default_image

6 years ago

April 19, 2020

खेलाडीले धानेको बास्केटबल

371 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

योजनासहित र नियमित प्रशिक्षण नगर्ने हो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई आउने दिनमा दोहोराउन नसकिने राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले बताएका छन् ।

स्वदेशमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा बास्केबलका सबै टोलीले पदक जितेको थियो । पहिलो पटक समावेश थ्री अन थ्रीको महिला पुरुष दुवैमा पदक जितेको बास्केटबलले पुरुषको फुल कोर्टमा कास्य पदक जितेको थियो । अझ महिला टोलीले त रजत पदक नै जितेको थियो । नेपालीको बास्केटबल इतिहासमा अहिले सम्मको ठूलो सफलता यसै पटक हो ।

तर, सफलतापछि नेपाली खेलकुदले आउने दिनमा के गर्ने प्रशिक्षण कसरी अघि बढाउने, अहिलेको प्राप्त सफलता भन्दा अझै कसरी राम्रो गर्न सकिन्छ भन्नेमा कुनै पहल नगरेको सधिशले बताए । ‘४ महिना भन्दा बढी भइसक्यो । अहिले पछिल्लो एक महिना त हामी सबै कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले लकडाउनको घोषणा गरेकोले सबै सबै जस्तो खेलकुद पनि ठप्प छ । यो कठिन परिस्थितिमा स्वभाविक हो’ , उनले भने, ‘तर त्यसअघि पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) वा नेपाल बास्केटबल संघ (नेबा) ले कुनै योजना बनाएको मैले पाइन ।’

झन्डै २ वर्षदेखि अस्वस्थ रहेका नेबाका अध्यक्ष लामा टेन्डी शेर्पाको समयमा बास्केटबलले गति लिएको र खेलाडीहरुले एक्सपोजर पाएको स्मरण गर्दै सधिशले भने, ‘त्यसपछि अहिलेको अवस्था अलि फरक भएको छ । अहिले त्यो बेलाको जस्तो समय छैन ।’

नेपालमा फुटबल र क्रिकेटको हकमा आशिंक व्यवसायिकता आएपनि अन्य खेलको हकमा भने चिन्ताजनक अवस्था रहेको पनि उनले बताए । ‘सधैं यहि अवस्थामा खेल रहन सक्दैन । खेललाई व्यावसायिक बनाउँदै नजाने हो भने भविष्यमा नयाँ खेलाडी आउने सम्भावना कम हुन्छ’, उनले जोडे, ‘भारतमा हेर्ने हो भने अमल अलग खेलका खेलाडीलाई सरकारले विभिन्न ठाँउमा रोजगारीको व्यवस्था गरेको हुन्छ । त्यसले खेल जीवन पछिका लागि पनि उसले सुरक्षित महसुस गर्छ र खेल जीवनमा केन्द्रित हुन सक्छ ।’

अहिले सम्म नेपालका खेलाडीले परिवार र व्यक्तिगत लगावका कारण खेलबाट अलग हुन नसकेको सधिशले सुनाए । ‘सागमा पनि हाम्रो साथीहरु अमेरिका र अष्ट्रेलियाबाट आफ्नो पहलमा आएर खेलेका छन्, यो अवस्था सधै रहन्छ भन्ने हुदैन यसमा सम्बन्धित निकायको ध्यान जानै पर्छ,’ उनले प्रष्ट्याए ।

राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी धिरेन्द्र प्रधानका सुपुत्र सधिशले आफ्नो घरको वातवरण र बाबुको सहयोगले मात्रै खेलमा लागि राख्न सकेको प्रष्ट पारे । आठ वर्षदेखि राष्ट्रिय टोलीको कप्तानी गरिरहेका उनले भने, ‘सबैको पारिवारिक अवस्था उस्तै हुँदैन । सबैको आर्थिक अवस्थाले साथ् दिदैन । प्रतिभावान खेलाडीलाई संरक्षण गर्न नसक्ने हो भने आउने दिनमा खेलको विकास सम्भव छैन ।’

सधिशको अनुभवमा विगतमा जस्तो बास्केबलमा चर्को प्रतिस्पर्धा र नयाँ खेलाडी आउने क्रम रोकिएको छ । ‘स्कुल वा कलेजको बास्केबल अब टोलमा सिमित भए जस्तो लाग्छ’, उनले स्मरण गरे, ‘हाम्रो समयमा निकै प्रतिस्पर्धात्मक थियो । त्यसकारण नयाँ नयाँ खेलाडी पनि त्यत्तिकै देखिन्थे ।’

