काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान आसिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध शतक बनाउन चुकेका छन् । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३६ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको छ ।

आसिफ १ सय १२ बलमा ७ चौका र १ छक्का सहित ९० रनमा बोल्ड आउट भएपछि शतक बनाउन चुकेका छन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा आसिफलाई बोल्ड आउट गरेपछि शतक बनाउन चुकेका थिए । आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।
आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदान ओमानलाई भारी परेको छ । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए । अघिल्लो खेलमा अमेरिकालाई पराजित गर्न ८४ रनको इनिङ खेलेका कुशल दोस्रो खेलमा भने चल्न सकेनन् ।
दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्रले ३३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । रोहित कुमार पौडेल ३४ बलमा २० रनमा क्याच आउट भए ।
स्पिनर नेस्टर धम्बाको बलमा विकेटकिपर विनोद भण्डारी ६ रनमा जतिन्दर सिंहबाट क्याच आउट भए । सोमपाल कामी ७ रनमा रन आउट भएका थिए । ३४ औं ओभरको अन्तिम बलमा बिलाल खानले कुशल मल्ललाई ४ रनमा बोलड आउट गरे । कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । कुशल आउट हुँदा नेपाल १४६–६ को कमजोर अवस्थामा पुगेको थियो ।
विक्रम सोबलाई बिलाल खानले दुई रनमा बोल्ड आउट गरेपछि नेपाल संकटमा पुगेको छ । क्रिजमा करण केसी र सन्दीप लामिछाने छन् ।