काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड नवयुग श्रेष्ठले लामो दुरीबाट गरेको दर्शनीय गोलसँगै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध अग्रता दोब्बर पारेको छ ।

नवयुगले ५६ औं मिनेटमा झन्डै ३५ यार्ड टाढाबाट गरेको भली सिधै गोल भएको थियो । लाओसको हाफको मध्यभागमा प्राप्त खुला बललाई नवयुगले पहिलो टचमा नै गोल गरेका थिए । गोलरक्षक सेसाभाथ सौभान्शोकले नवयुगको प्रहार ठम्याउन नसक्दा गोल भएको थियो ।
त्यसअघि नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको हो । १८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेको छैन ।