default_image

2 years ago

July 28, 2022

जिल्ला र प्रदेश क्रिकेट : सम्भावना टन्न, योजना शून्य

130 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन राम्रो छैन । यसको एक कारण घरेलु क्रिकेटको दयनीय अवस्था हो । जहाँबाट खेलाडी उत्पादन हुनुपर्ने हो त्यहाँ कुनै योजना र काम नहुँदा क्रिकेट सोचेजस्तो मौलाउन सकेको छैन ।

क्यानले पछिल्लो साधारण सभाबाट जिल्ला सदस्य संख्या थप्दै ३९ बाट ४३ पुर्याएको छ । तर क्रिकेटको स्तर भने जस्ताको तस्तै छ । सिमित जिल्लालाई छाड्ने हो भने अन्य सबै क्यानले गर्ने वर्षको एउटा प्रतियोगितामा निर्भर छन् । ग्रासरुट, क्लब क्रिकेट, एकेडेमी संचालन र उमेर समूहलाई योजना त परको कुरा, आफ्ना प्रमुख खेलाडीलाई समेत जिल्ला र प्रदेशले प्रतियोगिता र प्रशिक्षण दिन सकेका छैनन् ।

सबै प्रदेशमा प्रशिक्षकलाई तलब दिएर खटाएपनि उनीहरुको काम प्रतियोगिताको समयमा मात्र हुन्छ । कुनैपनि प्रतियोगिताको लागि जिल्ला हुँदै प्रदेश छनोट मुख्य प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिन सकेर नाम सार्वजनिक गर्ने चलन अन्त्य भएको छैन । यसको एक कारण प्रतियोगिता सुरु हुनुभन्दा १५/२० दिन अघि मात्र क्यानबाट खबर पाउनु पनि हो । कम्तिमा एक महिना प्रदेशका खेलाडीलाई प्रशिक्षणको समय दिएर योजना बनाउनुपर्ने हो । तर दुर्भाग्य खेलाडी छनोट नै प्रतियोगिता सुरु हुनुको अघिल्लो दिन सकिन्छ, प्रशिक्षण त सम्भव नै भएन ।

यसैपनि प्रदेश टोलीको प्रदर्शन घरेलु क्रिकेटमा कमजोर छ । विभागीय टोलीलाई चुनौती दिनसक्ने एक दुई प्रदेश छन् । प्रदेशको प्रदर्शन कमजोर हुनुको कारण प्रतिभाको कमी होईन, पर्याप्त तयारी र खेल अभाव मुख्य कारण हो ।

अझ प्रदेशमा क्रिकेट संरचनाको कुरा गर्दा अवस्था थप पीडादायी छ । नियमित सम्भार नहुँदा पिचको अवस्था खेतजस्तो छ । तयारी एउटा स्तर र प्रदर्शन अर्कै पिचमा खेलेर प्रमाणित गर्नुपर्छ । कम्तिमा हरेक प्रदेश र जिल्लामा एउटा राम्रो पिच मात्र हुने हो भने नेपालको ब्याटिङ समस्यालाई पनि राहत मिल्ने निश्चित छ । चाहने हो भने जिल्ला र प्रदेशलाई एउटा राम्रो पिच नियमित मर्मत सम्भार गर्न पक्कै कठिन कार्य होइन ।

अवस्था कस्तो सम्म छ भने प्रतियोगिता सुरु हुने अघिल्लो दिन काठमाडौं आएर अर्को दिन खेल्न मैदान उत्रनुपर्छ। यस्तो अवस्थामा खेलाडीबाट प्रदर्शनको अपेक्षा गर्नु न्यायोचित हुन सक्दैन । खेलाडीलाई व्यस्त राख्न र उत्पादन गर्न जिल्ला र प्रदेशको भूमिका महत्त्वपूर्ण हुन्छ । कमजोर तयारी र सिमित स्रोत साधनका कारण राष्ट्रिय प्रतियोगिता आउँदा जिल्ला र प्रदेशको निद्रा हट्छ । कतिपय जिल्लाले त छनोट प्रतियोगिता नभई ट्यालेन्ट हन्टकै भरमा टोली निर्माण गर्छन् ।

