default_image

5 years ago

December 8, 2020

पदक विजेता र ओलम्पियन भन्छन् – ‘प्रोत्साहन भत्ता किन रोकियो थाहा छैन’

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धावक वैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा तीन दशक भन्दा अघि बनाएको कीर्तिमान अहिले सम्म तोडिएको छैन । साग तत्कालिन साफको तेस्रो संस्करण (सन् १९८७) मा मानन्धरले २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पुरा गर्दै कीर्तिमान रचेका थिए । ३३ वर्षे अघि बनेको त्यो कीर्तिमान तोड्न अहिलेका खेलाडीलाई फलामको च्यूरा चपाए सरह भएको छ ।

सागमा मानन्धरको त्यो तेस्रो लगातार स्वर्ण पदक थियो । आफ्नो उर्जाशिल समयमा मानन्धरले देशका लागि निकै पसिना बगाए । सागमा तीन स्वर्ण जितेका उनले चार पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए । भविष्यमा केहि पाइएला भन्ने आशाले मानन्धर दौडेका थिएनन् । न अरु कोहि खेलाडी सिमित पुरस्कारको आशाका लागि मेहनत गर्छन् ।

देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा उचो बनाउन सकिन्छ भन्ने उदाहरण खेल क्षेत्रले प्रस्तुत गर्दै आएको छ । आफ्नो समयमा देशका लागि मेहनत गर्ने ती खेलाडीको भावना माथि भने बारम्बार चोट पुर्याउने काम सबन्धित निकायहरुबाट हुने गरेको छ ।

पछिल्लो ४ वर्षदेखि सागका स्वर्ण पदक विजेता, एसियाली खेलकुदका कुनै पनि पदक विजेता र ओलम्पिकमा भाग लिने खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्रोत्साहन भत्ता पाउँदै आएका थिए । मानन्धरले ३ स्वर्ण पदकको अलग अलग र ओलम्पियन भएवापतको भत्ता पाउँदै आएका थिए ।

कीर्तिमानी दीपक विष्टले सबैभन्दा बढी प्रोत्साहन भत्ता बुझ्दै आएका थिए । उनले सागमा ४ स्वर्ण र दुई एसियाली पदक गरि ३६ हजार र ओलम्पियनको ४ हजार गरि मासिक ४० हजार रुपैयाँ पाउने गरेका थिए ।

तर, चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि ती खेलाडीले भत्ता पाएका छैनन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेता भएर पाउने भनिएको प्रोत्साहन भत्ता कस्तो हुन्छ महसुस गर्न पाएका छैनन् ।

‘मानन्धर भन्छन् पैसाको प्रकृति नै हो जति भएपनि पुग्दैन । पैसाले कसलाई पो पुग्ला र? तर राज्यले दिन सुरु गरेको रकम रोकिदा अलिक दुःख लाग्दो रहेछ,’ उनले भने, ‘जागिर वा अन्य आम्दानीको श्रोत नभएका लागि त्यो रकम पनि ठूलो हो । आफ्नो समयमा देशका लागि गरेको मेहनतको कदरका रुपमा लिएका छौं । त्यति रकम नियमित आउँदा पनि अरुको आश गर्नुपर्ने हुदैनथ्यो ।’

त्यति मात्र होइन त्यो प्रोत्साहन भत्तामा लुकेको अर्को सन्देश मानन्धर यसरी अर्थ लगाउँछन्, ‘हाम्रा जस्ता पुराना खेलाडीले पाउने त्यो रकम हेर्दा समान्य लाग्न सक्छ । तर, नयाँ पुस्तालाई त्यसले पक्कै प्रोत्साहित गरेको हुन्छ । ओलम्पिक खेल्नु, साग र एसियाडमा पदक जित्यो भने राज्यले प्रोत्साहन गर्छ भन्ने सन्देश गएको छ । अर्को जति पटक स्वर्ण जित्यो त्यति बढी रकम पाइन्छ भन्ने हुन्छ । तर, यो रोकिदा त्यसले हामीलाई मात्र होइन नयाँ पुस्तालाई पनि पक्कै निराश बनाउनेछ ।’

ओलम्पियनहरुलाई मासिक ४ हजार तथा सागको स्वर्ण पदक विजेता र एसियाली खेलकुदका कुनै पनि पदक विजेता खेलाडीलाई मासिक ६ हजार दिने गरिन्थ्यो । तर त्यो प्रोत्साहन भत्ता स्वदेशमा हुने खेलाडीले मात्र पाउने प्रावधान छ ।

चार वर्षसम्म निरन्तरत पाउँदै आएको भत्ता नयाँ राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएसँगै रोकिएको बताइएको छ । राखेपले पुरस्कार, भत्ताको कार्यविधि नबन्दा सम्म दिन नमिल्ने जवाफ दिएको सागका दोहोरो स्वर्ण पदक विजेता समेत रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ दीपक श्रेष्ठले बताएका छन् ।

