default_image

3 years ago

August 11, 2021

भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष सफलतापूर्वक सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा चलिरहेको भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको कोर्ष पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते सम्म सञ्चालन भएको थियो । नेपाल ब्याडमिन्टन संघले सञ्चालन गरेको यो पहिलो आधिकारिक कोर्ष हो । यसअघि पनि […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा चलिरहेको भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको कोर्ष पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते सम्म सञ्चालन भएको थियो ।

नेपाल ब्याडमिन्टन संघले सञ्चालन गरेको यो पहिलो आधिकारिक कोर्ष हो । यसअघि पनि निर्णायकहरुको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्रि र अम्पायरहरुको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आईरहेकोमा यसपटक देखि नेपाल ब्याडमिन्टन संघले आधिकारीक रुपमै आफैंले दक्ष निर्णायकहरु उत्पादन गर्ने उद्देश्य कार्यान्वयनमा ल्याएको हो । समापन समारोहमा ब्याडमिन्टन एसियाका अध्यक्ष अन्तान सुबोवो र ब्याडमिन्टन एसियाको प्राविधिक समितिका प्रमुख चेन चिन शेनले आफ्नो भनाइ राखेका थिए ।

दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरुप संघसँग आवद्ध प्रत्येक जिल्लामा कम्तीमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो । कोर्षलाई संघका केन्द्रिय सदस्य एवं ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापासँगै ब्याडमिन्टन एसियाका एक्रिडिएटेड अम्पायरहरु सुमित शाक्य, समन ईकबाल र कृतन खड्काले ब्याडमिन्टनसँग सम्वन्धित प्राविधक ज्ञान प्रदान गरेका थिए ।

प्रदेश १ मा विगत ५–६ वर्षदेखि प्रदेशस्तरीय ब्याडमिन्टनको अम्पायरिङ गरिरहेका मोहन प्याकुरेलले कोर्ष अत्याधिक राम्रो रहेको र यसबाट धेरै सिक्ने मौका पाएको बताए । ‘यसपटक एभान्स लेभलमा सिक्ने अवसर मिल्यो । बेला बेलामा यस्ता कोर्षहरु भइरह्यो भने अम्पायरहरु उत्पादन भइरहन्छ ।’ उनले भने, ‘पहिला देखि नै प्रदेश स्तरमा अम्पायरिङ गरिरहेको थिए । कति कुराहरु गर्दा गर्दै पनि जानिएको हुदैन । कति कुराहरु नयाँ आइरहेका हुन्छन् । त्यो कुरा थाहा पाउदैनौं । यस्ता कोर्षबाट नै थाहा पाउने हो । धेरै कुरा सिक्ने अवसर मिल्यो ।’

कोर्षमा भाग लिएका प्रदेश २ का समिक श्रेष्ठले भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्षबाट धेरै कुरा सिक्ने मौका पाएको बताउँदै नेपाल ब्याडमिन्टन संघलाई धन्यवाद ज्ञापन गरे । ‘यो निर्णायकले मात्रै होइन खेलाडीले पनि जान्नु र बुझ्नुपर्ने कोर्ष हो । यसले निर्णायकसँगै खेलाडीको अनुशासनलाई पनि दायरामा ल्याउने काम गर्दछ,’ ब्याडमिन्टन खेलाडीसमेत रहेका सर्लाहीका श्रेष्ठले भने ।

‘यो हिसावमा भर्चुअल मार्फत नै यो कोर्ष लिन पाउँदा हामी धेरै भाग्यमानी छौं । सैदान्तिक रुपमा धेरै कुरा सिक्यौं । यसलाई व्यवहारिक रुपमा नै प्रयोग गर्न पाएको भए धेरै राम्रो हुने थियो,’ उनले थपे । यस्तै उनले कोभिड–१९ को कारण कुनै इभेन्ट्स नभएपनि भर्चुअलमा कुनै भिडियो देखाएर त्यसमा अध्ययन गर्दै गल्ती र कमीकमजोरी पत्ता लगाउने कार्य भएको र यसले धेरै फाइदा पुर्याएको बताए ।

