाडी भने प्याकेजबाट खुसी हुन सकेनन् । प्रधानमन्त्रीको सम्बोधनमा टिम इभेन्ट्का स्वर्ण पदक विजेता टोलीका सदस्यलाई ५ लाख रुपैयाँ दिने घोषणा भएको थियो । रजत र कास्य पदक जित्ने टोलीको खेलाडीका लागि सम्बोधन नै भएन ।

त्यसमा प्रधानमन्त्री ओलीको भनाई थियो, ‘साना तिना कुरा पछि मिलाउँदै गरौंला ।’ आफुहरुका विषयमा सम्बोधन पनि नहुँदा रजत र कास्य पदक जित्ने टोलीका खेलाडीको मन अमिलो त हुने नै भयो । टिम इभेन्ट्समा स्वर्ण जित्ने टोलीले ५ लाख पाउने भनेपछि रजत र कास्यले स्वतः क्रमश त्यो भन्दा कम नै पाउनेछन् ।

स्वर्ण पदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ र कास्य पदक विजेता बास्केटबल टोलीका कप्तान सदिश प्रधानले प्रधानमन्त्रीको सम्बोधन पछि प्रधानमन्त्री निवासमा नै असन्तुष्टी जनाए । सुजलको भनाई थियो, ‘सोचे जस्तो प्याकेज आएन ।’ १२ औं सागमा पनि नेपालले फुटबलमा स्वर्ण पदक जितेको थियो । टिम इभेन्ट्सको स्वर्ण विजेताले त्यति बेला ३ लाख रुपैयाँ पाउने व्यवस्था थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले पुरस्कार राशीमा थप गर्दै फुटबलका प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । फुटबल टोलीका खेलाडीले पछि त्यहि अनुरुप पुरस्कार पाए ।

अघिल्लो पटक नै ५ लाख रुपैयाँ पाएकाले सुजल र उनको टोलीले यसपटक त्यो भन्दा बढी आशा गरेको भएरै होला उनीहरु प्रधानमन्त्रीको सम्बोधनमा खुसी हुन सकेनन् । व्यक्तिगततर्फ रजत जित्नेले भन्दा टिममा स्वर्ण जित्नेका लागि पुरस्कार रकम कम भएपछि खेलाडीले चित्त दुःखाउनु नाजायज थिएन पनि ।

पुरस्कारमा गरिएको भेदभावमा अझै बढी मार्मिक भनाई थियो बास्केबल कप्तान सदिशको । उनले भनेका थिए,‘ इन्डिभिजयुल र टिम इभेन्ट्सले जित्ने उस्तै पदक फरक कसरी ? अझै उनको भनाई मान्ने हो भने टिम इभेन्ट्समा पदक जित्न व्यक्तित स्पर्धामा भन्दा कठिन हुन्छ । व्यक्तिगतमा आफुले राम्रो गर्दा नजिता निस्कन्छ , टिममा सबैले उत्तिकै मेहनत गर्नुपर्छ ।

पहिला त टिममा पर्न र टिममा परेपछि उच्च प्रदर्शन गर्न सजिलो काम होइन । व्यक्ति र समूहले जित्ने उही पदकको पनि महत्व फरक हो भने प्रधानमन्त्री निवासमा खेलाडीका लागि राखिएको खाजामा पनि फरक लाइन राख्न उनको सुझाव थियो । सदिशको टोली त्यतिमा रोकिएन । तत्काल उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसँग किन यस्तो विभेद भन्दै गुनासो गरे ।

सिलवालले संसारभर इन्डिभिजुयल र टिम इभेन्ट्समा पुरस्कार फरक हुने तर्क गरे । उनको भनाईमा खेलाडी सन्तुष्ट हुन सकेनन् । खेलाडी त्यतिमा चुप लागेनन् । उनीहरुले अर्थ लगाउन भने एउटा खेलाडी र टिमले जित्ने उहि पदक फरक हुन्छ कसरी ? सदस्य सचिवसँग चित्त बुझ्दो जवाफ थिएन । उनले ओठे जवाफ फर्काए,‘ तिमिलाई मन छैन भने नलिँदा हुन्छ ।’

सदिशले पछि भने,‘ हामीले आफ्नो गुनासो सदस्य सचिवसँग राख्दा उहाँ उल्टो रिसाउनु भयो । हाम्रो कुरा खै किन उहाँलाई मन परेन ।’ सदिश टिम इभेन्ट्समा पदक जित्ने खेलाडीको एउटा प्रतिनिधि पात्र मात्रै हुन् । टिम इभेन्ट्सका अधिकांश खेलाडी सरकारको पुरस्कारबाट खुसी छैनन् । उनीहरुले विभेद भएको महसुस गरेका छन् ।