गाउँ, टोल, खेतका बगर, क्लब, स्कुल, कलेज, एकेडेमी र स्थानीय तह, जहाँ खेल्ने भएपनि जिल्ला स्तरबाट स्थानीय छनोटमा अवसर दिएर टिम निर्माण गर्नुपर्ने हो । गाउँमा गएर नयाँ खेलाडी खोज्ने त परको कुरा, एकेडेमी वा क्लबमा भएका खेलाडीले पनि आफ्नो प्रतिभा देखाउने अवसर पाएका छैनन् । नियमित क्रिकेटमा बिताउने खेलाडीले अवसर नपाउँदा असली प्रतिभा बाहिर आउन सकेका छैनन् । पैसाको अभावमा क्षमता भएर पनि खेल्न नसक्ने लेखाजोखा छैन ।

सदस्यता भएकै जिल्लामा यस्तो अवस्था हुँदा सदस्यता नै नभएका जिल्ला खेलाडीको अवस्था धेरै नाजुक छ । बल्लतल्ल अन्य जिल्लाको छनोटमा सहभागी हुन पाएपनि छनोटमा राजनीतिकरण हुँदा टोलीमा पर्न कठिन छ । क्यानले सदस्यता नभएको जिल्लाबाट खेलाडी ल्याउन सोच्न सकेको छैन । सदस्यता नभएका जिल्लाका खेलाडीलाई कहाँबाट राष्ट्रिय स्तरको क्रिकेट खेल्न सकिन्छ भन्ने नै थाहा छैन ।

क्यानले कार्यालय सञ्चालन प्रायोजनका लागि जिल्लालाई वार्षिक दुई लाख, प्रदेशलाई पाँच लाख र प्रतियोगिता तयारीलाई ५० हजार बजेट दिँदै आएको छ । कार्यालय सञ्चालनको रकम खर्चलाई लिएर प्रश्न गर्ने धेरै ठाउँ छन् । सबै प्रदेशको अवस्था एउटै छ । कसैले पनि आफ्नो तर्फबाट पहल गर्न सकेका छैनन् । खेलाडी छनोटमा कर्णाली र गण्डकी बाहेक अन्य सबै प्रदेशमा राजनीति हावी देखिन्छ ।

जिल्लामा काठमाडौं र प्रदेशमा बागमती सबैभन्दा धेरै सम्भावना भएका जिल्ला र प्रदेश हुन् । मुलुकको राजधानीमा उपलब्ध संरचना र स्तरीय खेलाडी संख्या हेर्दा जुनसुकै स्तरको प्रतियोगिता आयोजना गर्न प्रायोजन पाउन सकिन्छ । तर त्यो सम्भावनामा सिमित छ ।

काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा वर्तमान परिस्थितिका कारण आयोजना गर्न नसकेको बताउँछन् । ‘हामी दशैंपछि वृहत प्रतियोगिता गर्ने सोचमा छौं । हामीले काम नगरेको होईन तर वर्तमान परिस्थीतिले गर्दा नसकेको हो’, शर्माले भने ।

बागमती प्रदेश राष्ट्रिय प्रतियोगितामा राम्रो व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीलाई हौसला पुरस्कार दिने एक्लो प्रदेश हो । तर प्रदेशको आन्तरिक गतिविधी भने शून्य छ । पछिल्लो दुई वर्षमा तीनै विभागीय टोलीलाई हराउँदै बागमतीले सनसनी मच्चाएको छ । पछिल्ला दुवै राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा एकमात्र प्रदेश टोलीको रुपमा बागमती नै अन्तिम चारमा पुगेको छ ।

