4 years ago
March 15, 2022
सुबास हुमागाईं, काठमाडौं
वृत्य अरविन्द भर्खर १९ वर्षका भए । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छोटो समयमा नै उनी विपक्षी टोलीका लागि तगारोको भूमिकामा स्थापित भइसकेका छन् । शीर्षक्रममा निडर ब्याटिङ गर्ने विकेटकिपर वृत्यले नेपालमा त खलनायककै पहिचान बनाएका छन् ।

वृत्यकै उत्कृष्ट प्रदर्शनमा गत महिना ओमानमा भएको टी-२० विश्वकप छनोटसहित नेपाल तीन वटा विश्वकप खेल्नबाट बन्चित भइसकेको छ । उनी आईसीसी विश्व टी-२० छनोटमा यूएईको ब्याटिङ अर्डरमा मुख्य खेलाडी थिए । वृत्यले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जिते ।
प्रतियोगिता सुरु हुनुअघि वृत्य टोलीमा रहेपनि धेरै रन बनाउन नसक्दा दबाबमा थिए । तर उनलाई आफू र टोलीले गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेमा विश्वस्त थिए । ‘हामीले विगत ६ महिनादेखि राम्रो तयारी गरेका थियौं र यो लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गरेका थियौं । दुई वर्षदेखि टोलीमा भएपनि अहिलेसम्म ठूलो स्कोर नजोडेका कारण दबाबमा थिएँ । मलाई ठूलो स्कोर आवश्यक थियो । १/२ राम्रो इनिङपछि आत्मविश्वास बढ्छ, र मलाई लाग्छ कि त्यस्तै भयो । आयरल्यान्ड विरुद्धको ठूलो स्कोरपछि म अगाडि बढें,’ उनले छनोटको बारेमा भने ।
वृत्यले प्रतियोगिताको दाबेदार मानिएको आयरल्याण्डविरुद्ध ९७*(६७) को उत्कृष्ट इनिङ खेले । त्यसपछि दोस्रो खेलमा जर्मनीविरुद्ध ४० (२९) रन बनाए । त्यसपछि वृत्यले बहराइनविरुद्ध ८४ (५२) रन बनाए । बहराइनविरुद्ध खेलको तथ्यांक हेर्दा यूएई २ रनले पराजित भएको थियो । तर खेलको एक अवस्थामा यूएई प्रतियोगिताबाट बाहिरिने संघारमा थियो । वृत्यको विष्फोटक ब्याटिङको मदतले यूएई जेनतेन सेमिफाइनलमा स्थान बनाउन सफल रहयो ।

वृत्यले बहराइनविरुद्ध खेलेको अन्तिम ९ बलमा ३७ रन बनाए । उनले अन्तिम ओभरमा एक्लै २४ रन बनाए र युएईलाई रन रेटमा माथि राख्दै समूहको दोस्रो स्थानमा ल्याए । यो नतिजाले यूएई समूहमा आयरल्यान्डभन्दा पछि पर्दै दोस्रो स्थानमा रह्यो । यसको मतलब यूएईले सेमिफाइनलमा नेपालसँग सामना गर्नुपर्ने भयो, जुन विश्वकपको स्थानको निर्णायक खेलको रुपमा पनि थियो ।
बहराइनविरुद्धको खेल युएईका लागि प्रतियोगितामा सबैभन्दा महत्त्वपूर्ण खेलमध्येको एक भएको वृत्यको भनाइ छ। ‘मलाई लाग्छ त्यो मैले खेलेको सबैभन्दा महत्त्वपूर्ण खेल थियो । किनभने हामी छनोटबाट पनि बाहिरिने अवस्था थियो,’ उनले भने ।
‘इमान्दारीपूर्वक भन्नुपर्दा, यो प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । हामीलाई छनोट हुन अन्तिम ओभरमा १२ रन र जित्न २७ रन आवश्यक थियो । त्यो चरणमा म जितबारे सोचिरहेको थिइनँ । पहिले हामीलाई सेमिफाइनलमा छनोट हुन आवश्यक थियो । छनोट पक्का भएपछि मैले थप दुई छक्का प्रहार गरें । त्यसपछि जित्ने प्रयास गर्यौं, तर अन्त्यमा दुई रनले हार्न पुग्यौं,’ उनले थपे ।

