default_image

3 years ago

September 20, 2021

रत्नजित र प्रिन्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयतामा तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएका क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजितले आर्मीकै रुकेश महर्जनलाई २१–१४ र २१–८ सोझो सेटमा पराजित […]

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयतामा तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएका क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजितले आर्मीकै रुकेश महर्जनलाई २१–१४ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । यस्तै आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहालले नेपाल एपिएफ क्लबका प्रियान्सु सिंह क्षेत्रीलाई २१–१३ र २१–८ को सोझो सेटमा हराए ।

आर्मीका प्रफुल महर्जनले लोकान्तरका सुदिप सेढाईलाई २१–१७, २१–२३ र २१–१५ को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरे । आर्मीका भोज बहादुर गुरुङबाट रिटायर्ड हर्ड भएपछि एपिएफका साजन कृष्ण ताम्राकारले सेमिफाइनलमा स्थान बनाए । पहिलो सेटमै चोट बोकेका भोजले पहिलो सेट १७–२१ ले गुमाएका थिए । दोस्रो सेटमा उनले खेल्न नसक्ने बताएपछि साजन अघि बढेका हुन् ।

महिला एकलतर्फ आर्मीका अमिता गिरी, रसिला महर्जन र अनु माया राईसँगै एपिएफकी जेसिका गुरुङले सेमिफाइनलमा स्थान पक्का गरिन् । अमिताले नेपाल पुलिस क्लबकी नीता लम्साललाई २१–८ र २१–१० को सोझो सेटमा हराइन् । रशिलाले फिलिट नेपालकी सीमा राजवंशीलाई २१–११ र २१–११ को सोझो सेटमा तथा जेसिकाले आफ्नै क्लबकी सुनयाना मुखियालाई २१–१५ र २१–१३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरिन् । अनु माया राईले आफ्नै क्लबकी रोज पाण्डेलाई २१–११ र २१–१२ ले हराइन् ।

शीर्ष २० देखि बाहेकका पुरुष युगलतर्फ र ४५ वर्षमाथिको भेट्रान्स युगलको पनि सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनल र फाइनल मंगलबारै हुने आयोजक रिभाइभ लिजरपार्कले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा भइरहेको छ ।

झन्डै १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपको पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ ।

प्रतियोगिताको थप तस्बिर हेर्न यहाँ थिच्नुहोस

Success

Thank you for your time.