काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी प्रमुख अलराउन्डर तथा पूर्व उपकप्तान सीता रानामगरले क्यानले आफूलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिन्छ भने कहिल्यै आशा नगरेको बताएकी छिन् ।

क्यानले आइतबार सबैलाई आश्चार्य पार्दै सीतालाई उपकप्तानबाट हटाएको थियो । त्यस दिन दुबईमा फेयर ब्रेक प्रतियोगिताको फाइनल खेल्न लाग्दा उक्त खबर पाएकी सीता सोमबार युगान्डाविरुद्ध खेलमा यात्राका क्रममा रहेकाले उपस्थित रहिनन् । आइतबार साँझ नेपाल आएकी उनले सोमबार युगान्डासँगको दोस्रो महिला टि२० आई खेलपछि क्यानको निर्णयबारे प्रतिक्रिया दिएकी हुन् ।
‘क्यानले राम्रो सोचेर नै उपकप्तानबाट हटाउनु भएको होला । पक्कैपनि भविष्यको लागि सोच्नु भएको होला । मैले पनि मिडियाबाट नै थाहा पाएको हो । मलाई त्यसअघि केहि पनि थाहा थिएन । म फेयरब्रेकलप फाइनल खेल खेल्न जाँदै थिएँ । मैले पनि अरुबाट थाहा पाएको हो । पक्कैपनि राम्रो निर्णय गर्नुभएको होला’, सीताले भनिन् ।
त्यसैमा उनले थपिन्, ‘सायद युवा खेलाडीलाई विकास गर्नलाई होला । अझ थप युवा खेलाडीलाई दिएर कप्तान र उपकप्तान पद नै विकास गरेको भए अझै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ ।’

सीता नेपालले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा देखि नै टोलीमा रहेकी खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि पछिल्लो डेढ दशकयता निरन्तर खेल्दै आएकी छिन् । घरेलु क्रिकेटमा उनकै कप्तानीमा रहेको नेपाल एपिएफ क्लबले एकछत्र राज गर्दै आएको छ । त्यसैले सीतालाई लामो समयदेखि कप्तानको दाबेदार खेलाडीको रुपमा पनि हेरिएको थियो ।
सीता आफैं पनि कप्तानको दाबेदार लाग्ने स्वीकार गर्दछिन् । ‘कप्तानको दाबेदार लाग्छ । तर के गर्नु मेरो संघ क्यान नै शक्तिशाली भएपछि मैले वहाँहरुको निर्णयलाई स्वीकार गर्नैपर्छ । म खुसी छु । म सिनियर खेलाडीको रुपमा खेलेको छु । म एपिएफ टोलीलाई नेतृत्व गरेर राम्रो नतिजा पनि दिइरहेको छु । कम्तिमा एपिएफमा मेरो कदर हुन्छ र पोजिसन (पद) सुरक्षित छ’, सीताले भनिन् ।
सीता नेपाली महिला क्रिकेटमा प्रदर्शन र अनुभवको हिसाबमा सर्वाधिक सफल क्रिकेटर हुन् । सीता महिला टि२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी हुन् । २२ खेलमा सीताले ४ सय ४५ रन बनाएकी छिन् । उनको उत्कृष्ट प्रदर्शन ८२ रन अविजित छ । जुन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । २२ विकेटका साथ नेपालबाट महिला टि२० आईमा शीर्षस्थानमा छिन् ।

क्यानले सीतालाई कप्तानमा परिक्षण नगरी हटाउँदा उनले नेपाली क्रिकेटमा दिएको योगदानलाई कदर नभएको देखिन्छ । प्रदर्शन र नेतृत्व दुबैमा अब्बल हुँदा क्यानले केहि खेलमा कप्तानमा उनलाई हेर्नुपर्ने थियो । तर त्यसो हुन सकेन । तपाईंको कदर नभएको होइन र? भन्ने प्रश्नमा सीताले भनिन्, ‘अब वहाँहरुलाई के लागेको छ । म भन्दा उत्कृष्ट युवा खेलाडीलाई लिएर ग्रुम गर्दै जाउँ भन्ने हुन सक्छ । मेरो कदर कति गर्नुहुन्छ वा हुँदैन त्यो त क्यानलाई सोध्नुपर्छ । खेलाडीको रुपमा खेल्दा म त्यतिकै खुसी छु ।’
फेयर ब्रेकमा सीताले विकेट लिएपछि पुष्पा सेलेब्रेसन गरेकी थिइन् । सामाजिक संजालमा कतिपयले क्यानले त्यसको कारण यो निर्णय लिएको हुनसक्ने पनि बताउँदै आएका छन् । तर सीतालाई आफूलाई भने त्यस्तो नलागेको बताइन् । ‘म उपकप्तानबाट हट्नु भन्दा अगाडिनै मैले गरेको सेलेब्रेसन हो । म खेलाडीको रुपमा कतिपय ठाउँमा अनुभव भएको कुरा होला । म चाहिँ झुक्दिन । जो ले मलाई जति सुकै गरोस म झुक्दिन भनेर नै गरेको थिएँ,’ उनले थपिन् । सीताले फेयरब्रेकले लिएको अन्तर्वार्तामा पनि वीर गोर्खालीको इतिहास र पछिल्लो समय चलेको सिनेमालाई जोड्दै नेपालीहरु कहिल्यै नझुक्ने संदेश दिन खोजेको अभिव्यक्ति दिएकी थिइन् ।

