default_image

4 years ago

December 12, 2021

विश्वकप छनोटअघि क्यान र खेलाडी विवाद चर्कदै

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टि२० ग्लोबल छनोटको शीर्ष दुईमा रहन सके मात्र नेपालले २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्नेछ । फेब्रुअरीमा ओमानमा हुने ग्लोबल छनोटको समूह ए को तयारीमा नेपाली क्रिकेटको ध्यान हुनुपर्ने हो । तर अवस्था बिल्कुल विपरित छ ।

तीन महिनापछि हुने विश्वकप छनोटको लागि क्यानले टि२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने त परको कुरा बन्द प्रशिक्षण, वैदेशिक भ्रमण, बलिया टोलीसँग निरन्तर सिरिज लगायत कार्यबारे सोच्न समेत भ्याएको देखिदैन । यसको मुख्य कारण हो क्रिकेट खेलाडी र क्यानबीचको स्पष्टीकरणको जुहारी अनवरत रुपमा चल्नु । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि सुरु भएको विवादले अहिले ठूलो रुप लिएको छ ।

क्यानले २०२१ को ग्रेड सार्वजनिक गर्न नसकेर २०२० को ग्रेडलाई आधार मानेर सुरुवाती ६ महिना तलव दियो । बल्ल तल्ल बाँकी ६ महिनाका लागि ग्रेड टुङ्गो लागेको थियो, तर क्यानले त्यसलाई सार्वजनिक गर्ने आँट नै गर्न सकेन । ग्रेड निर्धारण गुपचुप राख्न खोजेपनि बाहिरियो । केहि खेलाडीले सार्वजनिक रुपमा नै त्यसको आलोचना गरे ।

प्रश्न सुरुमा क्यानमाथि नै उठ्छ । ग्रेड सहि र न्यायपूर्ण थियो भने सार्वजनिक किन गर्न सकिएन ? स्थिति यहाँसम्म पुग्यो कि आन्तरिक छलफलबिना कप्तानसहित चार खेलाडीले ग्रेडबारे मिडिया मै गएर बोले । त्यसैलाई कारण देखाउँदै सुरु भएको स्पष्टीकरणको माग अहिले तीन महिनासम्म प्रतिबन्ध लगाउने चर्चासम्म पुगेको छ ।

केहि समर्थकहरुले सामाजिक सञ्जालमा क्यानको चर्को विरोध र आलोचना गरेका छन् । त्यस्तै केहि समर्थक अनुशासनको विषयमा क्यान कडा हुनुपर्नेमा सहमति जनाउने पनि छन् ।

के हो खास विवाद ?

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोले । सोमपालले आफू बी मा हुँदा अन्यायपूर्ण रहेको बताए । सी मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए । ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो ।

खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । तर घटना यतिकैमा मथ्थर भएन । कप्तान ज्ञानेन्द्र मल्ल सहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधे । त्यसपछि विवाद झन बढ्दै गयो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणमा पुरानै कुरा दोहोरिएको र चित्त बुझ्दो जवाफ नआएको क्यान स्रोतले जनाएको छ । क्यानले खेलाडीले बोर्डविरुद्ध बोलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग समन्वय गरेर कारबाही गर्ने मनासयमा छ ।

बोर्डमा निर्भर कारबाही

छानविन सिफारिस समितिले कुन किसिमको कारबाही गर्ने बोर्डलाई जानकारी दिनेछ । कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको मुख्य संयोजकमा केन्द्रिय सदस्य पदम खड्का, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनित केन्द्रिय सदस्य धर्मराज गिरी, क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्ल समावेश छानविन समिति बनेको छ । समितिले कुन कारबाही गर्ने छानविनको आधारमा बोर्डलाई सिफारिस गर्नेछ । बोर्डबाट पारित गर्दै कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।

क्यानलाई बदनाम गराउन खोजेको आरोप

छनोट समितिका एक सदस्यका अनुसार क्यान खेलाडीसँग मिडियामा गएर बोलेको कारण मात्रै रुष्ट भएको होईन । असन्तुष्टि भए पहिला सिधै क्यानलाई पत्र पठाएर वा आएर छलफल गर्नुपर्ने बताए । ‘कप्तानसहित चार जना मिडियामा गए । मिडियामा गएर धेरै बोल्नै नहुने कुरा बोलेका छन् । हामीले त्यसको स्पष्टिकरण सोधेका हौं । जवाफमा उल्टै हामीले नै गम्भीर गल्ति र अवहेलना गरेको मनासयको जवाफ दिए,’ ती सदस्यले भने ।

‘खेलाडीहरुको स्पष्टीकरण मिडियामा गएर हामीले गलत गर्यौं भन्ने कुनैपनि भावना पाएनौं । खेलाडीहरुले उल्टै क्यानलाई दोष दिए । हामीले उनीहरुलाई ग्रेड बारे स्पष्ट बुझाएका पनि थियौं । संसारमा मिडियामा गएर आफ्नो संस्थाविरुद्ध बोल्न पाइदैन’, उनले भने ।

त्यसैमा उनले थपे, ‘मिडियामा गएर बोल्नु मात्र अनुशासन होईन । त्यसपछि जुन घटनाक्रम भएको छ त्यो चाहिँ ठूलो गल्ती हो । स्पष्टीकरण सोधेपछि हामी मिडियामा गयौं अबदेखि गएर बोल्दैनौं भनेको भए समस्याको समाधान हुन्थ्यो । उल्टै ७ दिनको समय दिएर ११ बुँदे धम्की पठाएका छन् । क्यानलाई बदनाम गराउने कार्य बढी भएको छ । त्यसैले कारबाही गर्न लागेका हौं ।’

