3 years ago
April 19, 2022
एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक पाँच पटक उपाधि जित्ने फ्रेन्चाइज टोली हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले यस सिजनमा भने इतिहासकै खराब प्रदर्शन गरेको छ । सुरुवाती ६ खेलमा मुम्बई जित बिहीन बनेको छ ।
आइपिएल इतिहासमा सुरुवाती ६ खेल नै हार्ने मुम्बई तेस्रो टोली हो । यसअघि सन् २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) र २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोरले सुरुवाती ६ खेल हारेका थिए । यसअघि मुम्बईले २०१४ मा सुरुवाती पाँच खेल गुमाएको थियो । मुम्बई २०१३, २०१५, २०१७, २०१९ र २०२० को च्याम्पियन टोली हो ।
मुम्बईपछि चेन्नई सुपर किंग्सले चार उपाधि जितेको छ । चेन्नईले यस सिजनमा ६ खेलमा ५ मा र १ मा जित निकालेको छ । मुम्बईले २०१५ देखि २०२० सम्म प्रमुख उपाधिको दाबेदार टोली बनेको थियो । तर मेगा अक्सनमा चार खेलाडी मात्र राख्न पाएपछि मुम्बईले नयाँ टिम निर्माण गर्नुपर्यो । तर नयाँ टिम निर्माणको कारण कमजोर देखिएको छ ।
मुम्बईमात्र होईन सबै फ्रेन्चाइज टोलीले नयाँ निर्माण गरेका हुन् । समग्रमा आइपिएलको सर्वाधिक सफल टोली मुम्बई आफ्नो इतिहास कै कमजोर देखिनुमा प्रमुख पाँच कारण यस प्रकार छन् ।
५.म्याच विनर अलराउन्डरको अभाव
हार्दिक पान्ड्या र क्रुनाल पान्ड्या दाजुभाइलाई मुम्बईले मेगा अक्सनअघि फुकुवा गरेको थियो । मुम्बईले जितेका पछिल्ला तीन उपाधिमा पान्ड्या दाजुभाइको अलराउन्ड प्रदर्शन महत्वपूर्ण थियो । काइरन पोलार्डलाई छाड्दा अन्य स्टार अलराउन्डर छैनन् । पोलार्ड आफैंले संघर्ष गरेका छन् ।
अलराउन्डरको रुपमा टिम डेविडलाई अक्सनमा ८ करोड २५ लाख भारुमा किनेको थियो । तर उनको सुरुवाती प्रदर्शन अपेक्षा भन्दा धेरै खराब रह्यो । उनले सुरुवाती दुई खेलमा १३ रन मात्र बनाएपछि डेवाल्ड ब्रेभिसले मौका दिएको थियो । सधैं प्रमुख बलर वा ब्याटर चल्छन् भन्ने हुँदैन । त्यो अवस्थामा अलराउन्डरमा निर्भर रहनुपर्छ । तर मुम्बईमा त्यो विकल्प छैन । त्यसैले मुम्बई यस सिजनमा कमजोर देखिएको छ । अन्य सबै टोलीमा स्टार अलराउन्डर छन् ।
४.सूर्यले साथ नपाउनु र ब्याटिङमा गहिराई नहुनु
मध्यक्रममा सूर्य कुमार यादवमा मुम्बईमा बढी निर्भरछ । उनको प्रदर्शनले नतिजा निर्भर पर्ने देखिन्छ । शीर्ष तीन ब्याटरमा रोहित, डेवाल्ड ब्रेभिस र ईशान किशन छन् । सधैं शीर्षक्रमका ब्याटर चल्छन् भन्ने हुँदैन । त्यो अवस्थामा मध्यक्रमले सम्हाल्नु पर्नेहुन्छ । तर मुम्बईमा सूर्यलाई छाड्दा भरपर्दा र अनुभवी ब्याटर देखिदैनन् ।
पोलार्ड विष्फोटक ब्याटर हुँदा उनको विकेट गुम्ने जोखिम त्यतिनै हुन्छ । पोलार्डको भूमिका अन्तिम समयमा विष्फोटक अन्त्य गर्नुपर्ने हुन्छ । तर त्यो किसिमको ब्याटिङ गर्ने आधार भने मध्यक्रमका ब्याटरले तयार पार्नुपर्छ । मध्यक्रमका ब्याटर नचल्दा दबाबमा पोलार्डले पनि आफ्नो शैलीको खेल खेल्न सकेका छैनन् ।
पोलार्ड आउट हुँदा मम्बईको ब्याटिङमा गहिराई छैन । ६ ब्याटरको प्रदर्शनले जित वा हार निर्धारण हुनुपर्ने अवस्था छ । यसअघिका मुम्बईको ब्याटिङ ८–९ नम्बर सम्म हुने गर्दथ्यो । ड्यानिल साम्स र टिम डेविडलाई किनेपनि उनीहरुको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । पान्ड्या दाजुभाइको अभाव खड्किएको छ ।
३.रोहित र ईशान नचल्नु
