default_image

2 years ago

April 6, 2022

नेपालका ‘३डी’ क्रिकेटर दीपेन्द्र

137 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटका वर्तमान समयका प्रमुख खेलाडी हुन् । दीपेन्द्रको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले सोमबार घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० सिरिज उपाधि जित्न सफल भयो । नेपाललाई उपाधि जिताउन नायक बनेका दीपेन्द्र सिरिजकै सर्वोत्कृष्ट खेलाडी बने ।

दीपेन्द्र नेपाली क्रिकेट टोलीका भरपर्दा र म्याच विनर खेलाडी बनिसकेका छन् । उनी आधुनिक क्रिकेटका ‘३डी’ अर्थात तीनै डाइमेन्सन (पक्ष) मा अब्बल क्रिकेटर हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शन अब्बल छ । दीपेन्द्रले एक हप्ताको अन्तरमा ओडिआई र टि२० आई दुवैमा आफ्नो करिअरको पहिलो शतक प्रहार गरे । नेपाललाई उपाधि जिताउन नायक बनेका दीपेन्द्र सिरिजकै सर्वोत्कृष्ट खेलाडी बने ।

दीपेन्द्रको ब्याटिङ मात्र होईन बलिङ र फिल्डिङसहित तीनै क्षेत्रमा प्रदर्शन उत्कृष्ट छ । फाइनलमा पीएनजीलाई ५० रनले हराउन दीपेन्द्रले ३८ बलमा ५ चौकासहित ५४ रनमा अविजित अर्धशतकीय इनिङ खेल्नुको साथै ४ विकेट लिएका थिए । दीपेन्द्रको अर्धशतकमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । टियुको ब्याटिङ सहयोगी पिच र अघिल्ला खेलको नतिजा हेर्दा योगफल सुरक्षित भने मानिएको थिएन ।

तर दीपेन्द्रले त्यो योगफल उपाधिको लागि पर्याप्त सावित गरे । पीएनजीका प्रमुख चार ब्याटर कप्तान असाद भाला ८, चार्ल्स अमिनी १५, टोनी उरा शून्य र चाद सोपरलाई १ रनमा आउट गर्दै जित पक्का गराए । दीपेन्द्र च्याम्पियनका नायक मात्र थिएनन् टियु खेल हेर्न पुगेका हजारौं समर्थकका खुसीका किरण थिए । समर्थकलाई हारबाट निराश हुँदै फर्किनबाट जोगाए ।

दीपेन्द्र ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रनका साथ शीर्ष स्थानमा रहँदा ७ विकेट लिए । मलेसियाविरुद्ध दोस्रो खेलमा ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेल्दै दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बने ।

फाइनलमा दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली पनि बने । दीपेन्द्रले ३९ खेलमा ३४ इनिङमा यस सफलता हात पारेका हुन् । दीपेन्द्र ओडिआई र टि२० आई दुबैमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि दोस्रो नेपाली क्रिकेटर हुन् । पीएनजीसँगको दोस्रो ओडिआईमा उनले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

दीपेन्द्रले स्पिन बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले सन्दीपलाई मात्र प्रमुख स्पिनरको रुपमा खेलाउँदै आएको छ । स्पिनरको स्थानमा प्रमुख ब्याटर खेलाउँदै ब्याटिङमा गहिराई बनाएको छ । दुई महिना अघि ओमानमा चार देश सम्मिलित टि२० आई सिरिजमा दीपेन्द्रले ३ खेलमा १ सय ४२ रनका साथ शीर्ष स्थानमा थिए । ओमानविरुद्ध पहिलो खेलमा नेपाललाई ६ विकेटको सानदार जित दिलाउन उनले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनमा अविजित इनिङ खेलेका थिए ।

टेष्ट टोली आयरल्यान्डलाई १ सय २७ रनमै अल आउट गर्न दीपेन्द्रले ४ विकेट लिएका थिए । नेपाल १६ रनले पराजित भएपनि दीपेन्द्रले २८ रन बनाउँदै खेलको प्लेयर अफ द म्याच चुनिए । टि२० विश्वकप छनोटमा पनि दीपेन्द्रले राम्रो प्रदर्शन गरे । अघिल्लो महिना युएईमा आइसिसी विश्वकप लिग–२ मा ४ खेलमा १२ रन बनाउँदै करिअरकै खराब भ्रमण गरे । तर दीपेन्द्रलाई घरेलु मैदानमा आफ्नो लय फर्काउने राम्रो अवसर बन्यो । पहिलो खेलमा दीपेन्द्र १५ रनमा आउट भए ।

पिएनजीविरुद्ध पहिलो ओडीआईमा हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेलाई बलिङको कारण दीपेन्द्रको ब्याटिङ प्रदर्शन खस्किएको त होईन भन्ने प्रश्न गरिएको थियो । त्यसबेला सन्दीपले, ‘मलाई त्यस्तो लाग्दैन । उनले यू१९ देखिनै मिडिया पेश बलिङ गरेको देखेकानै हौं । ब्याटिङ पनि राम्रो थियो । त्यस्तो केहि भयो भने म सुझाव र सहयोग गर्छु । एकदुई खेलमा रन बनेको छैन । तर उनी टोलीका उत्कृष्ट ब्याटर हुन्’, भनेका थिए । सोहीअनुसार दीपेन्द्रले दोस्रो ओडिआईमा शतक तथा त्यसपछि टि२०आईमा उत्कृष्ट प्रदर्शन गरे ।

