1 year ago
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी नदिएकोमा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सरकारको चर्को आलोचना गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मंगलवार शुन्य समयमा बोल्दै राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय बताए ।
उनले भने,’ राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो, तर मन्त्रीको ठाडो हस्तक्षेपले पार्टीका क्याडरलाई नियुक्त गर्नु कानुनको उल्लंघन र अपमान हो। ‘
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको ठाडो हस्तक्षेपमा विभागको निर्देशकमा आफ्ना क्याडेरको बढुवा गरेको श्रेष्ठले आरोप लगाए।
झन्डै २ वर्षअघि विभागको उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी थिइन् ।
तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो पदको जिम्मेवारी दिइएको थियो।

निर्देशकको पद रिक्त भएपछि उप निर्देशकहरु मध्येबाट निर्देशक बनाउने परम्परा थियो । त्यतिबेलस उप निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह छन् ।
‘यो परम्परा भन्दा फरक अभ्यास हो । उप निर्देशकबाट निर्देशक बनाउनु जति स्वभाविक हुन्थ्यो त्यो भन्दा फरक अभ्यास भएको छ । यो चित्त बुझ्दो भएन,’ वैद्यले भनेकी थिइन् , ‘यस्तोमा काम गर्ने वातावरण भएन । अपमानित पनि महसुस भयो त्यसैले उप निर्देशक पदबाट राजीनामा दिएकी हुँ ।’
तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलालाई निर्देशकको जिम्मेवारी दिइएको छैन । राखेपमा प्रसाईंको प्रवेश अघि भएपनि वैद्य पहिला अधिकृत भएकी थिइन्। यसका बाबजुद वैद्यलाई जिम्मेवारी दिइएन ।
वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी थिइन् भने २०६३ पुस २१ मा बढुवा भएकी थिइन् । २०५० असोज ८ गते ३ महिनाको करारमा सहायक प्रशिक्षक राखेपमा नियुक्त भएका प्रसाईको बढुवा भने २०६४ पुस २७ मा भएको थियो ।
ओलम्पिकमा छनोट हुने पहिलो नेपाली वैद्यले एसियन तेक्वान्दोमा स्वर्ण पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी थिइन् ।
पूर्व युवा तथा खेलकुद मन्त्री श्रेष्ठले मंगलवार संसदमा यसरी आफ्नो विचार राखेका थिए।
सम्माननीय सभामुख महोदय,
सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् संगिना वैद्य। तर राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय हो।
राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो, तर मन्त्रीको ठाडो हस्तक्षेपले पार्टीका क्याडरलाई नियुक्त गर्नु कानुनको उल्लंघन र अपमान हो।
संगिना जस्ता खेलाडीले अब खेल खेल्दा राष्ट्रको झन्डा नभई पार्टिको झन्डा बोक्नु पर्ने हो सभामुख महोदय ?
यस्तो फोहरी राजनीति खेलकुदमा बन्द गर्नैपर्छ!
खेलाडीको सम्मानमाथि खेलवाड गर्न पाइँदैन।
राष्ट्रको प्रतिनिधित्व गरेको खेलाडीको अपमान यो देशले सहन सक्दैन। अति गर्नु तर अत्याचार नगर्नु,सरकारले तत्काल जवाफ दिनुपर्छ।
नेपालको जय होस्
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]