आफ्नो उत्कृष्ट इनिङका साथ यूएईलाई सेमिफाइनल पुर्याउनका बाबजुद वृत्य पेभेलियन फर्कने क्रममा निराश थिए । जब उनका टोलीका सहकर्मी प्रशंसा गरिरहेका थिए, वृत्य जित हासिल गर्न नपुगेकोमा दुःखी थिए । म्याच जित्नेबारे के सोच थियो भन्ने प्रश्नमा वृत्यले जवाफ दिए, ‘मलाई लाग्छ, जित्न सक्थ्यौं । मलाई आफुमा विश्वास थियो । मलाई मेरो टिममा विश्वास थियो । किनभने हामी धेरै तलसम्म ब्याटिङ गर्छौं । हारे पनि हामीले २ रनले हार्यौं र त्यो अवस्थाबाट चरणबाट दुई रनले हार्दा मलाई कुनै दुख छैन । किनभने हामीलाई छनोट हुनु थियो । त्यो हाम्रो मुख्य लक्ष्य थियो । ‘
नेपालविरुद्ध सेमिफाइनलमा युएईको सुरुवात खराब रह्यो । दोस्रो ओभरमा मात्र ६ रन छँदा चिराग सुरी आउट भएपछि वृत्य क्रिजमा आए । उनले अघिल्लो दिन बहराइनविरुद्ध खेलेकै लयलाई निरन्तरता दिए । चौथो ओभरमा जितेन्द्र मुखियाको ओभरमा वृत्यले १८ रन बनाए । त्यसपछि उनले अर्को दुवै ओभरमा १-१ चौका र छक्का जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले आठौं ओभरमा वृत्यलाई आउट गरेपनि उनीबाट ठूलो क्षति भइसकेको थियो । उनले २३ बलमा ४६ रन जोड्दै ठूलो स्कोरका लागि बलियो आधार बनाए ।

वृत्यले नेपालविरुद्ध रन बनाउन चाहेको र धेरै समय पनि खेर फाल्न नहुने बुझेका थिए । उनले नेपालविरुद्धको रणनीतिको व्याख्या गर्दै भने, ‘नेपालविरुद्धको इनिङ्स निकै महत्त्वपूर्ण थियो किनभने मैले आधार खडा गर्नु थियो। म लयमा रहेको ब्याट्सम्यान हुँ । हामीले सुरुवातमै विकेट गुमायौं र म माथि जिम्मेवारी थियो । त्यसैले म सस्तोमा फर्कन चाहन्नथें । त्यो दिन सबै ठिक भयो। त्यसैले यो त राम्रो दिनको कुरा हो,’ वृत्यले मुस्कुराउँदै भने ।
अहमद रजाले दोस्रो इनिङ्समा ५ विकेट लिएर म्यान अफ द म्याचको अवार्ड पाए। तर, वृत्यले सुरुमै क्षति पुर्याएर खेल नेपालबाट खोसे । फाइनलमा वृत्यले रन थप्न सकेनन्, तर टोलीले मुख्य लक्ष्य हासिल गर्यो । युएईले दुई साताको अन्तरमा तेस्रो पटक आयरल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्यो ।

वृत्यले नेपाललाई विश्वकपमा स्थानबाट बन्चित गरेको यो पहिलो पटक भने होइन । सन् २०१९ मा युएईको यू–१९ ले वर्षा बाधक बनेको खेलमा नेपाललाई डी/एल पद्दतिबाट मात्र १ रनले हराउँदा उनी तगारो बनेका थिए । राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा नेपालको एक मात्र हार त्यहि थियो । उक्त छनोटमा यूएई अपराजित रहँदै विश्वकपमा छनोट भएको थियो । कोभिड-१९ का कारण सन् २०२१ को छनोट खेलहरू रद्द भएपछि युएईलाई यू-१९ विश्वकप खेल्ने अर्को मौका दिइयो । नेपालले छनोट नै खेल्न पाएन ।
नेपाल विरुद्धको त्यो खेल वृत्यलाई अझै याद छ । मलेसियाको किनरारा ओभलमा समर्थकको ठूलो भिडको साथमा नेपाल उत्कृष्ट स्थितिमा थियो । वृत्य उक्त खेलमा अंश टन्डनसँगको साझेदारी निर्णायक साबित भएको महसुस गर्छन् ।
‘हो, मलाई त्यो खेल स्पष्ट रूपमा याद छ । इमानदारीपूर्वक भन्नुपर्दा, त्यो सायद मैले खेलेको उत्कृष्ट खेलहरूमध्य एक हो । मलाई लाग्छ, हामीले २ सय ५० आसपासको लक्ष्य पछ्याउँदै थियौं । म ब्याटिङमा जाँदा २१-२ को स्थिति थियो । म ब्याटिङमा जाँदा पानी पर्ने हो कि होइन थाहा थिएन ।’
‘नेपालको फ्यान धेरै थिए । मलेसियामा खेल भएपनि हामी नेपालमा खेल्दैछौं जस्तो लाग्यो । नेपाली समर्थकहरु पूरा समय चिच्याइरहेका थिए । हामीले बाउन्ड्री प्रहार गर्दा भने माहोल शान्त हुन्थ्यो । त्यसको दबाब पनि थियो । नेपालको फिल्डिङ पनि राम्रो थियो ।’
‘त्यसैले हामीले समय बिताउनु आवश्यक थियो । मैले अंशसँग पनि यही कुरा गरेको थिएँ । हाम्रो राम्रो साझेदारी थियो । हामीले त्यहाँ धेरै समय बितायौं र त्यो दिन मलाई लाग्छ नेपाल उत्कृष्ट लयमा थियो । मलाई लाग्छ कि साझेदारी महत्त्वपूर्ण थियो र वर्षाले पनि भूमिका खेलेको थियो। अन्त्यमा हामी छनोट भयौं । ‘
‘मलाई लाग्छ हामी वर्षाअघिको २ बलमा १५ रनले अघि थियौं । अंश अन्तिम बलमा आउट भए र खेल त्यो अवस्थामा पुग्यो । तर तपाईंलाई यसले राम्रो महसुस गराउँछ भने, वर्षा हुनुअघि हामी १५ रनले अगाडि थियौं ।’
वृत्य नेपाललाई एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो टोली मान्छन् । ‘मलाई लाग्छ नेपाल सधैं बलियो टोली मध्येको एक हो। तपाइँलाई थाहा छ जब हामी कुनै प्रतियोगिता खेल्छौं, हामी नेपाल कुन समूहमा छ भनेर हेर्छौं । नेपाल बलियो टोली मध्ये एक हो । उनीहरु कडा परिश्रम गर्छन् र उनीहरुको दिन आउनेमा म विश्वस्त छु,’ उनले थपे।
वृत्यको परिवार पनि खेललाई लिएर सहयोगी भएकाले उनको निरन्तर प्रगति भएको छ । उनीहरूले वृत्यको खेल हेर्ने अवसर बिरलै गुमाउँछन्। ओमानमा, उनकी आमा प्रतियोगिताभर दर्शकको क्षेत्रमा थिइन् । फाइनलअघि बिदा नपाएर उनका बुवाले रातभर ६ घण्टा गाडी चलाएर ओमान आइपुगे । फाइनलमा वृत्यले रन बनाएनन्, तर सर्वोत्कृष्ट खेलाडी अवार्ड लिँदा उनका बुबा आफ्नो मोबाइलले छोराको भिडियो लिँदै थिए ।

