default_image

6 years ago

January 4, 2020

भलिबलकी प्रतिभाको बैंकर बन्ने सपना

303 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

देश भित्र लोकप्रिय र अन्तर्राष्ट्रिय रुपमा पदक जित्ने सम्भावना भएका खेलमा तीन विभागिय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) को चासो हुने गरेको छ । तीनै विभागले खेलकुदका लागि अलग्गै युनिट खडा गरेर खेलकुदमय वातवरण निर्माणका लागि मद्दत गरेका छन् ।

धेरै खेलका अधिकांश राष्ट्रिय खेलाडी यी नै विभागिय टोलीमा छन् । नेपालको खेलकुदलाई विभागले नै धानेको छ भन्दा पनि फरक पर्दैन । वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको पदक तालिकालाई हेर्दा पनि त्यो प्रष्ट हुन्छ । ३ विभाग, ७ प्रदेश र एनआरएनको टोली सहभागि भएको आठौंमा आर्मी पहिलो, पुलिस दोस्रो र एपिएफ तेस्रो भएको थियो ।

गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडी पनि अधिकांश विभागकै छन् । १२ महिनानै अभ्यास हुने भएकाले खेल जीवनलाई अघि बढाउन चाहनेका लागि विभाग सहि गन्तव्य रहँदै आएको छ । नियमित मासिक रुपमा तलब र खेल्न वातावरणले पनि खेलाडी बन्न चाहानेका लागि विभाग रोजाईमा पर्नु स्वभाविक पनि हो ।

विद्यालय र राष्ट्रिय प्रतियोगिताहरुमा देखिने नयाँ प्रतिभामा विभागको आँखा पुगिहाल्छ । त्यस्ता प्रतिभालाई आफ्नोमा लिने विभागिय टोलीबीच एक खालेको होड नै चल्छ । खेलकुदका आन्तरिक प्रतिस्पर्धामा तीन विभागबीच अलग्गै प्रतिष्ठाको लडाई नै हुन्छ । तर, विभाग भन्दा अलग रहेर खेल जीवन अघि बढाउने पनि हुँदै नभएका भने होइनन् । त्यस्तो खेलाडीको संख्या भने कम नै छ । त्यसमध्ये पर्छिन् भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा माली ।

पछिल्लो ६ वर्षदेखि उनी राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । उनलाई विभागबाट प्रस्ताव नआएको पनि होइन । तर, उनी आफ्नो खेल जीवनलाई न्यू डायमण्ड स्पोर्टस् क्लबबाट अघि बढाउन चाहन्छिन् । अहिले स्नातक तहमा अध्ययनरत प्रतिभाले १ कक्षादेखि १० कक्षा सम्म त्यहि न्यू डायमण्ड एकेडेमीमा पढिन् । भलिबल खेल पनि उनले त्यहि सिकिन् । त्यसले उनी त्यो ठाँउ र त्यो नामबाट आफुलाई अलग राख्न सक्दिनन् र अर्को अर्थमा चाहदिनन् पनि ।

‘आज म जे छु । न्यू डायमन्डका कारण छु । सायद म यो स्कुलमा हुन्थेन भने भलिबलमा नहुन पनि सक्थें,’ आगामी दिनको योजनाका बारेमा उनले भनिन्,‘जहिलेसम्म खेल्छु यहिबाट खेल्छु भन्ने सोच छ ।’ कुनै समयकी चर्चित खेलाडी रमिला तण्डुकार, नेपाल एपिएफ एवंम् राष्ट्रिय टोली नियमित सदस्य रेश्मा भण्डारी, सेनाको सेकेन्ड लेफ्टिनेन्टमामा छनोट भएकी कृपा अधिकारी न्यू डायमन्डकै उत्पादन हुन् । रमिला अहिले अमेरिका बस्छिन् । न्यू डायमन्डकी उत्पादन सलिना श्रेष्ठ पनि अहिले प्रतिभासँगै राष्ट्रिय टोलीमा रहेकी छन् ।

‘सबैका आ आफ्ना बाध्यता हुन्छन् । दिदीहरुले छाडेर गएपछि हामीलाई क्लबलाई पुरानै अवस्थामा पुर्याउन निकै कठिन भयो,’ उनले अनुभव सुनाइन्,‘ मलाई पनि विभागले बोलाएका हुन् । तर म गइन । अब मैले पछि छाडे भने फेरि क्लब कमजोर हुन्छ । त्यसैले पनि छाडेर जान माया लाग्छ । मलाई जसले चिनायो, त्यहि ठाँउलाई छाडेर जान मन लागेन ।’ उनी, सलिनाको पुस्ताले नेतृत्व गर्दै न्यू डायमण्डले महिला भलिबलमा एकछत्र राज गरेको एपिएफलाई बलियो चुनौति दिने गरेका छन् । कतिपय अवसरमा हराएका पनि छन् ।