विद्यालयहरुले बास्केटबल प्रशिक्षक राख्ने गरेपनि त्यो बास्केबल विकासका लागि भन्दा काम चालाउनका लागि भएको आफुले पाएको सधिशले जनाए । ‘कतिपय विद्यालयमा देखाउनका लागि मात्र बास्केबल प्रशिक्षक राखे जस्तो देखिन्छ । अझ कतिपय विद्यालयमा त एउटै प्रशिक्षकले सबै खेल खेलाइदियोस् भन्ने सोच पाइन्छ । त्यसरी खेल विकास हुन सक्दैन,’ उनले जोडे, ‘कुनै पनि खेल विकासका लागि प्रशिक्षकको अहम भूमिका हुने भएकोले त्यसतर्फ पनि राखेपको ध्यान जानुपर्छ । राम्रो प्रशिक्षक भएन भने राम्रो खेलाडी तयार पार्न सकिन्न । खेलको विकास र खेलाडी उत्पादका लागि दक्ष प्रशिक्षक चाहिन्छ ।’

१३ औं सागमा सरकारले व्यक्तिगत र समूहगत पदक विजेता खेलाडीलाई पुरस्कार राशीमा विभेद गरेको भन्दै सधिशले राखेप सदस्य सचिव रमेशकुमार सिलवालसमक्ष आलोचना गरेका थिए । सरकारले व्यक्तिगततर्फको स्वर्ण विजेताले ९ लाख, रजतलाई ६ लाख र कास्य पदक पदक विजेतालाई ३ लाख रुपैयाँ घोषणा गरेको थियो । समूहगत खेलमा भने स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्य पदकलाई २ लाख रुपैयाँ दिइएको छ ।

‘तत्कालिन घोषणाका समयमा मैले प्रारम्भिक प्रतिक्रिया दिने क्रममा आलोचना गरेको छु । त्यो अकस्मात आएकाले पनि होला म लगायत अन्य खेलाडी स्तब्ध भयौं, उनले भने, अहिलेको समयमा सायद त्यो ठिकै घोषणा हुन सक्छ । तर म अहिले पनि भन्छु यो पुरस्कार राशीमा पुर्नविचार गर्नुपर्छ । देशका लागि जित्ने व्यक्तिगत र समूहगत पदक विजेतालाई समान व्यवहार हुनुपर्दछ ।’

११ वर्षदेखि राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य रहँदै आएका सधिशले बंगलादेश गएर व्यवासयिक लिगको अनुभव पनि सम्हालेका छन् । राष्ट्रिय खेलकुदको पाँचौं, छैटौं र आठौं संस्करणमा उपविजेता टोलीको सदस्य रहेका सधिश सम्मिलित आर्मी सातौं राष्ट्रिय खेलकुदको भने च्याम्पियन बनेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने अवार्डमा उत्कृष्ट बास्केबल खेलाडीको अवार्ड जितिसकेका सधिशले १० औं सागका सर्वाधिक स्कोरर हुन् । गतवर्ष आयोजित नेपाल बास्केटबल लिग (एनबिएल) को विजेता टोलीका कप्तान समेत रहेका सधिश त्यसमा मस्ट भ्यालुयबल प्लेयर र हाइस्ट स्कोरर बनेका थिए । सधिश पछिल्लो समय एनबिएलले नै नेपालको बास्केटबल धानेको बताउँछन् ।

‘एनबिएलले हाम्रो बास्केटबलमा नयाँ आयाम ल्याएको छ । दुई महिनाको अन्तरमा १९-२० खेल खेल्न पाउनु हरेक खेलाडीको लागि राम्रो अवसर हो । लगातार दुई सिजन खेल्न पाउँदा हामीले राष्ट्रिय टोली निर्माण गर्न नै प्रत्यक्ष सहयोग पुगेको देखेका छौं । अब संघले पनि यस्तो कार्यक्रम ल्याउने हो भने बास्केटबलको भविष्य र विकास उज्ज्वल देखिन्छ,’ उनले भने । उनले उमेर समूहको विकासमा पनि संघले योजना थप्नुपर्ने औंल्याए ।

नेपालले साफ बास्केटबल च्याम्प्यियनसिपमा चार पटक कास्य पदक जित्दा पछिल्लो तीन पटक सधिशले नै टोलीको नेतृत्व गरेका थिए । खेल जीवन पछि के गर्ने भन्ने विषयमा अहिले नै धेरै नसोचेका सुदीशले यत्ति भने, ‘प्रशिक्षक वा व्यवस्थापनमा रहेर भएपनि नेपाली बास्केटबलमै काम गर्ने इच्छा छ । तर, कहिले अहिले भन्न सकिन्न ।’

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.