बागमती प्रदेशका सचिव तथा क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठक आफ्नै मैदान नहुँदा समस्या रहेको बताउँछन् । ‘पक्कैपनि हामीले गुर्नपर्ने काम गरेका छैनौं । सबैभन्दा ठूलो समस्या मैदानकै हो । हाम्रो आफ्नो मैदान छैन । टियु र मुलपानी मध्य एक भाडामा लिनुपर्ने हुन्छ । आगमी दिनमा हामी सोचे भन्दा फरक कार्यक्रम गर्ने योजना छौं’, पाठकले भने ।

सुदूरपश्चिम प्रदेश घरेलु क्रिकेटमा एक बलियो टोली हो । विभागीय टोलीलाई हराउन सक्ने खुबी भएपनि कमजोर व्यवस्थापन, कुशल प्रशिक्षकको अभाव, खेलाडी छनोटमा चरम राजनीति र पर्याप्त अभ्यास नहुँदा टोलीको नतिजा सहभागितामा सिमित छ । प्रदेशका अध्यक्ष हरी रेग्मी कोरोनाका कारण आफ्नो योजना प्रभावित भएको बताउँछन् ।

‘अब हामी जिल्ला र प्रदेशको आफ्नो कार्यक्रम गर्दैछौं । पूरानो क्यालेन्डर कोरोनाको कारण प्रभावित भयो । अब नयाँ क्यालेन्डर आउँछ । भदौमा साधरण सभामा उक्त योजना लैजादैछौं । गाउँ गाउँमा गएर नयाँ खेलाडी खोज्न जिल्लालाई भनिसकेका छौं’, अध्यक्ष रेग्मीले भने ।

‘खेलाडी छनोटको लागि हामीले तीन जनाको समिति बनाएका छौं । तीन जना मध्य एक जनाले मात्र असहमती जनायो भने हामी पुनर्विचार गर्न सक्छौं । यो स्तरको खेलाडी किन परेन भनेर सम्बन्धित जिल्लाले छलफलको विषय बनायो भने नै हामीले हेर्ने हो । असन्तुष्टि आएन भने त हामीले सबै राम्रो भएको छ भनेर बुझ्छौं’, रेग्मीले थपे ।

क्रिकेट प्रतियोगिता र समग्र गतिविधिका लागि रुपन्देही उदाहरणीय जिल्ला हो । त्यसैले पनि घरेलु क्रिकेटमा रुपन्देहीका खेलाडीको बाहुल्यता छ । तर प्रदेश टोली छनोट हुँदा अनौपचारिक कोटा हुँदा रुपन्देहीका खेलाडी मारमा परेका छन् । लुम्बिनी प्रदेशले गतवर्ष यू–१९ राष्ट्रिय प्रतियोगिता जित्यो । रुपन्देहीले यसै वर्ष भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा मलेसियाको सिनियर टोली, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जित्यो । रुपन्देही बलियो हुनु र खेलाडी उत्पादन हुनुमा रुपन्देही सुपर लिग प्रमुख आधार हो ।

२०५३ सालदेखि रुपन्देही सुपर लिग हुँदै आएको छ । क्यान निलम्बन हुँदा पनि रुपन्देहीले सुपर लिग रोकिएन । अहिले रुपन्देही सुपर लिगमा ए डिभिजन र बी डिभिजन गरि कुल २० क्लब छन् । जिल्लाको प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छ । राम्रो प्रदर्शन गर्ने शीर्ष चार टोली ए डिभिजनमा बढुवा र कमजोर प्रदर्शन टोली बी डिभिजनमा घटुवा हुन्छन् ।

सचिव संजय गुरुङ प्रतियोगिता प्रभावकारी भएपनि आउने दिनमा अझ परिस्कृत गर्ने प्रयास भइरहेको बताउँछन् । ‘यसै प्रतियोगिताको कारण धेरै खेलाडी निस्किए । घरेलु प्रतियोगितामा हामीले आफ्नो बेग्लै प्रभाव छाडेका छौं । नतिजा पनि आइरहेको छ । तर हामीलाई अहिले पनि अपुग महसुस छ । यसलाई अझ परिस्कृत गर्ने योजना छ’, रुपन्देहीका सचिव सञ्जय गुरुङले भने ।