कुनैपनि टोलीलाई ओपनरको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । सुरुवात अनुसार मध्यक्रम र तल्लोक्रमका ब्याटर त्यसै अनुसार खेल्ने गर्दछन् । तर मुम्बईका दुई प्रमुख ब्याटर ईशान किशन र कप्तान रोहित शर्माले संघर्ष गरेका छन् । ईशानले सुरुवाती दुई खेलमा दिल्लीसँग ८१ रन र राजस्थान रोयल्ससँग ५४ रन जोडेका थिए ।
त्यसपछि राम्रो प्रदर्शन गर्न सकेका छैनन् । रोहितले यस सिजनमा एउटा पनि अर्धशतक पूरा गर्न सकेका छैनन् । युवा ब्याटर ब्रेभिस, सूर्य र बर्मालाई थप दबाब ब्याटिङ गर्नु परेको छ । ६ ब्याटरका साथ मैदान उत्रने हुँदा ओपनरको प्रदर्शन अझ महत्वपूर्ण हुन्छ । तर यस सिजनमा रोहित र किशनले नै ठूलो इनिङ खेल्न नसक्दा ब्याटिङ कमजोर देखिएको छ । यी दुई ओपनर चल्दा ब्रेभिस र बर्मालाई पनि खेल्न थप सहज हुनेछ ।
२. अक्सनमा स्टार खेलाडी नकिन्नु
यस पटक मुम्बईले मेगा अक्सनमा मुम्बईले खेलाडी किनबेचमा ठूलो गल्ती गरेको थियो । विदेशी खेलाडीमा जोफ्रा आर्चर सर्वाधिक ठूला नाम हुन् । तर आर्चर अर्को सिजनमा मात्र खेल्नेछन् । डेवाल्ड ब्रेभिस, राइली मेरीडिथ, ड्यानिल साम्स, फबिएन एलेन र टाइमल्स मिल्सलाई अक्सनमा किनेको थियो ।
तर यी कुनैपनि खेलाडी म्याच विनर होईनन् । अक्सनमा ईशान किशनलाई १५ करोड २५ लाख भारुमा किनेको थियो । विदेशी मात्र होईन भारतीय खेलाडी पनि म्याच विनर भित्र्याउन सकेनन् । आइपिएलमा स्टार खेलाडीको प्रदर्शन महत्वपूर्ण हुन्छ । जसको कारण नयाँ युवा खेलाडीले कुनै दबाब विना आफ्नो शैलीको खेल खेल्नुपर्ने हुन्छ ।
१. कमजोर बलिङ आक्रामण
मुम्बईको तीव्र गतिको बलिङ आक्रामण नै पाँच उपाधि जित्नुको प्रमुख कारण हो । त्यो २०१७ को फाइनलमा राइजिङ पुणे सुपर जायन्ट्सलाई १ रनले हराउँदा जितको आधार नै बलिङ थियो । २०१९ को फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै उपाधि जित्दा होस् अथवा २०२० को उपाधि जित्दा मुम्बईको मुख्य हतियार नै बलिङ थियो ।
२०१९ को फाइनलमा चेन्नईलाई १ सय ५० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ४८ रनमै रोकेको थियो । २०१७ मा १ सय ३० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा पुणेलाई १ सय २८ रनमा रोकेको थियो । मुम्बईको बलिङ आक्रामण उत्कृष्ट थियो । मुम्बईको तीव्र गतिको बलिङ आक्रामणमा आफ्नै इतिहास छ ।
पछिल्लो उपाधि जित्दा ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह थिए । तर यस सिजनमा बोल्टलाई फुकुवा गरेको थियो । यस सिजनमा मुम्बईका स्पिनर मुरुगन आश्विनले सर्वाधिक ६ विकेट लिएका छन् । बुमराहले ६ खेलमा ४ विकेट, बासिल थाम्पीले ५ विकेट लिएका छन् । जयदेव उनादकट, टाइमल मिल्स, बुमराह, ड्यानिल साम्स, राईली मेरिडीथ, बासिल थाम्पी र अर्जुन तेन्दुलकर छन् ।
तर बुमराहलाई छाड्ने हो भने मुम्बईमा अन्य म्याच विनर स्टार बलर छैनन् । त्यसैको फाइदा उठाउँदै विपक्षी ब्याटरले सहज रन बनाउँदै आएका छन् । बुमराहले साथ नपाउँदा प्रदर्शन नै खस्किएको छ । राजस्थान रोयल्सका जस बटलर र लखनऊका लोकेश राहुलले यस सिजनमा मुम्बईविरुद्ध शतक प्रहार गरेका थिए ।
कोलकाताका प्याट कमिन्सले १४ बलमै मुम्बईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । मुम्बईले मध्यम योगफल बनाएको अवस्थामा त्यसलाई रोक्न सक्ने बलर अहिले टोलीमा छैनन् । यसअघि अलराउन्डरमा हार्दिक र कु्रनाल राम्रो पार्टटाइमका विकल्प थिए । तर अहिले त्यो स्तरका विकल्प भएका अलराउन्डर टोलीमा छैनन् । त्यसैले मुम्बईको प्रमुख हतियार बलिङ नै निकै कमजोर बनेको छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। कर्णालीले ५ खेलमा ६ अंक […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]