भलिबलमा रुची राख्ने र प्रतिभा, सलिनाबाट प्रेरित भएर न्यू डायमण्डमा भलिबल सिक्नेको छात्रा मात्र ४० को हारहारीमा छन् । रमिलादेखि सलिना सम्मका खेलाडी उत्पादन गरेको प्रशिक्षक कुमार राई तीनै छात्रालाई भोलीको राष्ट्रिय खेलाडी बनाउन सकिन्छ भन्ने लागि परेका छन् । उनी र सलिना बहिनीहरुलाई आफ्नो अनुभव सुनाउँछन् र सिकाउँछन् पनि । प्रतिभा भन्छिन्,‘ मलाई लाग्छ भलिबलका लागि यहाँ जस्तो उपयुक्त वातावरण अन्त छ छैन मलाई थाहा छैन । ’

घरेलु भलिबलका बारेमा जानकार जो कोहीका लागि पनि प्रतिभा परिचित र प्रिय नाम हो । उनी सम्मिलित राष्ट्रिय टोलीले पछिल्ला दुई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत महिना सम्पन्न १३ औं सागमा महिला भलिबलले रजत पदक जित्यो । त्यो नेपाल महिला भलिबल टोलीले जितेको अहिले सम्मकै ठूलो पदक हो । त्यसको केहि साता अघि मात्र महिला टोलीले पहिलो पटक आयोजित महिला एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । उनको जितको सिलसिला गत साता सम्म जारी रह्यो । साग लगत्तै माल्दिभ्सको लिग खेल्न पुगेकी प्रतिभाको टोली पुलिस टोली त्यहाँको च्याम्पियन बनेको थियो । स्वदेश फर्केर फेरि उनी आफ्नो नियमित अभ्यासमा जुटिसकेकी छिन् ।

राष्ट्रिय टोलीले लगातार उच्च प्रदर्शन गर्नुको मुख्य कारण दुईवटा रहेको प्रतिभा बताउँछिन् । एउटा लामो तयारी र अर्को एक्सपोजर म्याच । बंगलादेशमा भएको सेन्ट्रल जोनअघि भलिबल टोलीले झन्डै ३ साता थाइल्यान्डमा प्रशिक्षण गर्यो र त्यहाँ राष्ट्रिय टोलीसँगैसहित ७ वटा अभ्यास खेल खेल्न मौका पायो ।

‘थाइल्यान्डको तयारीले हामीलाई धेरै फाइदा पुग्यो । टोलीमा आएका नयाँ खेलाडीले पनि खेलको अनुभव गर्न पाए,’ उनले भने,‘ हामीले चार महिना भन्दा बढीसँगै बसेर प्रशिक्षण गर्यौं । त्यसले सेन्ट्रल जोन र सागमा धेरै फाइदा गर्यो । ’ सेन्ट्रल जोनको सफलता स्वभाविक मान्ने प्रतिभाले थाइल्यान्डको अभ्यासले सागमा भारतविरुद्ध खेल्न पनि सहज भएको बताइन् । सागका दौरान नेपालले पहिलो पटक भारतलाई फाइनलमा २ सेट हराएको थियो । त्यसअघि नेपालले कहिले पनि भारतलाई १ सेट पनि हराउन सकेको थिएन । ‘ थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि खेलेकोले हामीलाई भारतसँगको खेलमा खासै दबाब लागेन,’ उनले थपिन्,‘ हो हामी हार्यौं । तर पहिला जस्तो दबेर खेलेनौं ।’

व्यावसायिक रुपमा तेस्रो पटक माल्दिभ्स गएकी उनले त्यस्तो अवसरले नयाँ टेक्निक सिक्ने अवसर पाउने सुनाइन् । गत वर्ष नेदरल्यान्ड्समा समेत पुगेर भलिबलको प्रशिक्षण गरेकी उनले त्यहाँको पूर्वाधार र सुविधा देखेपछि निकै निराश भएको पनि बताइन् । ‘ त्यहाँको एउटा क्लबको प्रशिक्षण गर्ने हल । त्यहाँको खेलाडीका लागि दिइने सुविधा त्यो देखेर छक्क परे,’ उनले भनिन्,‘ हामीका त्यस्तो केहि नहुँदा दुःख पनि लाग्यो । तर, त्यति हुँदा हुँदै पनि हामी खेलिरहेका छौं । खेलप्रति समर्पित छौं ।’

Pratibha Mali celebration

उनी र उनको टोली पुस २३ देखि आफ्नै क्लबको आयोजनामा सुरु हुने होङवाग्जी न्यू डायमण्ड कप भलिबलको तयारीमा जुटेको छ । महिला प्रतियोगितामा ४ लाख १ हजार रुपैयाँको पुरस्कार राशीको उक्त प्रतियोगिताको सुरुवातले नेपाली भलिबलमा एउटा नयाँ आयाम थप्ने उनको विश्वास छ । भलिबल बाहेक भने उनले भविष्यमा बैंकर हुने सपना पालेकी छिन् । त्यसैले उनले व्यवस्थापन रोजेकी छिन् । ‘ मलाई बैंकर हुन मन छ,’ उनले भनिन्,‘ हेरौं भलिबल र सपनालाई कसरी अघि बढाउन सकिन्छ ।’

प्रतिभासँगको विशेष अन्तर्वार्ता :

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.