गुरुङ जिल्लाले प्रतियोगिता गर्नुपर्ने आफ्नो कर्तव्य भएको बताउँछन् । ‘यो हाम्रो कर्तव्य हो । क्यानले हामीलाई मात्र दिएर पनि हुँदैन । हामीले सम्भव भएसम्म आफ्नै स्रोत र साधनले गरेका छौं । सिद्धार्थ नगरपालिकाले रुपन्देही सुपर लिगलाई भनेर नै १० लाख छुट्टयाएको छ । गतिविधि निरन्तर हुनाले यहाँ प्रायोजन र सहयोग पाउन कुनै कठिन छैन । यसको मुख्य कारण यस अघिका संघका मान्छेले गरेको काम र खेलाडी उत्पादन नै हो ‘, उनले भने । निकट भविष्यमा डे क्रिकेट पनि सुरु गर्ने तयारी गरेको गुरुङले जानकारी दिए ।

लुम्बिनी प्रदेश कागजी रुपमा नेपालको सबैभन्दा बलियो प्रदेश टोली हो । तर प्रदेशले आफ्नो टोलीको खेल अभावले नतिजा सोचे जस्तो ल्याउन सकेको छैन । प्रदेशका अध्यक्ष दुर्गा बहादुर थापामगर काम गर्न नसक्नुमा वहाना गरेजस्तो हुने बताउँछन् ।

नेपाली क्रिकेटमा एक समय पूर्वको एकक्षत्र राज थियो । यस क्षेत्रका मञ्जित श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, महबुब आलम, मनोज कटवाल, पारस लुनिया र दीपेन्द्र चौधरीले एकैसाथ राष्ट्रिय टोलीबाट खेल्थे । तर अहिले राष्ट्रिय टोलीमा यस क्षेत्रको सहभागिता शून्य छ । गतवर्ष प्रदेश एकले कमजोर आँकिएको कर्णालीसँग हार्यो । यसमा संघको गल्ती बढी छ ।

कप्तान सिद्धान्त लोहनी आफैंले घरेलु क्रिकेट नहुँदा राष्ट्रिय टोलीको क्याम्पमै पूनरागमन गर्न सकेका छैनन् । सिद्धान्त खेल अभावले माथि उठ्न नसकेको बताउँछन् । ‘प्रत्येक जिल्लामा खेलाडीलाई अभ्यास गर्ने राम्रो ठाउँ हुन पर्यो । हामीसँग सुविधा नै छैन । अभ्यास गर्ने एउटा राम्रो टर्फ विकेट छैन । नेट्स भनेको मोरङ्गमा रंगशालामा छ । त्यो पनि अलिकति पानी पर्यो भने खेल्न मिल्दैन । कसैले त्यो बनाउँदैन । खेलाडी आफैंले बनाउनुपर्ने बाध्यता छ’, सिद्धान्तले भने ।

प्रदेश एक मात्र होईन सबै प्रदेश प्रतियोगिता सुरुहुन एक दुई दिन अन्तिम टोली घोषणा गर्दछन् । यसले टोली सन्तुलनमा ठूलो असर परेको छ । ‘मुख्य कुरा जिल्लाको खेलाडी भएपछि सबै जना एकै ठाउँमा अभ्यास गर्नुपर्ने हो । प्रशिक्षकले नै निरन्तर आएर अभ्यास गराउनु पर्यो । सुरुवात जिल्लाबाट हुनुपर्छ,’ उनले थपे ।

‘म अहिले प्रदेशको कप्तान छु । जहिले पनि हामी जान्छौं । हारेर आउँछौं । जित्ने मन कुन खेलाडीलाई हुँदैन र ? खेलाडीहरु सँगै अभ्यास नगरे खेल्ने माहोल हुँदैन । प्रतियोगिता सुरु हुनुभन्दा २-३ दिन अघि मात्र नाम आउँछ । तीन दिनको प्रशिक्षण लिएर लामो यात्रामा काठमाडौं पुगेर जित्न कठिन पर्छ’, उनले भने ।