दीपेन्द्र बाउन्ड्री मात्र होईन रन गति अघि बढाउन सिंगल र डबल रनका लागि त्यतिनै माहिर छन् । उनको रनिङ विटविन द विकेट तीव्र छ । उनीसँग अर्को क्रिजमा रहने खेलाडीलाई सोहि गतिमा दौडन कठिन पर्ने पनि देखिन्छ । उनी यति तीव्र गतिमा दौडछन् कि फिल्डर रन जोगाउन निकै दबाबमा पर्छन् । उनको रनिङ र बलरलाई दबाबमा राख्ने शारीरिक हाउ भाउ पनि लोभलाग्दो छ ।

नेपालको खेलमा पटक पटक उनको उत्कृष्ट फिल्डिङ टर्निङ प्वाइन्ट नै बनेको छ । उनको थ्रो निकै शक्तिशाली छ । भर्खरै सम्पन्न सिरिज दौरान उनको थ्रोले स्टम्प दुई टुक्रा हुनुले पनि त्यसलाई सिद्ध गरेको छ । उनी डाइरेक्ट हिटमा निशान लगाउन कमै मात्रमा असफल हुन्छन् । पीएनजीविरुद्ध दोस्रो खेलमा करण केसीले ह्याट्रिक नहुँदै सेलेब्रेसन गरेका थिए । करणले फिल्डर दीपेन्द्र हुँदा आफूले क्याच नहुँदै सेलेब्रेसन गरेको बताएका थिए । यसले उनको फिल्डिङको स्तर प्रष्ट्याउँछ ।

दीपेन्द्रले उमेर समूहमा पनि त्यतिनै उत्कृष्ट अलराउन्ड प्रभाव छाडेका थिए । सन् २०१७ मा यू–१९ एसिया कपमा नेपालले पहिलो पटक भारतलाई १९ रनले हराउँदा दीपेन्द्र नायक बनेका थिए । दीपेन्द्रले १ सय १ बलमा ६ चौका र १ छक्कासहित ८८ रनको कप्तानी इनिङ खेलेका थिए । बलिङमा १० ओभरमा २ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिएपछि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमै अल आउट भएको थियो ।

Dipendra Singh Airee

सन् २०१६ को यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग २ सय २८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ४९.३ ओभरमा २ सय २६ रनमा अल आउट हुँदै १ रनले पराजित भएको थियो । उक्त खेलमा दीपेन्द्रले ९९ बलमा ९ चौका र १ छक्कासहित ९० रनको इनिङ खेलेका थिए । नेपाललाई अन्तिम ४ बलमा २ रन चाहिँएको अवस्थामा क्याच हुन पुगेका थिए ।

२०१८ मा एकदिवसिय विश्वकप छनोटमा नेपालले पीएनजीलाई ६ विकेटले हराउँदै ऐतिहासिक ओडिआई मान्यता पाउँदा दीपेन्द्रले ४.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएपछि १ सय १४ रनमा अल आउट भएको थियो । ब्याटिङमा ५० रनमा अविजित रहँदै इतिहास रचेका थिए ।

यसअघि धेरैले पारस खड्काको सन्न्यासपछि नेपाली क्रिकेट धेरैपछि पर्ने अनुमान थियो । तर दीपेन्द्रले त्यसको अभाव महसुस हुन दिएका छैनन् । दीपेन्द्र ब्याटिङका क्रिजमा हुन्छन् तब सम्म जो कोहिलाई जितको आशा हुन्छ । पछिल्लो समय बलिङमा पनि त्यो विश्वास जित्दै आएका छन् । घरेलु क्रिकेटमा नेपाल पुलिसबाट त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रले मैदानभित्र लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर उनी पछिल्लो केहि महिनायता मिडियाबाट भने टाढा रहेका छन् । गत मंसिरमा दीपेन्द्र सहित ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरीलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडको विषयमा एक मिडियामा गएर बोलेको भन्दै कारबाही गरेको थियो । त्यसैको कारण दीपेन्द्रको उपकप्तान पद गुमेको थियो ।

पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरेपनि उनले पटक पटक सार्वजनिक रुपमा आफ्नो अभिव्यक्ति राख्न आनाकानी गरेका छन् । ओमानमा भएको सिरिज दौरान होस् या घरेलु मैदान, उनी खेलपछि पोस्ट म्याच कन्फरेन्समा आउन पनि नकार्दै आएका छन् । तर मैदान भित्र उनले आफ्नो प्रदर्शनबाट सबैलाई जवाफ दिएका छन् । मिडियाबाट टाढा रहने उनको निर्णयबाट समर्थकमाझ उनको अभिव्यक्ति नपुगेपनि, उनले मैदानमा गर्ने प्रदर्शनले सबै खुसी छन् ।

अहिलेको अवस्थामा क्यानले उपकप्तान घोषणा गरेको छैन । मैदानमा हाउभाउ हेर्दा अनौपचारिक रुपमा दीपेन्द्र नै उपकप्तान मान्न सकिन्छ । कारबाहीमा नपरेको भए ज्ञानेन्द्रको बिदाइपछि दीपेन्द्र कप्तान हुनेमा कुनै शंका थिएन ।

अहिले पनि क्षमता र प्रदर्शन हेर्दा आगामी कप्तानका प्रमुख दाबेदार दीपेन्द्र नै हुन् । उनी नेपाल र एसोसिएट मात्र होईन ठूला टेस्ट टोलीलाई नै स्तब्ध पार्न सक्ने खुवी भएका क्रिकेटर हुन् । उनको तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमताले नेपाली क्रिकेटलाई आउने दिनमा धेरै माथि लैजाने देखिन्छ ।

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

May 17, 2024

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना […]

May 16, 2024

गुजरातविरुद्ध खेल रद्द, हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

एजेन्सी – सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो । तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ […]

Success

Thank you for your time.