4 years ago
December 22, 2021
वेस्टइन्डिजमा हुने आइसिसी यू–१९ विश्वकप २०२२ मा एसोसियट टोलीबाट नेपाल प्रमुख दाबेदार थियो । यू-१९ विश्वकपमा नेपालको इतिहास नै उत्कृष्ट छ । बलिया टेस्ट टोलीलाई हराउँदै प्लेट च्याम्पियन सम्मको उपाधि जितेको छ । तर कोरोना महामारीको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ एसिया छनोट २०२१ नै रद्ध गरेपछि नेपाली यू–१९ टोलीको विश्वकप सपना चकनाचुर बन्यो ।

आइसिसीले पछिल्लो पाँच विश्वकप छनोटको प्रदर्शनलाई आधार मान्दा एसिया क्षेत्रबाट नेपाल भन्दा कमजोर युएईले विश्वकपमा स्थान बनाएको थियो । पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा युवा क्रिकेटरले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाल यू–१९ विश्वकपमा यस पटक सेमिफाइनल पुग्न सक्ने सम्भावना बोकेको टोली थियो । आइसिसीको कमजोरीको कारण नेपालको सम्भावना मै सिमित रह्यो । विश्वकप अवसर गुमेको चार महिनापछि नेपालले यू-१९ एसिया कप खेल्दैछ ।
यू-१९ विश्वकपपछि यू-१९ एसिया कपनै सर्वाधिक ठूलो प्रतियोगिता हो । यूएईमा हुने यू-१९ एसिया कपमा नेपालको समूहमा बंगलादेश, श्रीलंका र कुवेत छन् । कुवेत तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टोली हो । त्यसैले नेपालको लक्ष्य यू-१९ एसिया कपमा बंगलादेश र श्रीलंकालाई हराउँदै सेमिफाइनल हुनेछ ।
समूह बी मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । सेमिफाइनलमा पुग्न सके नेपालले भारत र पाकिस्तान जस्ता देशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनु विश्वकप भन्दा कम होईन । तर विश्वकप र एसिया कपको महत्व भने आकाश पातलकै फरक रहन्छ ।
यू-१९ विश्वकपमा एसिया क्षेत्रका टोली हाबी हुँदै आएका छन् । २०२० को सेमिफाइनलमा पुग्ने चार मध्य तीन दक्षिण एसियाका भारत, पाकिस्तान र बंगलादेश थिए । भारतसँग खेल्न पाउनु नेपाली क्रिकेटलाई कुनै सामान्य कुरा होईन । २०१७ मा नेपाली यू-१९ टोलीले भारतलाई हराउँदै विश्व क्रिकेटमै सनसनी मच्चाएको थियो ।
बंगलादेश २०२० को यु१९ विश्वकप टोली हो । भारतले चार र पाकिस्तानले दुई पटक यू१९ विश्वकपको उपाधि जितेका छन् । यू-१९ विश्वकप जनवरी १५ देखि ५ फेब्रुअरी सम्म वेस्टइन्डिजमा चल्नेछ । विश्वकप तयारीलाई नै एसिया कप हुन लागेको हो ।

यू-१९ एसिया कप खेल्ने टोलीलाई नै विश्वकपमा निरन्तरता दिएका छन् । नेपालले शुक्रबार बंगलादेशसँग खेल्दै सुरुवात गर्नेछ । आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्ने हुनेछ । विश्वकप खेल्न नपाएको इख र आक्रोश एसिया कपमा पोख्न चाहन्छ । प्रतिभा देखाउने यू१९ एसिया कप सर्वोत्कृष्ट माध्यम पनि हो । नेपाल टेस्ट टोलीलाई हराउँदै आइसिसीलाई आफू विश्वकप खेल्ने भन्दा कम टोली नभएको जवाफ दिन चाहन्छ । नेपालको लागि यस पटकको यू१९ एसिया कप विश्वकप सरह हुनेछ ।
उत्कृष्ट ब्याटिङले उच्च मनोबल
ब्याटिङ सिनियर, उमेर समूह र महिला क्रिकेट सबैमा कमजोर मानिन्छ । तर यू–१९ टोलीले यस पटक त्यसलाई गलत सावित गराउन खोज्नेछ । घरेलु क्रिकेटको प्रदर्शन हेर्ने हो भने नेपाली यू१९ टोलीको खुबीनै ब्याटिङ देखिन्छ । ब्याटिङमा युवा खेलाडीले परिपक्क र उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्री कप सिनियर एकदिवसिय प्रतियोगिता, वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र दुई अभ्यास खेलमा ब्याटिङ उत्कृष्ट थियो ।

लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन कप्तान देव खनालले ६ खेल मध्य ४ मा अर्धशतक प्रहार गरेका थिए । अर्जुन कुमालले प्रधानमन्त्री कप र यू१९ राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अभ्यास खेलमा नेपाली घरेलु क्रिकेटको बलियो टोली पुलिसलाई ७ विकेटले हराउन अर्जुनले ९३ रनको सानदार ब्याटिङ गरेका थिए ।
सन्तोष कार्कीले नेपाल एपिएफ क्लबविरुद्ध १ सय ५३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै ब्याटिङमा झन् बढी आशा देखाए । सन्तोषले यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध १ सय ११ र लुम्बिनीविरुद्ध ८२ रनको इनिङ खेलेका थिए ।
अलराउन्डर विवेक यादव घरेलु क्रिकेटका चर्चित नाम हुन् । विवेकले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । त्यस्तै विकेटकिपर अर्जुन साउद अर्का आशालाग्दा क्रिकेटर हुन् । उनले पिएमकप र यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