राखेप पुगेपछि झनै रुष्ट क्यान

क्यान र खेलाडीहरुको विवाद जारी थियो । क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, कप्तान ज्ञानेन्द्र मल्लसहित केहि खेलाडीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका थिए । त्यसले झनै रुष्ट बनेको हो ।

‘खेलाडी नै भेट्न जानु आफैंमा गलत थियो । क्रिकेटसँग हरेक विषय राखेपमा राख्ने क्यानले हो । समूह बनाएर जान मिल्दैन । खेलाडीले जानै परेपनि क्यानसँग अनुमति लिनुपर्छ’, स्रोतले भन्यो ।

‘ग्रेडको विषयमा हाम्रो माग सान्दर्भिक’

‘ग्रेडिङको मापदण्ड वारे खेलाडीलाई थाहा थिएन । हामीले पछिल्लो वर्ष जस्तै २०२० मा खेलेको खेलाडीलाई समेट्नु पर्यो भन्ने माग राखेका थियौं । मलाई यो कुरा सान्दर्भिक हो जस्तो लाग्छ’, ज्ञानेन्द्रले हाम्रो खेलकुदसँग भने, ‘किनभने क्यानसँग बजेट छ । गर्न मिल्ने ठाउँ छ । बरु अर्को वर्षदेखि बोर्डको निर्णय अनुसार गरौंला भन्ने हाम्रो मनासय थियो ।’

११ बुँदे माग बारे ज्ञानेन्द्रले भने, ‘वर्गिकरण के हो ? खेलाडीहरुलाई बुझाउन पर्यो । त्यसमा वीमा देखि भत्ता सम्मका कुरा थिए । खेलाडी कुनैपनि मारमा नपरुन् । आइसिसीबाट आउने पैसामा एक दुई जना खेलाडीलाई किन मार्ने भन्ने हो । एक दुई जना खेलाडी तलमाथि हुन पर्ने हो ।’

अबको बाटो के ?

क्यानले खेलाडीमाथि अनुशासन उलंघन गरेको आरोप लगाएको छ । कुन किसिमको कारबाही गर्ने एक दुई दिनमा बस्ने बोर्ड बैठकले निर्धारण गर्नेछ । पछिल्लो समय क्यान र खेलाडीबीच जुन विवाद उत्पन्न भएको त्यसको पछाडी अन्य व्यक्तिको हात रहेको पनि बताइन्छ । क्रिकेटलाई देखाएर निजि स्वार्थ पूर्ति गर्ने पक्ष नेपाली क्रिकेटमा नयाँ होइन ।

त्यसैपनि नेपाली क्रिकेट गुटउपगुटले भित्रभित्र ध्वस्त नै भएको छ । यस्तो गुट नै नेपाली क्रिकेटको ठूलो समस्या हो । नेपाली क्रिकेटमा लागेको आगो निभाउन भन्दा रमिता हेर्ने बढी हुँदा समस्या झन् नराम्रोसँग बिग्रदै छ ।

क्रिकेट आफैंमा भलादमीको खेल हो । अनुशासन भन्दा माथि खेलाडी पक्कै हुन सक्दैन । खेलाडीहरुको लागि क्यान घर हो । घरमा केहि असन्तुष्टि र असहमति हुनसक्छन् । त्यसलाई घरमै मिलेर समाधान गर्नु वुद्धिमानी विकल्प हो । खेलाडीले क्यानको बारे बोल्न नपाउने र मिडियामा जानै नपाउने भन्ने हुँदैन । तर कुन कुरामा बोलेको छ र कसरि भएको छ त्यसमा दुवै पक्षले अध्ययन गर्नुपर्छ। क्यानविरुद्ध बोलेकै भरमा कारबाही गर्नु भने न्यापपूर्ण होईन ।

गल्ती भएमा जुनसुकै स्तरको खेलाडीलाई सजाय दिन क्यानले खुट्टा कमाउनु हुँदैन । क्यान अध्यक्ष चन्दले यसअघि नै अनुशासनमा सम्झौता गर्न नसकिने बताएका छन् । क्यानले पहिला आफ्नो कार्यमा गम्भीर भएर समिक्षा गर्नुपर्छ । आफ्ना गल्ती र कमजोरी सुधार गर्नुपर्छ । क्यानको दुई वर्षको कार्य प्रशंसा भन्दा आलोचना बढी छन् ।

हरेक काममा सुस्तता र झारा टार्ने प्रवृत्ति क्यान विवादको मुख्य कारण हुन् । विवाद समाधान हुनुभन्दा थपिंदै गएका देखिन्छन् । खेलाडीको भविष्यमाथि खेलवाड गर्ने क्यानलाई कारबाही गर्ने को त ? क्यानले काम गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको छ । जुन रुपमा काम हुनुपर्ने हो त्यो देखिंदैन पनि । क्यान आफैं पनि सुध्रिन आवश्यक देखिन्छ ।

अहिले जुन विवाद उत्पन्न भएको छ त्यो ठूलो होईन । क्यानले यस विवादमा छिटो निचोड निकाल्नु पर्छ । जति ढिला गर्यो, यसले अनेक आरोह अवरोह निम्त्याउँछ ।

विश्वकप छनोटको मुखमा यस्ता कुरामा अल्झिनु मुर्खता हो । अर्को साता मुख्य प्रशिक्षक पुबुदु दसानायके नेपाल आईपुग्नेछन् । पुबुदु आएसँगै तीव्र रुपमा ग्लोबल तयारीमा जुट्नुपर्छ । पुबुदुले नेपाली क्रिकेट पुन एकता कायम राख्ने अपेक्षा गरिएको छ । तर यस्तै विवादमै अल्झिएर बसेमा नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

यो पनि : पुबुदुलाई मुख्य प्रशिक्षकमा ल्याउनुको पाँच कारण

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.