default_image

2 years ago

July 26, 2022

बायाँ हाते स्पिनरको प्रभाव : उहिले चुस्त, अहिले सुस्त

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट इतिहास हेर्ने हो भने स्पिन बलिङ नेपालको सबैभन्दा बलियो पक्ष र प्रमुख हतियार मानिन्छ । नेपालको जितमा स्पिन बलिङ प्रायजसो निर्णायक हुँदै आएको छ । ब्याटिङमा पनि तुलनात्मक रुपमा नेपाली ब्याटरले स्पिनरविरुद्ध राम्रो खेल्दै आएका थिए । तर पछिल्लो समय स्पिन नेपालको कमजोरी बन्न थालेको छ । वसन्त रेग्मी र […]

99 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट इतिहास हेर्ने हो भने स्पिन बलिङ नेपालको सबैभन्दा बलियो पक्ष र प्रमुख हतियार मानिन्छ । नेपालको जितमा स्पिन बलिङ प्रायजसो निर्णायक हुँदै आएको छ । ब्याटिङमा पनि तुलनात्मक रुपमा नेपाली ब्याटरले स्पिनरविरुद्ध राम्रो खेल्दै आएका थिए ।

तर पछिल्लो समय स्पिन नेपालको कमजोरी बन्न थालेको छ । वसन्त रेग्मी र शौक्ति गौचनपछि नेपालले स्थायी रुपमा बायाँ हाते स्पिनर भेटेको छैन । कप्तान सन्दीप लामिछानेले आफ्नो स्पिन आक्रमणको जोडी पाउन नसकेपछि यसको प्रत्यक्ष असर टोलीको नतिजामा पर्दै आएको छ ।

सिनियर टोलीमै नेपालले पाँच महिनाको अन्तरमा दोस्रो स्पिनरको रुपमा बायाँ हाते सुशान भारी, साहब आलम, सागर ढकाल र बसिर अहमदलाई प्रयोग गरिसकेको छ । अवस्था यस्तो आएको छ कि सन्दीप बाहेक अन्य स्पिनर खेलाउन पटक-पटक सोच्नुपर्छ । निरन्तर रुपमा दोस्रो स्पिनर नचल्दा टोलीले एक मात्र स्पिनर पनि खेलाउँदै आएको छ । पार्ट टाइमका रुपमा रहेका दीपेन्द्र सिंह ए‍ेरीले दोस्रो स्पिनरको कोटा पूरा गर्दै आएका छन् ।

एक समय नेपालको प्लेइङ-११ मा वसन्त रेग्मी, राहुल विश्वकर्मा, शक्ति गौचन र सञ्जम रेग्मी खेल्ने गर्दथे । सञ्जम बाहेक अन्य तीन खेलाडी बायाँ हाते स्पिनर थिए । नेपालले २०१३ को डिभिजन थ्रि को उपाधि जित्दा फाइनलमा युगान्डाविरुद्ध र इटालीसँगको निर्णायक खेलमा यी चार स्पिनरको प्रदर्शन निकै महत्त्वपूर्ण थियो । वसन्त र शक्तिले त एक दशक भन्दा बढी समय निरन्तर सँगै खेल्दै नतिजा ल्याए ।

नेपालले पहिलो ओडीआई खेल्दा सुरुवाती रोजाइमा तीन स्पिनर खेलेका थिए ।

यी विश्व स्तरिय स्पिनरको सामना नेट्समा गरेका कारण पनि नेपाली ब्याटर स्पिनविरुद्ध पनि निखारिएका थिए । घरेलु क्रिकेट प्रतियोगिता होस् वा सिनियर टोली बन्द प्रशिक्षण र विदेश भ्रमण, स्तरिय स्पिनरबाट नेपाली ब्याटरले राम्रो अभ्यास पाउने हुँदा जस्तोसुकै स्पिनको निडर भएर सामना गर्थे । तर पछिल्लो समय स्तरिय बायाँ हाते स्पिनर नहुँदा ब्याटरमाथि विपक्षी बलर हावी हुँदै आएका छन् । पछिल्लो नतिजा हेर्ने हो भने नेपाली ब्याटर बायाँ हाते स्पिनर खेल्नै सक्दैनन् ।

