12 months ago
December 11, 2024
भुपेन्द्र जि.सी.
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो ।
असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए का सन्दीप जोरा, विवेक यादव, सूर्य तामाङ तथा ग्रेड बी का तिलकराज भण्डारी र आशुतोष घिरैया) पाएको थियो । कप्तान रोहित पौडेल र सिनियर टोलीबाट खेलिसकेका अर्जुन साउदलाई टोलीमा समेटेपछि लुम्बिनी अक्सनमा मजबुत टोली देखिएको थियो ।
विश्वभरका फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्न विदेशी खेलाडी निकै महत्त्वपूर्ण हुन्छन् । एनपीएलमा राम्रो गरेका टोली त्यसका उदाहरण हुन् । तर लुम्बिनी विदेशी खेलाडी अनुबन्धमा चुक्यो । जसको कारण मैदानमा जित निकाल्न सकेन । नेपाली खेलाडी मात्र हेर्दा कागजमा निकै बलियो देखिएको लुम्बिनीमा नेपाली खेलाडीले पनि निराश पारे ।
कागजी रुपमा विदेशी खेलाडीमा लुम्बिनी एनपीएलकै कमजोर टोलीमा पर्दछ । अष्ट्रेलियाका बेन कटिङलाई महँगो मूल्यमा अनुबन्ध गर्यो । बलिङ अलराउन्डरको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका कटिङ लुम्बिनीमा बलिङ नै नगर्ने सर्तमा आएका थिए । खेलकुद करिअरबाटै सन्न्यास लिने अवस्थामा पुगेका उनले विराटनगरसँग ६ र जनकपुरसँग ३ रन बनाए । टोलीको सन्तुलनमा नै समस्या आएपछि उनले अन्य खेल खेलेनन् । इंग्ल्यान्डका टम मोरिस, अमेरिकन उनमुक्त चन्द, क्यानडाका साद बिन जाफर र वेस्ट इन्डिजका रामोन सिमन्ड्सलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गर्यो ।

अक्सनमा उत्कृष्ट नेपाली कोर बनेको टिमले सोहीअनुसार स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सकेन । म्याच विनर बन्न सक्ने कुनैपनि विदेशी खेलाडी टोलीमा थिएनन् । त्यस्तोमा नेपाली खेलाडीले स्टेप अप गर्नुपर्ने थियो । तर कप्तान रोहित पौडेलबाहेक सायदै कसैले अपेक्षा अनुरुप प्रदर्शन गरे । अक्सनमा निकै आशा गरेर अनुबन्ध गरिएका खेलाडीले निराश पार्दा टिम सेट हुन नपाउँदै सिजन सकियो ।
पहिलो खेलमा विराटनगरसँग १ सय ९१ रन बनाएपनि जोगाउन सकेन । विराटनगरविरुद्ध लोकेश बमले ४७ बलमा ७१ रनको इनिङ खेल्दै जित दिलाए । यसले लुम्बिनीको बलिङ आक्रामणको कमजोरी छताछुल्ल भयो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १ सय ७० रन बनाएपनि १० विकेटले हार्न पुग्यो । यसैपनि १० दिनको अन्तरमा ७ खेलको चुनौतीपूर्ण खेल तालिका रहेको टोलीले सुरुवात राम्रो गर्न अत्यावश्यक थियो । तर सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि हारले पुरै टोलीको मनोबल घट्यो । त्यसपछि त ब्याटिङ र बलिङ दुवैमा खराब खेल्न पुग्यो ।
टिमले नै सोचे जस्तो नखेलेको लुम्बिनीका कप्तान रोहित पौडेल बताउँछन् ।’यो प्रतियोगिताभर नै हामीले एउटा टिमको रुपमा हामीले सोचे जस्तो खेल्न सकेनौं । टिमको जुन क्षमता थियो त्यो अनुसार विकास गर्न पनि सकेनौं । ब्याटिङ युनिटले जति बेला चाहिएको थियो त्यति बेला रन बनाएनौं । सुरुको खेलमा बलिङ राम्रो गर्न सकेनौं’, रोहितले भने ।
बिर्सनलायक विदेशी ब्याटिङ
भारतलाई २०१२ मा यू१९ विश्वकप जिताएका उनमुक्त चन्द अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्यका साथ पछिल्लो समय अमेरिकामा छन् । ब्याटिङमा लुम्बिनीले ल्याएको शीर्षक्रमका प्रमुख ब्याटर नै उनी हुन् । तर उनले ४ खेलमा २९ बल खेल्दा जम्मा १८ रन बनाएका छन् । गत वर्ष पनि नेपाल टि२० मा लुम्बिनी अल स्टार्सबाट खेलेका उनको तथ्यांक कमजोर नै थियो ।
सन् २०१६ को आईपीएलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन हिरो बनेका बेन कटिङले दुई खेलमा १३ बल खेल्दा ९ रन बनाएका छन् । प्रमुख विदेशी खेलाडी नै दुई खेल बाहेक अन्य खेल्न सकेका छैनन् । पहिलो खेलमा विराटनगरसँग अन्तिम ओभरमा १६ रन चाहिँदा पनि उनी बलिङ गर्न अघि सरेनन् । यसैपनि दबाबमा रहेका विवेक यादवले उक्त रन बचाउन सकेनन् ।

