2 years ago
November 12, 2023
नेपालगन्ज (हाम्रो खेलकुद) – मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान अर्को महिना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् ।

नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा वक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुने बताइएको छ ।
म्याराथनकोको एक दिन अघि मंसिर ८ गते हुने नेपालगन्ज कन्क्लेभका विविध ६ वटा सत्रमध्ये मिस नेपाल श्रृच्छाले ‘आकाश धर्ती बराबरी’ सत्रमा प्यानलिस्टका रुपमा महिला सशक्तीकरणका बारेमा आफ्ना अनुभव साझा गर्नेछिन् ।
‘पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्ने अवसर पाउँदा निकै उत्साहित छु’ उनले भनेकी छिन्–‘देशमा शान्ति होस्, समृद्धि बढोस्, एकताको सुत्रमा बाँधियोस् ।’ म्याराथनमा सहभागी हुनेका लागि फरक अनुभुति भएको उल्लेख गर्दै उनले आफू उत्साहित भएको बताएकी छिन् । नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्ससँग मिस नेपाल आयोजक द हिडेन ट्रेजरले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, अनलाइन मिडिया पार्टनर शिलापत्र, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।
त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]