काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेको छ। समूह ‘डी’को यस जितसँगै उज्वेकिस्तान महत्त्वपूर्ण ३ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ।
लेबनानका डिफेन्डर खलिल खामिसको तर्फबाट आत्मघाती गोल भएपछि उज्वेकिस्तानले अग्रता लिएको थियो। खेलको २०औं मिनेटमा क्रसलाई क्लियर गर्ने प्रयासमा खामिसले आफ्नै पोष्टमा गोल गरेका थिए। बोबिर अब्दिसोक्लिकोभले ३०औं र ३९औं मिनेटमा लगातार २ गोल गर्दै टोलीलाई मध्यान्तरसम्म ३-०ले अगाडी बढाए।
दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको लेबनानले एक गोल फर्काएको थियो। हुसेन जेनले गरेको पेनाल्टी प्रहार उज्बेकिस्तानका गोलरक्षक खामारेभ दिल्सोभलाई छुँदै पोष्टमा लगेर फर्किएपछि आएको रिबाउन्डमा हमाउदले गोल गरेका थिए।
यस हरसँगै लेबनान समूहको तेश्रो स्थानमा छ। खाता खोल्न बाँकी रहेपनि लेबनानको नेपालको तुलनामा गोलअन्तर राम्रो छ। नेपालले युएईसँग ५-०को हार व्येहोरेसँगै तालिकाको पुछारमा छ भने युएई शीर्षस्थानमा रहेको छ।