त्यस्तै मध्यक्रमका इंग्लिस ब्याटर टम मोरिसले ६ खेलमा ९५ बल खेल्दै १२९ रन बनाएका छन् । साद बिन जाफरले ६ खेलमा ६७ रन बनाएका छन् । बलिङमा साद बिन जाफर र सिमण्डले समान ८-८ विकेट लिएका छन् ।
लुम्बिनीका मालिक ईश्वर जि.सी. विदेशी खेलाडीले आफ्नो स्तरभन्दा झनै कमजोर प्रदर्शन गरेको बताउँछन् । ‘हामीले नाम चलेका र अहिले पनि राम्रो भएका विदेशी खेलाडी ल्याएका हौं । तर सोचे अनुसार प्रदर्शन आएन । उनीहरुको प्रदर्शन गर्ने जुन स्तर हो त्यो भन्दा कमजोर प्रदर्शन गरे । बेन कटिङले अनफिट रहेको भन्नु भएन । विदेशी खेलाडी ल्याउन नसकेको पनि होइन । राम्रो प्रदर्शन गर्छन भन्ने आशा भयो’, जि.सीले भने ।
अर्को कमजोर प्रदर्शनको कारण बलिङ आक्रामण हो । विराटनगर र पोखरासँग मात्रै होईन, सुदूरपश्चिमसँग पनि राम्रो बलिङ हुन सकेन । कमजोर बलिङको फाइदा उठाउँदै सुदूरपश्चिमले १ सय ८७ रन बनाएको थियो । अन्तिम तीन खेलमा सूर्य तामाङलाई बाहिर गर्यो । उनको स्थानमा आएका अभिषेश गौतमले राम्रो प्रभाव छाडे । १ सय ३७ रनको लक्ष्य पछ्याउनेक्रममा जनकपुर बोल्ट्ससँग १ रनले हार्न पुग्यो । चितनवसँग १ सय ६७ रन बनाउँदै ३३ रनको जित हात पायो । काठमाडौंसँग १ सय ४ रनको लक्ष्य पछ्याउनेक्रममा ८५ रनमा अल आउट भयो । टीयुको विकेटमा १ सय ४ रन संयमित ब्याटिङ गर्ने हो भने पुरा गर्न सकिन्छ ।
बलिङ आक्रामणमा यू१९ टोलीका दुर्गेश गुप्ता र सिमण्ड तीव्र गतिमा रहे । स्पिनमा साद बिन जाफर, सूर्य तामाङ र अभिषेश गौतम थिए । पार्टटाइममा रोहित पौडेल, सन्दीप जोरा र विवेक यादव थिए । दिनेश अधिकारी पनि विकल्पको रुपमा रहे । साद बिन जाफरलाई छाड्ने हो भने अन्य कुनैपनि अनुभवी बलर होइनन् । अर्कोतर्फ अपेक्षा गरेका सूर्य नै चम्कन सकेनन् । दुर्गेश र सिमण्डमा अनुभवको कमी स्पष्ट देखिन्थ्यो । सुरुवाती दुई खेलमा हारपछि रोहितले जस्प्रित बुमराह जस्तो बलर नै ल्याउन पर्ने भन्दै ब्यंग गरेका थिए ।

नेपाली खेलाडीबाट साथ नपाएका रोहित
लुम्बिनीमा सम्झन लायक प्रदर्शन भनेको नै कप्तान रोहित पौडेलको हो । २६९ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीमा उनी शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहेका लाहिरु मिलान्थाले १७५ रन बनाएका छन् । रोहितले ७ विकेट लिएका छन् । चितवनलाई ३३ रनले हराउन रोहितले ८० रन बनाउनुको साथै ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । उनले विराटनगरसँग ४६, पोखरासँग ९५ र जनकपुरसँग ३५ रन बनाएका थिए । तर क्रिकेट टिमको खेल हो । एक्लो प्रदर्शनले केही सहज बनाउछ । तर पुरा नतिजा निकाल्न सक्दैन ।
विदेशीले कमजोर गरेपनि लुम्बिनीसँग नेपालकै खेलाडीले जिताउन सक्ने ब्याटिङ थियो । नेपाली क्रिकेटका टी२० विशेष विवेक यादव, सन्दीप जोरा र विकेटकिपर अर्जुन साउद थिए । जोराले ९४ बल खेल्दा कुल ९६ रन बनाएका छन् । जनकपुरसँग अन्तिम बलमा दुई रन चाहिँदा क्याच आउट भएका थिए । विवेक यादवले ७२ बलमा १ सय रन बनाएका छन् । सुदूरसँग ७७ रनको इनिङ खेलेका थिए ।
कुनैपनि टोलीलाई सुरुवात राम्रो चाहिन्छ । तर ओपनर अर्जुन साउदले ५ खेलमा ६५ बल खेल्दा मात्रै ५५ रन बनाएका छन् । अक्सनमा अन्तिम समयमा बिकेका उनले यस अवसरलाई गम्भीरतारुपमा लिएको देखिदैन । अक्सनमा कडा प्रतिस्पर्धा भएका आशुतोष घिरैयाले पनि ५ खेलमा ४९ बल खेल्दै २८ रन बनाएका छन् । ओपनरले कमजोर गरेपछि मध्यक्रमका ब्याटरलाई स्वत दबाब पर्यो । त्यो दबाबमा रोहित बाहेक अन्य खुल्न सकेनन् । जसको कारण लुम्बिनीले खराब खेल्यो ।
नयाँ खेलाडी हुँदा आफ्नो रोलको बारे स्पष्ट नहुने रोहित बताउँछन् । नेपाली टोलीमा आफ्नो भूमिका के हो प्रष्ट थाहा हुन्छ । तर सबै टोलीमा नयाँ खेलाडी हुँदा आइडिया हुँदैन, उनले भने ।
‘अर्को संस्करण आउन एक वर्षनै बाँकी छ । प्रशिक्षक र टिम मालिकसँग बसेर छलफल गर्ने छौं । त्यसपछि निर्णय लिन्छौं’, उनले भने ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]