टिम इभेन्ट्सका पदक विजेता खेलाडीको प्रक्रिया पछि बल्ल आयशालाई पनि लाग्यो । साच्चै उनीहरुलाई त अन्याय भएको रहेछ । ‘ व्यक्तिगततर्फका पदक विजेताका लागि घोषित पुरस्कार अहिले सम्मकै राम्रो हो । त्यसमा म जस्तै अन्य खेलाडी खुसी हुनु स्वभाविक थियो,’ आयशाले भनिन्,‘ तर जब टिम इभेन्ट्सको खेलाडी साथीहरुको कुरा सुने त्यसपछि लाग्यो । हामी जस्तै उनीहरु पनि खुसीका हकदार हुन् । इन्डिभिजुल वा टिम पदकको उस्तै महत्व हुन्छ । ’

फुटबललगायत टिम इभेन्ट्सका खेलाडीको पुरस्कारमा गुनासो छ भन्दा अर्को एक प्रसंगमा सदस्य सचिव सिलवालले भनेका थिए,‘ फुटबलले एउटा स्वर्ण पदक जितेको हो । २३ वटा होइन । फुटबलले १ करोड १५ लाख रुपैयाँ पुरस्कारमा पाउँछ । त्यसो हो भने व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई अन्याय भयो । उनीले किन १ करोड १५ लाख नपाउने ?’

सदस्य सचिव सिलवालले बारम्बार आफ्नो सार्वजनिक अभिव्यक्तिमा आफु खेलाडीको अविभावक भएको र जुन सुकै समस्या पनि समाधानको लागि तयार भएको बताउँछन् । सुन्दा राम्रो पनि लाग्छ । तर, खेलाडीले आफ्नो कुरा राख्दा उनी किन झोकिन्छन् । किन खेलाडीको भावनाको कदर गर्न सक्दैनन् । खेलाडीको प्रश्नको जवाफ उनी किन दिन चाहदैनन् ? अहिलेको समयमा उनले हप्काएकै भरमा खेलाडीले मान्दिनु पर्ने हो की देशका लागि मैदानमा डटेका खेलाडीले सबैलाई बराबरको व्यवहार भएको महसुस गर्न पाउनुपर्ने उनीहरुको हक होइन ?

राखेपले व्यक्तिगत र समूहगत खेलका लागि दिने पुरस्कारमा पहिला देखि नै फरक गर्दै आएको छ । कुनै एक समयमा गरिएको त्यो प्रावधानमा कसैले प्रश्न गरेनन् भन्नुको अर्थ जे थियो त्यो ठिकै थियो भन्नु सहि हुन सक्दैन । ३५ वर्ष लामो इतिहासमा सबैभन्दा बढी पदक जितेको यहि साग (५१ स्वर्ण, ६० रजत र ९५ कास्य ) का पदक विजेता खेलाडीले आफुलाई विभेद भएको महसुस गरे । यस्तोमा पुरस्कार राशीमा पूर्नविचार गर्नै नहुँने बाध्यता सरकार वा सदस्य सचिव सिलवाललाई हुनु नपर्ने हो ।

प्रधानमन्त्रीले प्याकेज घोषणा गरिरहँदाको दृष्य हेर्दा तयारीका साथ घोषणा गरेको देखिदैनथ्यो । व्यक्तिगत स्पर्धाको घोषणापछि लामो समय त्यहाँ अलमल देखिएको थियो । सिलवालसहित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनासँगको लामो भलाकुसारीपछि प्रधानमन्त्री ओलीले टिम इभेन्ट्सका स्वर्ण पदक विजेता टोलीका सदस्यलाई ५ लाख रुपैयाँ घोषणा गर्दै रजत र कास्य पदकतर्फ संकेत गर्दै अन्य साना तिना कुरा मिलाउँदै गराउँला भनेका छन् । त्यो अलमल अहिले पनि कायम छ ।