प्रदेश २ विरुद्ध अर्जुन साउदले १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । देव खनाल, अर्जुन साउद, अर्जुन कुमाल, सन्तोष कार्की प्रमुख ब्याटर हुन् । शेर मल्ल, आदिल अन्सारी, विवेक यादव, बशिर अहमद जस्ता अलराउन्डर टोलीमा हुँदा ब्याटिङ झनै बलियो बनेको छ । गुलशन झा र दीपेश कंडेल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । गुलशन नेपाली सिनियर टोलीबाट खेलि सकेका खेलाडी हुन् ।
सिनियर टोलीको ढोका खोल्ने राम्रो अवसर

देव ओडिआई क्रिकेटमा सिनियर टिमका प्रमुख दाबेदार खेलाडी हुन् । उनले घरेलु क्रिकेटमा जुन शैलीमा ब्याटिङ गर्दै आएका छन् त्यसले चाँडैनै राष्ट्रिय टोलीमा उनको स्थान देखिन्छ । थुप्रै युवा खेलाडीहरुले सिनियर टोलीको ढोका ढकढकाई रहेका छन् । नेपालले आगमी फेब्रुअरीमा टि२० विश्वकप छनोट र आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । त्यसैले यू१९ एसिया कपको प्रदर्शन राष्ट्रिय टोलीलाई पनि निर्णायक बन्नसक्छ ।
अर्जुन साउद, विवेक यादव, सन्तोष कार्की र दुर्गेश गुप्ता लगायतका खेलाडीले यू१९ एसिया कपमा उच्च प्रदर्शन गर्न सके टि२० ग्लोबल छनोटको लागि बन्द प्रशिक्षणमा स्थान बनाउन सहज हुनसक्छ । त्यस्तै देव खनाल र अर्जुन कुमालको ध्यान ओडिआईमा हुनसक्छ ।
सबै युवा खेलाडीलाई सिनियर टोलीमा स्थान बनाउने एउटा राम्रो अवसर छ । जुन अवसरलाई चुक्न दिनु हुँदैन । यू१९ एसिया कप लगत्तै सिनियर टोलीको प्रतियोगिता मुखमै हुँदा युवा खेलाडीको लागि यस प्रतियोगिता करिअर कै निर्णायक बन्नसक्छ ।
कम अनुभव तर उच्च मनोबल

एसिया कप खेल्न गएको नेपाली टोलीमा यसअघि यू–१९ खेलेका शेर मल्ल, विवेक यादव र तिलकराज भण्डारी मात्र हुन् । अन्य सबैले यू१९ टोलीमा डेब्यू गर्दैछन् । युवा टोली नयाँ उत्साह, आशा, जोश र जागरका साथ युएई पुगेको छ । प्रधानमन्त्री कप, एभरेष्ट प्रिमियर लिग, यू१९ राष्ट्रिय प्रतियोगिता र विभागी टोली नेपाल पुलिस क्लब र एपिएफसँगको दुई अभ्यास खेलले टोलीको मनोबल निकै उच्च छ ।
कप्तान देव खनालले नेपालको लक्ष्य फाइनल जनाएका छन् । कागजी रुपमा प्रदर्शन गर्ने हो कप्तानको भनाईमा कुनै आश्चर्य मान्नु प्रर्दैन । पछिल्लो समयको प्रदर्शनले युवा टोलीको मनोबल उच्च छ । यस पटक नेपाली यू१९ टोलीले नसोचेको सफलता हात पार्नसक्छन् ।
दुई वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता
कोरोना महामारीले उमेर समूह सबैभन्दा बढी मारमा पर्यो । नेपाली यू१९ टोलीले दुई वर्षपछि पहिलो पटक यू१९ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । पछिल्लो पटक यू–१९ टोलीले २०१९ को नोभेम्बरमा भारतमा भएको यू–१९ वानडे च्यालेन्जर ट्रफी खेलेको थियो । कोरोना महामारीको कारण यू१९ अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन । उक्त प्रतियोगिता खेलेका शेर मल्ल, विवेक यादव र तिलकराज भण्डारी अहिले टोलीमा छन् ।

फाइनल लक्ष्य
कप्तान देवले नेपालको लक्ष्य फाइनल बताएका छन् । तर नेपाल हालसम्म यू१९ एसिया कपमा फाइनलमा पुग्न सकेको छैन । सेमिफाइनलमा रोकिँदै आएको छ । फाइनल असम्भव भने होईन । नाम अनुसार प्रदर्शन गर्न सक्ने वा नसक्ने त्यसमा निर्भर रहनेछ । घरेलु क्रिकेटमा हाबी बन्दै आएका युवा खेलाडीको असली परिक्षा टेस्ट टोली बंगलादेश र श्रीलंकाविरुद्ध हुनेछ ।
नेपाली यूः१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उप(कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : वसन्त शाही ठकुरी
नेपालको खेल तालिका
पुष ९ : (२४ डिसेम्बर) – बंगलादेश
पुष ११ (२६ डिसेम्बर) – श्रीलंका
पुष १३ ( २८ डिसेम्बर) – कुवेत
पुष १५ (३० डिसेम्ब), सेमिफाइनल– दुबै समूहका शीर्ष दुई दुई टोली
पुष १६ (३१ डिसेम्बर), फाइनल– सेमिफाइनल विजेता
‘टेस्ट टोलीलाई आश्चर्यचकित पार्ने लक्ष्य छ’ – प्रशिक्षक शाही
‘यू–१९ एसिया कपमा नेपालको लक्ष्य फाइनल’ – कप्तान देव
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]