‘प्रदेशको खेलाडीले म्याच खेल्ने वातावरण हुनुपर्यो । प्रदेशका २०-२२ खेलाडीलाई निरन्तर म्याच दिनुपर्छ । विराटनगरको बैजनाथपुरको क्रिकेट मैदान ६-७ वर्षदेखि निर्माणाधीन अवस्थामा अड्किएको छ । ग्राउन्ड नै नभएपछि खेल्ने कहाँ ?,’ उनले प्रश्न गरे ।

सिद्धान्तले साढे तीन वर्ष पुलिसमा रहेपनि त्यहाँ राम्रो अवसर नपाएपछि प्रदेशमा फर्किए । कमजोर प्रदेशको गतिविधिले त्यो निर्णय झनै घातक बनेको छ । सिद्धान्त विभागीय टोली च्याम्पियन बन्नुमा लगातारको तयारी नै मुख्य कारक रहेको बताउँछन् ।

पछिल्लो समय मधेश प्रदेशको स्तर खस्किएको छ । यस क्षेत्रमा जिल्लादेखि प्रदेशसम्म खेलाडी छनोटमा राजनीतिको अरोप पनि अत्याधिकछ ।

घरेलु गतिविधिको नाममा सप्तरीले स्थानीय तहको सहयोगमा सप्तरी प्रिमियर लिग गर्दै आएको छ । सप्तरीका अध्यक्ष तथा मधेश प्रदेशका सचिव आयुष श्रेष्ठले स्थानीय तहसँग राम्रो समन्वय गर्दा यो सहज भएको बताए ।

‘स्थानीयतहको सहयोगले नै अहिलेसम्म सजिलो भएको छ । जिल्लामा खेलाडीलाई व्यस्त राख्न आफ्नो क्यालेन्डर ल्याउँदै छौं, उनले थपे, ‘प्रदेशको कुरा गर्दा खेलाडी उत्पादन भएको छैन भन्न मिल्दैन । हामीले राम्रो खेलाडी बनाउँछौं । विभागीय टोलीले लैजान्छन् । त्यसले गर्दा पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो । प्रदेशबाट निरन्तर खेल्न हामीले विभागीय जस्तो सेवा सुविधा दिने अवस्था पनि छैन ।’

गण्डकी प्रदेश सबैभन्दा युवा टोली हो । कलिला युवा खेलाडीको प्रदर्शन निकै लोभलाग्दो छ । युवा टोलीलाई राम्रो प्रशिक्षण दिन सके आउने दिनमा गण्डकी उत्कृष्ट टोली बन्ने देखिन्छ । गण्डकीका सचिव सुमन कार्कीले अब बस्ने बोर्ड बैठकबाट निर्णय गर्दै राम्रो प्रतियोगिता गर्ने योजना रहेको बताए ।

यता कर्णालीको अवस्था झनै बिजोग छ । भएको एउटा मैदानमा पनि राष्ट्रिय बाणिज्य बैंकले आफ्नो भवन बनाउन लागेको छ । कर्णालीमा प्रतिभाको कुनै कमी छैन । कप्तान रविन्द्र जंगशाही प्रतियोगिता नहुँदा खेल्ने जोश नै मर्न लागेको बताउँछन् ।

‘मैदान नै नभएपछि खेल्ने कसरी हो ? सबै बाहिर बसेर खेल्न सक्दैनन् । कर्णालीको राजधानीमै मैदान नभएपछि अरु जिल्लामा के आशा गर्ने ? यसले नयाँ खेलाडीको खेल्ने इच्छा मर्छ नै नयाँ खेलाडी आउने बाटो पनि बन्द हुन्छ,’ रविन्द्रले थपे, ‘खेल्न गाह्रो हुन्छ । प्रदेशमा धेरै राम्रो खेलाडी छन् । तर खेल नभएसम्म उनीहरुको सुधार हुन सक्दैन ।’