त्यसपछिको अलमललाई न त युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा वा सदस्य सचिव सिलवालले निराकरनको प्रयास गरे । उल्टो खेलाडीले नै नबुझे जसरी टिम इभेन्ट्सका खेलाडीले कमै पाउने तर्क गरिरहेका छन् । तर, नेपालले यसपटक टिम इभेन्ट्समा पनि अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गरेको विषय नजरअन्दाज गर्दै मिल्दैन । फुटबलमा स्वर्ण जितेको नेपालले महिला भलिबल, बास्केटबलमा रजत, क्रिकेट महिला पुरुषमा कास्य पदक जितेको थियो । समूहगत अन्य खेलमा पनि नेपालले राम्रै सफलता हासिल गरकोे छ ।

बास्केटबलका कप्तान सदिशलाई दुनियाँको अभ्यास इन्डिभिजुयल र टिमलाई फरक पुरस्कार राशी हुन्छ भनेर सदस्य सचिव सिलवालले हप्काएको केहि दिनमा छिमेकी देश भारतले खेलाडीलाई पुरस्कारको घोषणा गरेको थियो । भारतले १७३ स्वर्ण, ९३ रजत र ४५ कास्य पदक जितेको छ । जसमा थुप्रै खेलमा भारतले टिम इभेन्ट्समा स्वर्ण, रजत र कास्य पदक जितेको छ । त्यहाँको सरकारले पुरस्कार तोकेको छ, भारतीय रुपैयाँ स्वर्णलाई १ लाख ५० हजार, रजतलाई १ लाख र कास्य पदक विजेतालाई ५० हजार । हाम्रोमा जस्तो त्यहाँ पदक विजेता व्यक्तिगत खेल वा समूहगत खेलको भनेर विभेद गरिएको छैन । व्यक्तिगत होस् वा समूहगत स्वर्ण वा अन्य पदक विजेताको महत्व बराबर छ ।

१३ औं सागमा सबैभन्दा बढी ४ वटा स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंहको एउटा भनाई मात्रलाई राम्ररी मनन गर्ने हो भने नेतृत्वलाई खेलकुदलाई बुझ्न सहज हुने छ । उनले भनेकी थिइन्, ‘मैले जस्तो चाहेर पनि फुटबल, भलिबलले धेरै पदक जित्न सक्दैनन् । टिमले उपलब्ध एउटा पदक जित्न पनि चरण चरण पार गर्दै सफलता प्राप्त गर्नुपर्ने हुन्छ । त्यसैले हरेक खेल बराबर हुन् र हरेकको आफ्नै महत्व हुन्छ ।’

सदस्य सचिव सिलावलले भनेको ठिक हो । सागमा नेपालले जितेको फुटबलको स्वर्ण पदक एउटै हो । तर, उहाँले बुझ्नुपर्ने अर्को पाटो भनेको त्यो टोलीमा रहेका सबै खेलाडी स्वर्ण पदक विजेता नै हुन् । कुनै व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने भन्दा समूहमा जित्नेको स्वर्ण कम होइन, हुन सक्दैन । त्यस्तै अन्य पदकको हकमा पनि व्यक्तिगत वा समूहगत खेलको फरक भन्न मिल्दैन ।

परिवर्तन नै गर्न नमिल्ने जस्तो गरि हाम्रो खेलकुद नेतृत्वले पुरस्कार राशीमा अहिले सम्म पूर्नविचार गरेको छैन । न त खेलाडीको गुनासोलाई सम्बोधन गरेको छ । खेलाडीकै मर्का र गुनसोलाई सम्बोधन गर्न नसक्नेले आफुलाई खेलक्षेत्रको नेतृत्वकर्ता भन्ने नैतिकता रहला ? कुनै समय गरिएको पुरस्कारको परम्परालाई अहिले पनि सहि नै मान्नुपर्ने केहि बाध्यता छ र ? देशको केहि पैसा बढी खर्च हुन्छ भन्ने आधारमा व्यक्तिगत स्पर्धामा जितेको पदक र समूहगत पदकलाई अलग दर्जामा राख्न मिल्दैन । हिजो भएको कमजोरीलाई आज सुधार्न सकिएन भने नेतृत्वलाई कसरी गतिशिल मान्न सकिन्छ ?

प्रधानमन्त्रीको घोषणालाई कार्यविधि बनाएर पुरस्कार वितरण गर्ने भनिएको छ । यो कार्यविधिमा खेलाडीको त्यो गुनासो सम्बोधन हुने गरि काम गर्न सके खेलाडीले सौतेलो व्यवहार महसुस गर्ने छैनन् । हरेक खेल र खेलाडीलाई सरकारले गर्ने व्यवहार एउटै हुन्छ भन्ने सन्देश दिन जरुरी छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

Success

Thank you for your time.