default_image

4 months ago

August 19, 2025

एनओसीको ताला खुल्यो, तदर्थ समितिलाई जिम्मा

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुगेको छ । अहिले दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका छन् ।

धुव्र बहादुर प्रधान संयोजक रहेको तदर्थ समितिको माग बमोजिम युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा सातदोबाटो स्थित एनओसी कार्यालयमा लागेको ताला ५ महिना पछि आज खुलेको हो ।‌

तदर्थ समिति गठन भएपछि सो समितिले खेलकुद मन्त्रालयमा काम गर्नको लागि भवनको माग सहित पत्र पठाएको थियो । मन्त्री चौधरीले सो माग बमोजिम काम कार्वाही गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) मा साउन ३० गते पत्र पठाएका थिए ।

राखेपले टिप्पणी उठाएर मन्त्रालयमा पत्र पठायो । गृह मन्त्रालयले राखेपको रोहोबरमा तालाबन्दी गरेकोले खेलकुद मन्त्रालयले गृहलाई तालाबन्दी खोल्न भनेर पत्र पठाएको खेलकुद मन्त्रीको सचिवालयले हाम्रो खेलकुद डटकमलाई जानकारी गराएको छ ।‌

आज गृह मन्त्रालयको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रतिनिधि, सातदोबाटो प्रहरीका डिएसपीको कमान्डमा ललितपुर वडा नम्बर १७ का वडा अध्यक्षको उपस्थिति तथा राखेपका सदस्य कमल भट्टराईको रोहबरमा मुचुल्का उठाएर ताला खोलिएको हो ।

ताला खोलेर साँचोको जिम्मा तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीलाई दिइएको छ । मन्त्री स्तरीय निर्णय अनुसार गत चैतको पहिलो साता लगाइएको ताला आज खोलिएको र तदर्थ समितिलाई जिम्मा दिइएको सदस्य भट्टराईले बताए । भट्टराई कै नेतृत्वमा त्यति बेला ताला लगाइएको थियो ।

जीवन राम श्रेष्ठको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई मान्यता नदिने खेलकुद मन्त्रीको अडान अनुरूप तदर्थ समिति गठन भएको हो ।

तदर्थ समिति गठन भए पनि संयोजक धुव्र बहादुर प्रधान र प्रवक्ता समिमि मियाँ अन्सारी बाहेक समितिमा को को छन् भनेर अझै सार्वजनिक भएको छैन ।

Success

Thank you for your time.