default_image

4 years ago

March 26, 2022

बलिङ नचल्दा नेपाल पपुवा न्युगिनीसँग पराजित

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङ नचल्दा नेपाल पपुवा न्युगिनीले दोस्रो ओडिआई खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ ।

२ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पपुवा न्युगिनीको जितमा लेगा सियाकाले १ सय २ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए । सियाका ओडिआईमा दोस्रो शतक प्रहार गर्न १० रनले चुके ।

स्पिनर पवन सरार्फको ३३ औं ओभरको चौथो बलमा सियाका बोल्ड आउट भएका थिए । राइली हेकुरेले ४५ बलमा ३ चौका र २ छक्कासहित ४८ रनमा अविजित रहँदै जित दिलाए । चाद सोपरले पवन सरार्फलाई विजयी छक्का प्रहार गरेका थिए । सोपर १२ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

चौथो विकेटका लागि सेसे बाउ र लेगा सियाकाले १ सय १० रनको कीर्तिमानी शतकीय साझेदारी गर्दै पपुवा न्यगिनीलाई जितको आधार तय गरेका थिए । पपुवा न्युगिनीबाट सियाका र बाउ ओडिआईमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । नेपाललाई तीव्र गतिका सोमपाल कामीले दोस्रो ओभरमै लगातार दुई विकेटका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दोस्रो बलमा ओपनर टोनी उरा कुशल भुर्तेलबाट मिडअनमा ९ रनमा क्याच भए । लगत्तै अर्को बलमा असाद भाला आरिफ शेखबाट शून्यमा क्याच भए । तेस्रो विकेटका चाल्र्स अमिनी लेगा सियाकाले ६९ रनको साझेदारी गर्दै इनिङ उकासे । १३ औं ओभरको पहिलो बलमा सन्दीपले अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो ओडिआई करिअरको ५० औं विकेट पूरा गरे । उनी नेपालबाट ओडिआईमा ५० विकेट लिने पहिलो बलर हुन् । २२ खेलमा ५० विकेट लिने विश्वकै दोस्रो ओडिआई बलर बने ।

सेसे बाउलाई पवनले ३८ रनमा एलबीडब्लू आउट गरे । उनले ६९ बलमा २ चौका प्रहार गरे । हिरी हिरी १३ र नर्मन भानुवा ११ रनमा आउट भए । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फले ८.४ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । दीपेन्द्रले १ सय ३६ बलमा ६ चौकासहित आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए ।

युवा ब्याटर देव खनाल ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । करिअरको दोस्रो अन्तर्राष्ट्रिय खेल खेलेका देवले ७२ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

देवले २४ औं ओभरको अन्तिम बलमा नर्मन भानुआलाई डिप मिडविकेटमा सानदार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । देव स्पिनर चाल्र्स अमिनीको बलमा बलमा एलबीडब्लू आउट भए । दुबै ओपनर ५ रनमा गुमाएको अवस्थामा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले मजबुत ब्याटिङ गरेको थियो ।

जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो । नेपालबाट यसअघि पाँचौं विकेटकालागि शुक्रबार पपुवा न्युगिनीविरुद्ध आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको उच्च शतकीय साझेदारी गरेका थिए ।

ओपनर कुशल भुर्तेल रोयल डक आउट (इनिङको पहिलो बलमै आउट ) भए । तीव्र गतिका एलि नाओको पहिलो ओभरको पहिलो बाउन्सर बलमा कुशल सट लेगमा लेगा सियाकाबाट क्याच आउट भए । नाओको नै तेस्रो ओभरको पहिलो बलमा विकेटकिपर अनिल शाह १ रनमा विकेटकिपर सिमोन अतिबाट क्याच भए ।

चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ५८ रनको साझेदारी गरे । रोहित ४० औं ओभरमा ठूलो सट खेल्ने धुनमा मिस हुँदा ३५ रनमा बोल्ड आउट भए । रोहितले ३६ बलमा ३ चौका प्रहार गरे । भीम सार्की १९ बलमा १ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

आरिफ शेख ४ र पवन सरार्फ शून्यमा आउट भए । सन्दीप लामिछाने ९ बलमा २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । सोमपाल कामी ३ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका एली नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । नर्मन भानुवाले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले १–१ विकेट लिए । दुई ओडिआई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ६ रनले पराजित भएको थियो । अव नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टि२० आई सिरिज हुनेछ । नेपालले सोमबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.