यस्तै गण्डकी प्रदेशका रिदम काजी थापाले दोस्रोपटक निर्णायक कोर्षमा भाग लिएको यसबाट राम्रो अनुभव लिने मौका पाएको बताए । इन्जिनियर समेत रहेका र ब्याडमिन्टनमा रुची राख्ने उनले यस्ता खाले कोर्षबाट दक्ष जनशक्ति उत्पादनको लागि सहयोग पुग्ने बताए ।
‘अहिले अवस्था यस्तै छ । भौतिक दुरी कायम गर्नुपर्ने अवस्था छ । भर्चुअल क्लास र प्रत्यक्ष क्लासमा अवश्य पनि फरक हुन्छ । तर, यो कोर्षमा हामीले त्यस्तो अनुभव गरेनौ । हाम्रा गुरुहरुले हामीलाई एकदमै सहज तरिकाले सिकाउनु भयो,’ थापाले भने ।

‘सैद्धान्तिक रुपमा त धेरै सिक्ने मौका पायौ । कुनै इभेन्ट्स भइदिएको भए हामीले सिकेका कुरालाई व्यवहारमा उतार्ने मौका पाउने थियो । तर अवस्था त्यस्तै छ । भर्चुअलमा गेम देखाएर भएपनि खेल नै खेलाएको र बसेको जस्तै अनुभव भएको थियो ।’ यस्तो खालको कोर्ष नियमित रुपमा हुन्छ भन्ने आशा उनले राखेका छन् ।

सुदूरपश्चिम प्रदेशकी पुर्व ब्याडमिन्टन खेलाडी समेत रहेकी हेमा जोशीले भर्चुअल कोर्स सबै हिसावमा राम्रो रहेको प्रतिक्रिया दिइन् । ‘कोरोनाको समयमा प्रत्यक्ष रुपमा उपस्थित नरहेपनि राम्रै रह्यो, सबै प्रदेश समावेश थियो । मैले पनि अवसर पाए । धेरै कुराहरु सिक्ने अवसर पाए । म नेपाल ब्याडमिन्टन संघ र कोर्ष सिकाउनु हुने गुरुहरुलाई भन्यवाद दिन चहान्छु,’ पुर्व ब्याडमिन्टन खेलाडी समेत रहेकी कञ्चनपुरकी जोशीले भनिन्, ‘यो कोर्ष निर्णायकहरुको लागि मात्रै नभई खेलाडीहरुले पनि जान्नुपर्ने कोर्ष रहेछ । म खेलाडीको रुपमा खेल्दा कसरी खेले र अहिले कसरी खेल्नपर्छ भन्ने बुझे । हरु यस्तै कार्यक्रमको अपेक्षा गर्दछु ।’

अध्ययनका कारण केही समय खेल बाहिर रहेपनि अब कुनै नै कुनै भुमिकामा खेलमा रहने उनले सुनाइन् । ‘मैले विगतमा कसरी खेले । कसरी खेल्नुपर्ने रहेछ भन्ने बल्ल बुझे । प्रयोगात्मक गर्न पाए झनै फाइदा हुने थियो । नियमै नजानी खेलिएको । यता उता हान्नुपर्ने मात्रै थाआ भएको । अहिले नियमबाट धेरै कुराको अनुभव सिक्न पाए,’ उनले थपिन् ।

कोर्षमा उत्तीर्ण निर्णायकहरुको प्रयोगात्मक परिक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिईने र त्यसमा उत्तीर्ण निर्णायकहरुलाई नेपाल ब्याडमिन्टन संघले आधिकारिक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने समेत संघले जनाएको छ ।

संघसँग आवद्ध जिल्ला र एपिएफ क्लबसँगै कोर्षमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ, धादिङ, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाडौं, काभ्रे, महोत्तरी, मोरङ, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुंगा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रुपन्देही, सल्यान, संखुवासभा, सप्तरी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरले सहभागिता जनाएका थिए ।

Success

Thank you for your time.