शक्तिले सन् २०१८ मा सन्न्यास लिँदा वसन्त पछिल्लो दुई वर्षदेखि अमेरिकामा छन् । कप्तान सन्दीप लामिछाने फ्रेन्चाइज लिगको कारण घरेलु क्रिकेट खेल्दैनन् । सन्दीप बाहेक अन्य स्तरिय स्पिनर छैनन् ।

स्तरिय स्पिनरको अभ्यास नपाउँदा ब्याटर स्पिनमा झन् कमजोर बनेका छन् । यद्यपि नेपालको टियु बाहेक अन्य सबै मैदानमा स्पिनर हावी हुँदै आएका छन् । कारण बलरको स्तर भन्दापनि मैदानको पिच राम्रो अवस्थामा नहुनु हो । स्तरिय स्पिनर पाउन त्यसले पनि कठिन भएको छ । बायाँ हाते स्पिन आक्रमण नेपालको लागि ठूलो तगारो बनेको छ ।

पछिल्लो समय नेपाली ब्याटरले बायाँ हाते स्पिनरको सामना गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका महत्त्वपूर्ण खेलमा विपक्षीका बायाँ हाते स्पिनर हाबी बनेका छन् । यसै साता आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड भ्रमणमा त्यो समस्या पुनः नेपाललाई घातक बन्यो ।

पहिलो खेलमा नेपाल नामिबियाले प्रस्तुत गरेको २ सय २१ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ८० रनमा अल आउट भयो । नामिबियाका बायाँ हाते अर्थडक्स बेर्नार्ड शोल्ट्जले दुई विकेट लिए । दोस्रो खेलमा २ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ३६ रनमा अल आउट भयो । बेर्नार्डले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिँदै नेपालमाथि सहज जित दिलाए ।

स्कटल्यान्डसँग दोस्रो खेलमा नेपाल १ सय २८ रनमा अल आउट भयो । नामिबियाका बायाँ हाते स्पिनर मार्क वाटले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । अर्का बायाँ हाते स्पिनर हम्जा ताहिरले ७.५ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपालका सफल स्पिन अलराउन्डर शक्ति गौचन पछिल्लो समय कन्डिसन अनुसार तयारी नपुगेको बताउँछन् । ‘सुरुमा त बलरले कस्तो बल फ्यालेको छ, त्यो हेर्नुपर्छ । राम्रो बलको त बलरलाई पनि त्यसको श्रेय दिनुपर्छ । बायाँहाते स्पिनरको लयमा पनि भरपर्छ’, शक्तिले भने ।

‘स्कटल्यान्ड यसअघि कुनैपनि ब्याटरले त्यो कन्डिसनमा खेलेका थिएनन् । सबैको पहिलो भ्रमण थियो । कन्डिसनमा गएर खेल्ने हाम्रो तयारी छैन । यसले यो खेलेन भन्दा पनि आगमी दिनको बारे सोच्नुपर्छ । दक्षिण एसियामा त कुनै फरक पर्दैन । तर इंग्लिस कन्डिसनमा जानु पर्यो भने हाम्रो तयारी के त ? त्यसको लागि अलि बढी तयार गर्नुपर्छ ।’

‘इंग्लिस कन्डिसनमा जानु छ भने चार पाँच जना ब्याटरलाई एक महिना अघिनै त्यो ठाउँमा पठाउनु पर्छ । किनभने कन्डिसनलाई लिएर हाम्रो ब्याटरले संघर्ष नगरोस् । अवस्था त कहिलेकाहिँ फ्ल्याट ब्याटिङ पिचमा पनि सुरुवातमै तीन चार विकेट गुम्न सक्छ । अवस्था राम्रो छ तर कन्डिसनमा संघर्ष गरेका छौं भने गाह्रो हुन्छ’, शक्तिले भने ।

घरेलु क्रिकेटमा राम्रो स्पिनर नहुँदा असर परेको हो कि भन्नेमा भने शक्ति अस्वीकार गर्दछन् । ‘यो कन्डिसनमा खेल्न ब्याटरलाई गाह्रो नै हुन्छ । हामीलाई टि२० क्रिकेटले पनि असर पारेको छ । ५० ओभरको क्रिकेट विरलै हुन्छ । जिल्लाहरुमा एकदिवसिय पनि हराइसक्यो । विश्व क्रिकेटमा पनि २० ओभर र ५० ओभरको ब्याटर छुट्याउने क्रम सुरुवात भएको छ,’ उनले भने ।