जिल्ला र प्रदेशका अधिकांश पदाधिकारीलाई क्रिकेट विकास भन्दा विदेश मोह बढी छ । क्रिकेट विकासका लागि कुनै ठोस कार्य र पहल गरेको देखिदैन । क्यानको सदस्यता लिएपछि जिल्ला र प्रदेशबीच को उत्कृष्ट छ भन्ने प्रतिस्पर्धा हुनुपर्ने हो । तर त्यो प्रतिस्पर्धा अन्तरिक राजनीति र विदेश जाने कोटमा मात्र देखिन्छ । नेपाली क्रिकेटमा काम गर्ने हो भने धेरै सम्भावना छ । तर यसका लागि जिम्मेवार पदाधिकारीले वहाना बनाउनु हुँदैन । अहिले प्रदेश र जिल्ला क्रिकेटको नाजुक अवस्था हुनुमा काम गर्न नसक्नु र कुशल नेतृत्व नहुनु मुख्य कारण हो ।

महिला क्रिकेटमा गण्डकीको स्याङ्जा र झापाको मिलन क्रिकेट एकेडेमीको योगदान महत्त्वपूर्ण छ । क्यानको सदस्यता नभएको घादिङले काम गर्ने इच्छा भए कहिले नरोक्ने उदाहरण आफैं प्रतियोगिता गर्दै देखाएको छ ।

क्यानका कोषाध्यक्ष रोशन सिंह जिल्लाहरुले काम गरेपनि नदेखेको भन्दै बचाउ गर्छन् । केन्द्रिय सदस्य पाठक भने काम नगर्ने जिल्लाहरुलाई रेलिगेशन गर्ने र काम गर्ने जिल्लालाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिन्छन् ।

यसरी उत्कृष्ट बनाउन सकिन्छ जिल्ला र प्रदेश टोली

देश संघियतामा गएसँगै हरेक स्थानीयतहले खेलकुदका लागि बजेट छुट्याएका छन् । काम गर्ने इच्छा हुने जिल्ला संघले आफ्नो पहलमा प्रायोजनसँगै स्थानीय तहसँग समन्वय गर्नुपर्छ । गाउँपालिका र नपरपालिका स्तरिय प्रतियोगिताले पनि प्रतिभा खोजीमा धेरै सहयोग पुग्छ । यसका लागि क्लब क्रिकेटको संरचना जीवित गर्न क्लबस्तरीय प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

त्यसो सम्भव नहुँदा जिल्ला शिक्षा कार्यलय र जिल्ला खेलकुद विकास समितिसँग समन्वय गर्दै स्कुल क्रिकेटको विकल्प पनि छ । स्कुल क्रिकेट पनि ग्रासरुटमा प्रतिभा पहिचानको मुख्य आधार हो ।

स्थानीय स्तरका प्रतियोगिता गर्दा टि२० होईन एकदिवसिय र डे क्रिकेट खेलाउनु पर्छ । यसरी खेलाडीले पर्याप्त खेल पाउँदा थप निखारिने अवसर हुन्छ । उनीहरुलाई आफ्नो गल्ती सुधार गर्दै स्तर उकास्ने बाटो हुन्छ । नियमित गतिविधिले भएका खेलाडीको विकास त हुन्छ नै नयाँ खेलाडी पनि थुप्रै आउँछन् । यसले जिल्ला र प्रदेश टोली बलियो बन्छ र अन्तत: देशले खोजे जस्तो प्रतिभा पाउँछ ।

सबै क्षेत्रबाट संरचना विकाससँगै नियमित रुपमा प्रतियोगिता गर्दा फरक पिच र कन्डिसनमा गएर खेल्ने क्षमताको विकास हुन्छ । यसले प्रदेशहरुको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्षमता उच्च हुन्छ । जिल्ला र प्रदेशमा काम गर्ने हो भने धेरै सम्भावना र विकल्प छन् । तर अहिलेजस्तै वहाना बनाएर बस्ने हो भने आउने पिढीले वर्तमान नेतृत्वको विकल्प खोज्न ढिलो गर्नु हुन्न ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.