आफ्नो यात्राको मेरुदण्ड आफ्नो परिवारको सहयोग रहेको वृत्यलाई लाग्छ। ‘मलाई लाग्छ मेरो परिवारले मलाई पहिलो दिनदेखि नै साथ दिनुभएको छ। उहाँहरूले मलाई सधैं साथ दिनुभयो । उहाँहरु मलाई मैदानमा लानुहुन्छ । सधैं खेलको बारेमा कुरा गर्नुहुन्छ । विशेषगरी मेरो बुबा र आमा।’
‘आज मेरो बुबा यहाँ हुनुहुन्छ भन्ने पनि थाहा थिएन । हिजो बिदा पाउन नसक्दा फाइनल हेर्न ६ घण्टा गाडी चलाएर आउनुभएछ । त्यसैले तपाईले भन्न सक्नुहुन्छ, उहाँहरु धेरै सहयोगी हुनुहुन्छ,’ वृत्यले फाइनलपछि भने।

वृत्य पछिल्लो समय यूएईको सफलताको श्रेय ड्रेसिङ रुममा सिनियर र जुनियरको तालमेलका कारण सफल भएको मान्छन् । ‘टोलीको मनोबल उच्च छ । ड्रेसिङ रुममा सबैजना राम्रो छन् । जुनियरहरूलाई समर्थन गर्ने सिनियर खेलाडीहरू छन्, तपाईंलाई थाहा नै छ। विशेष गरी अहमद, जहुर र रोहन अविश्वसनीय थिए,’ उनले थपे।
वृत्य आबुधाबी टि१० लिगमा पुणे डेभिल्सको टोलीमा थिए । यो प्रतियोगिताले यूएई क्रिकेटलाई ठूलो मञ्चमा खेल्ने आत्मविश्वास जगाउन मद्दत गरेको उनको विश्वास छ । ‘पक्कै पनि यस्ता प्रतियोगिताले हामीलाई सहयोग गरेको छ। हामीले पूर्ण सदस्य राष्ट्रका खेलाडीहरूसँग खेल्न पाउँछौं । यसले हामीलाई आत्मविश्वास दिन्छ । यस प्रतियोगिताको प्रदर्शनमा पनि त्यो देख्न सकिन्छ,’ उनले अन्त्य गरे।

शनिबार नामिबियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वृत्यले आफ्नो पहिलो शतक प्रहार गरे । उनी फेब्रुअरी महिनाका लागि आईसीसीको उत्कृष्ट खेलाडी अवार्डमा मनोनित पनि भएका थिए । भारतका श्रेयस ऐरले वृत्य र नेपालका दीपेन्द्रसिंह ऐरीलाई पछि पार्दै अवार्ड जिते । यूएई विश्वकपका लागि छनोट भएपछि वृत्यमाथि विश्वव्यापी नजर रहनेछ । जसरी उनी खेलिरहेका छन्, वृत्यलाई खलनायकको सूचीमा राख्ने नेपालजस्ता अन्य धेरै टोली हुनेछन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]