‘टोलीमा अनुभवी खेलाडी पनि हुनुपर्छ । नराम्रो बललाई मात्र कुरेर खेल्यो भने पछि सजिलो हुन्छ । त्यो बुझ्न अनुभवी खेलाडी हुनुपर्यो । आरिफ अलिकति अनुवभी खेलाडी हो । अरुमा त्यो अनुभव पनि छैन’, उनले थपे ।

नेपाली क्रिकेटमा हाल खेलिरहेका बायाँ हाते स्पिनर सुशान भारी र अलराउन्डर कुशल मल्ल दुवै शक्तिको उत्पादन हुन् । शक्ति खेलाडीमा विश्वास गर्न सके त्यसले आत्माविश्वास पैदा गर्दै प्रदर्शन पनि आउने बताउँछन् । यसका लागि तल्लो स्तरबाट नै मिहिनेत गर्न जरुरि रहेको उनको बुझाइ छ ।

‘ग्रासरुटदेखि दबाबको सामना गर्दा गर्दै सिनियर टोलीसम्म पर्ने हो । यू१५, यू१६, यू१९, यू २३ को दबाब हुँदै सिनियर टोलीमा पुर्याउनु पर्छ,’ शक्तिले त्यसैमा थपे, ‘तर हाम्रो त्यो संरचना छैन । त्यो सुरुवात देखिनै तयार पार्नुपर्छ ।’

क्रिकेटमा बायाँ हाते खेलाडीले विशेष प्राथमिकता पाउँछन् । खेलाडीको प्रदर्शन त छँदै छ, क्रिकेटमा बायाँ हाते खेलाडी रणनीतिक पक्षमा पनि प्रयोग हुने गर्दछन् । विश्व क्रिकेटमा हेर्ने हो भने बायाँ र दायाँ हाते खेलाडीको सन्तुलन नभएको टोलीले सफलता हात पार्न कठिन पर्छ । विपक्षीको रणनीति बदल्न वा दबाबमा राख्न बायाँ हाते खेलाडी प्रयोग हुन्छन् ।

गत फेब्रुअरीमा नेपाललाई पहिलो सेमिफाइनलमा युएईलाई हराउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न १ सय ७६ रन बनाउनु पर्ने हुन्थ्यो । तर युएईका बायाँ हाते स्पिनर अहमद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएपछि नेपाल १ सय ७ रनमा अल आउट हुँदै विश्वकप खेल्न सपना समाप्त भयो । विगतको खेलमा पनि राजा लगातार हाबी हुँदै आएका छन् ।

ओमानका कप्तान जिशान मकसुद पनि नेपाललाई तगारो बन्दै आएका छन् । बायाँ हाते स्पिनरविरुद्ध नेपालको समस्या दिनानुदिन बढ्दै गएको छ । नेपाली टोलीको मध्यक्रममा ब्याटर बायाँ हाते छैनन् । बायाँ हाते स्पिनरको ओभर निकाल्ने ब्याटर नहुँदा कठिन देखिन्छ ।

कप्तान सन्दीप लामिछाने मध्यक्रममा बायाँ हाते ब्याटर नहुनु दुर्भाग्य बताउँछन् । ‘दुर्भाग्य हामीसँग मध्यक्रममा फिट हुने बायाँ हाते ब्याटर पाउन गाह्रो छ । हामी यतिधेरै बायाँ हाते स्पिनरहरुसँग खेल खेलेका छौं । हामीसँग नेपालमा एक सय एक राम्रा बायाँ हाते स्पिनर हुनुन्छ’, सन्दीपले भने’ , बायाँ हाते स्पिनरको अभ्यास नपुगेको पनि होईन । यो मानसिक रुपमा तयार हुनुपर्छ ।’

पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके ब्याटरहरुमा बायाँ हाते स्पिनरप्रति नकरात्मक सोच रहेको बताउँछन् । ‘बायाँ हाते स्पिनर मात्र होइन । अन्य खेलमा शीर्ष चार ब्याटर तीव्र गतिका बलरमा आउट भएका छन् । हाम्रा मध्यक्रमका ब्याटरमा स्पिनरलाई लिएर नकरात्मक सोच छ’, पुबुदुले भने ।

नेपालका मध्यक्रममा ब्याटर आरिफ शेख भने विकेट र नयाँ कन्डिसनको कारण यस्तो भएको बताउँछन् । ‘मध्यक्रममा बायाँ हाते ब्याटर नभएर खासै फरक पर्दैन । हाम्रो नयाँ टिम थियो । स्कटल्यान्डमा खेलेका पनि थिएनौं । बायाँ हाते स्पिनर होस् वा तीव्र गतिको बलर हामीले फेस गरेका थिएनौं । विकेट र कन्डिसन फरक भएर गाह्रो भएको हो’, आरिफले भने ।

आरिफले पहिलो खेलमा नामिबियासँग ५० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । त्यसपछि उनले स्कटल्यान्डसँग एक र डक तथा नामिबियासँग ४ रनमा आउट भए । आरिफले पनि बायाँ हाते स्पिनरको बलमा संघर्ष गर्दै आएका छन् ।

नेपाली क्रिकेट टोलीको मुख्य छनोटकर्तामा पूर्व अलराउन्डर दीपेन्द्र चौधरी छन् । दीपेन्द्र खेलाडी स्वतन्त्र रुपमा नखेलेको बताउँछन् । ‘मैले पछिल्ला खेलहरु लाइभ नै हेरेको थिएँ । यिनीहरु फ्रिडम (स्वतन्त्र) भएर खेलेनन् । मानसिक रुपमा बाँधिएर खेलेको जस्तो थियो । ब्याट चलाउने शैली नै अर्कै थियो । मानसिक सोच फरक देखिन्थ्यो’, चौधरीले भने ।

‘सबै नेपालबाट खेलेका खेलाडी हुन् । प्राविधिक रुपमा मलाई कुनै कमजोरी छ जस्तो लाग्दैन । मलाई अलि अलि के लाग्छ भने मानसिक रुपमा दबेर खेलेका छन् । त्यसको अर्को कारण कहिले पनि ओपनरले राम्रो सुरुवात दिएन । ओपनिङ राम्रो भएको बेला सबै खेल जितेका छौं । विकेट नबचेर पनि हो । मानसिक रुपमा दबाब भयो’, उनले भने । दीपेन्द्रका अनुसार घरेलु प्रतियोगिता पनि त्यतिनै हुनुपर्ने बताए ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीले राम्रो नतिजा हात पार्न सकेको छैन । नेपालले हरेक समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ । त्यसमध्य बायाँ हाते ब्याटर नेपालको लागि निकै महत्त्वपूर्ण बनेको छ । खराब ब्याटिङमा नेपालका ब्याटरनै जिम्मेवार छन् । सबै ब्याटर गैरजिम्मेवार र खराब सटका साथ विकेट आफैं दिँदै आएका छन् । त्यसैले खेलाडी आफैं जिम्मेवार हुनुपर्छ । देशको लागि खेल्ने एक ब्याटर जस्तो सुकै विपक्षी बलर, पिच र वातावरणमा गएर खेल्न सक्नुपर्छ ।

अर्कोतर्फ स्पिनरमा सन्दीप लामिछानेले अर्को एण्डबाट साथ पाउन सकेका छैनन् । नेपालले पछिल्लो समय स्पिनरमा सुशान भारी, सागर ढकाल, साहब आलम र बसिर अहमदलाई प्रयोग गरिसकेको छ । तर यी चार स्पिनरबाट अपेक्षा अनुसार प्रदर्शन हुन भने सकेको छैन । विदेशी बायाँ हाते स्पिनर नेपालमाथि हाबी हुँदा नेपालका भने कमजोर प्रदर्शन गरेका छन् । नेपालले बायाँ हाते ब्याट, स्पिनर र तीव्र गतिका बलर सबैलाई तयार पार्न ध्यान दिनुपर्ने हुन्छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.