‘कार्यविधि बन्नका लागि यति लामो समय लाग्नुपर्ने कारण हामीले बुझ्न सकेका छैनौं,’ संघका श्रेष्ठले भने,‘ कसको कारणले रोकिएको भन्ने प्रष्ट जवाफ हामीले पाएका छैनौं । किन रोकिएको हो ? अब न नियतमा नै शंका गर्नुपर्ने अवस्था आएको छ । ’

ओलम्पियन समेत रहेका लुम्बिनी प्रदेशका सांसद सुरेन्द्र हमाल त्यो प्रोत्साहन भत्तालाई सुविधा भन्दा पनि खेलाडीको सम्मानका रुपमा लिन्छन् । ‘खेलाडीले राष्ट्रका लागि पुर्याएको योगदान वापत गरिएको सम्मान हो । अहिले त्यो रोकिएको सुन्दा राम्रो लागेन,’ उनले भने,‘ हिजो राखेपको बोर्डले निर्णय गरेर दिन थालेको थियो । त्यो आफैमा कानुन नै भयो । अहिले रोकिनु भनेको नियतमा शंका गर्ने ठाँउ छ ।’

विदेशमा ओलम्पियनहरुलाई सरकारले सम्मानका साथ हेर्ने गरेको उदाहारण प्रस्तुत गर्दै ओलम्पियन हमाल भन्छन्,’ सक्ने हो भने त सरकारले खेलाडीका लागि अरु सुविधा बढाउँदै लानु पर्ने हो । हाम्रामा दिदै आएको पनि रोकिएको सुन्दा दुःख लाग्छ ।’

आठौं सागकी स्वर्ण पदक विजेता एवंम् ओलम्पियन नयना शाक्य पनि प्रोत्साहन भत्ता रोकिनुको कारण आफूले बुझ्न नसकेको बताउँछिन् । ‘ रकम धेरै थोरै भन्ने होइन । यो त राज्यले खेलाडीलाई दिएको सम्मानका रुपमा हामीले हेरेका थियौं । देशका लागि खेल्ने खेलाडीलाई राज्यले पनि हेर्छ भन्ने सन्देश गइरहेको थियो, उनले भनिन्,‘ नयाँ खेलाडीलाई पनि यसले उत्साहित पक्कै बनाथ्यो । तर अहिले रोकिएको सुन्दा खल्लो लागेको छ ।’

केशवकुमार विष्ट सदस्य सचिव हुँदा खेलाडीलाई प्रोत्साहन भत्ता दिन सुरु भएको थियो । विस्तारै रकममा बृद्धि हुँदै लगिएको थियो । यसपटकको बजेटपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि १३ औं सागका स्वर्ण पदक विजेताले पनि प्रोत्साहन भत्ता पाउने बताएका थिए ।

राखेपका पूर्व सदस्य सचिव युवराज लामाले सामाजिक सञ्जालमार्फत खेलाडीले भत्ता नपाउनु दुःखद भएको बताएका छन् । उनले लेखेका छन्, ‘खेलाडीहरुले पाउँदै आएको प्रोत्साहन भत्ता नपाउनु दुःखद खबर ।’

पहिलो सागमा फुटबलमा स्वर्ण पदक दिलाएका टोलीका सदस्य समेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्णा थापा भत्ता रोकिएको कारण आफूले बुझ्न नसकेको बताएका छन् । ‘यो विषयमा मन्त्री र सदस्य सचिव ज्यूले भन्नु होला । किन पाउँदै आएको भत्ता रोकिएको हो मैले बुझ्न सकेको छैन,’ उनले भने,‘ खेलाडीको आर्थिक अवस्था एकनास हुँदैन । कतिपयका लागि यो भन्दाको पनि ठूलो महत्व हुन्छ । दशै तिहार पनि गैसक्यो । नयाँ आर्थिक वर्षको ५ महिना वित्न लाग्दा पनि नआउनु दुःखद हो ।

राखेपका लेखा प्रमुख ऋषिराम पोखरेलले भने प्रोत्साहन भत्ता पाउने खेलाडी यो वर्ष थपिएकोले कार्यविधि तयार पारेर साउनमै मन्त्रालय पठाएको तर पास भएर नआएको जनाकारी दिए । १३ औं सागमा ७८ खेलाडीले ५१ स्वर्ण पदक जितेका थिए । ‘हाम्रो कारणले रोकिएको होइन । मन्त्रालयबाट कार्यविधि आएको छैन,’ उनले भने,‘ मन्त्री ज्यूले छिट्टै हुन्छ भन्नु भएको छ । हामीमाथि पनि खेलाडीको दबाब छ । कार्यविधि चाँडै आउने आशा राखेका छौं ।’

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.