4 years ago
April 7, 2022
एजेन्सी – ओपनर क्विन्टन डि ककको उत्कृष्ट ब्याटिङको सहयोगमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको लखनऊले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊको जितमा क्विन्टन डि ककले ५२ बलमा ९ चौका र २ छक्कासहित ८० रनको इनिङ खेले । डि कक स्पिनर कुलदीप यादवको १६ औं ओभरको अन्तिम बलमा शरफराज खानबाट क्याच भए ।
अन्तिम ६ बलमा जितको लागि लखनऊलाई ५ रन चाहिँएको थियो । दीपक हुडा शार्दुल ठाकुरको पहिलो बलमा अक्षर पटेलबाट ११ रनमा क्याच आउट भए । दोस्रो बल आयुष बदोनीलाई डट राखे । तेस्रो बलमा बदोनीले चौका र चौथो बलमा एक्स्ट्रा कभरमा छक्का प्रहार गर्दै खेल सकाए ।
बदोनी ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । क्रुनाल पान्ड्या १४ बलमा १ छक्कासहित १९ रनमा अविजित रहे ।
डि कक आउट हुँदा लखनऊलाई जितको लागि अन्तिम २४ बलमा २८ रन आवश्यक पर्दा ७ विकेट हातमा थियो ।

तर मुस्ताफिजुर रहमानले १७ औं ओभरमा ४ रन र शार्दुल ठाकुरले १८ औं ओभरमा ५ रन खर्चेपछि खेल रोचक बनेको थियो । १९ औं ओभरमा रहमानले एक छक्कासहित कुल १४ रन खर्चेका थिए । क्रुनाल पान्ड्याले तेस्रो बलमा छक्का र त्यसपछि तीन बलमा लगातार दुई रन जोड्दै जित नजिक पुर्याए ।
ओपनर तथा कप्तान लोकेश राहुल २५ बलमा १ चौका र १ छक्कासहित २४ रनमा आउट भए । ओपनर लोकेश राहुल र डि ककले ९.४ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । दिल्लीका कुलदीप यादवले ३.४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र ललित यादवले १-१ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३६ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । शरफराज खान २८ बलमा ३ चौका ३६ रनमा अविजित रहे ।

सिजनको पहिलो खेल खेलेका ओपनर डेविड वार्नर १२ बलमा ४ रनमा आउट भए । वार्नर स्पिनर रवि विश्रोईको बलमा आयुष बदोनीबाट क्याच भए । विश्रोईले रोभम्यान पावेललाई ३ रनमा बोल्ड आउट गरे । दिल्लीलाई ओपनर पृथ्वी शा र वार्नरले पहिलो विकेटका लागि ७।३ ओभरमा ६७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
तर ७ रन जोड्न तीन विकेट गुमाएपछि समस्यामा परेको थियो । चौथो विकेटका लागि पन्त र शरफराज खानले ५७ बलमा ७५ रनको अविजित साझेदारी गरेका थिए । लखनऊका लेग स्पिनर रवि विश्रोईले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । स्पिनर कृष्णाप्पा गोथमले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर १ विकेट लिए । दिल्लीले अव आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । लखनऊले शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ ।
अंक तालिका
कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

गुजरात राइटन्स दुई खेलमा २ मा नै जितका साथ चौथो स्थानमा छ । समान ४ अंकका साथ पन्जाब पाँचौं र बेंगलोर छैटौं स्थानमा छन् । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । अंक विहीन चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमश : आठौं, नवौं र १० औं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]