सीताले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएकी छिन् । फेयर ब्रेकमा उत्कृष्ट प्रदर्शनका साथ उनी ‘टिम अफ द टुर्नामेन्ट‘ मा पनि परिन् । सीताले क्यानले आफूलाई कप्तान बनाउनेमा भने कहिल्यै आशा नगरेको बताइन् । ‘त्यो त मैले कहिल्यै पनि आशा गरिन । यो भन्दा अगाडिको भ्रमणमा म उपकप्तान हो वा होईन स्पष्ट थिएन । आधिकारीक जानकारी पाइनँ,’ उनले निराश हुँदै थपिन्, ‘त्यसले म झनै खुसी छु । म उपकप्तान हो वा होईन आफैं अन्यौलमा थिए । त्यसबेला क्यानले घोषणा गरेको टोलीमा कप्तान बाहेक अरु खुलाइएको थिएन । त्यसैले म के हो थाहा थिएन । मलाई अरुले उपकप्तान भनेपनि नभनेपछि म आफूलाई सिनियर खेलाडी खेलेको थिए । म उपकप्तान हो वा होईन थाहा थिएन ।’
नेपालले गत नोभेम्बरमा मलेसियामा भएको आइसिसी महिला टि२० विश्वकप छनोट एसिया र त्यसअघि कतारसँग खेलेको तीन महिला टि२० आई सिरिजमा उपकप्तान सार्वजनिक गरेको थिएन । पछिल्लो समय सिनियर टोली महिला र पुरुष दुवै टोलीमा एकता नभएको लख काट्न सकिन्छ । महिला टोलीमा पनि सिनियर खेलाडीबीच गुट रहेको आरोप सामाजिक संजालमा देख्न सकिन्छ । सीता यसलाई सामान्य रुपमा लिन्छिन् ।
‘त्यस्तो समुह त हरेक ठाउँमा हुन्छ । तर फरक समूह छ नै चाहिँ भन्न मिल्दैन । किनभने खेलाडीको रुपमा खेलेपछि जितको लागि हेर्ने हो । एउटा समुहले मात्र जित्ने होईन । जितेपछि १४ जनाले नै जित्ने हो । बाहिर जतिसुकै भएपनि खेलमा त्यस्तो हुँदैन,’ उनले भनिन् ।

सीता, रुविना क्षेत्री बेलबासे, करुणा भण्डारी र सरिता मगरले लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । तर हालसम्म टोली बलियो सम्भावना बोकेपनि विश्वकपमा भने पुग्न सकेको छैन । यो अवस्थामा कप्तान परिवर्तन गर्दा रणनीति पनि फरक हुँदै विश्वकप पुर्याउन सक्नुहुन्थ्यो होला ? भन्ने प्रश्नमा उनले भनिन्, ‘साँच्चै नढाटी भन्दा मैले नेतृत्व पाउँछु भनेर जिन्दगीमा आशा गरेको छैन । त्यस्तो कहिल्यै पनि भएन । म एपिएफको कप्तानमै खुसी छु । छनोटमा पनि मेरो पद कुन हो थाहा थिएन । अलिकति दुःख लागेको चाहिँ मिडिया आएको २४ घण्टापछि थाहा दिइयो । त्यो नराम्रो लाग्यो’, उनले भनिन् ।
‘खेलाडीबाट प्रोफेसनलिजम खोज्नु हुन्छ भने उताबाट पनि त प्रोफेसनलिजम आउनु पर्यो नि । त्यति भएन । त्यहि दुःख लाग्यो,’ उनले थपिन्, ‘इन्दु पनि मेरो नै बहिनी हो । उसले पनि अवसर पाउनुपर्छ । म त भन्छु अझै सुधार गरेर कप्तान नै होस् ।’
भिडियो हेर्नुहोस :