default_image

3 years ago

July 31, 2022

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रशिक्षक नियुक्तीको लागि छलफल तीव्र रुपमा अघि बढाएपनि तलबको विषयमा निर्णय रोकिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुवुदुले आफ्नो सम्झौताको बीचमै छाडेर गएको हुँदा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न नपर्ने बताएको छ । अर्थात आइसिसीले यसअघिको सर्टलिष्ट मध्यका एक उत्कृष्ट प्रशिक्षकलाई नियुक्त गर्न जनाएको छ । दासानायिकेले मासिक १० हजार डलरमा काम गर्दै आएका थिए । क्यानका जनरल म्यानेजर वृतान्त खनालका अनुसार त्यो तलबमा अन्य प्रशिक्षकले काम गर्न मानेका छैनन् ।

क्यानलाई सबैभन्दा ठूलो चुनौती अव आइसिसी विश्वकप लिग–२ बाट १६ खेल खेल्दै ओडिआई मान्यता जोगाउनु पर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन १६ मध्य कम्तिमा १० खेल जित्नुपर्ने हुन्छ । त्यसले लागि क्यानले उच्च स्तरको प्रशिक्षक नियुक्त गर्न बाहेक अन्य विकल्प छैन ।

पछिल्लो समय नेपाली ब्याटरको प्रदर्शन निकै खराब छ । त्यसैले ब्याटिङका स्तरिय प्रशिक्षक ल्याउनुपर्ने हुन्छ । क्यानले तलबमा कन्जुस्याइँ नगरे र कुनै स्वार्थ नराखे भने उच्च स्तरका प्रशिक्षक आउने सम्भावना छ । यसअघिको सर्टलिष्ट र क्यानले छलफल गरेका प्रशिक्षक हेर्दा नेपाली क्रिकेटका सम्भावित चार मुख्य प्रशिक्षक यस प्रकार छन् ।

४. ततेन्दा ताइबु

जिम्वावेका पूर्व कप्तान तथा विकेटकिपर ब्याटर ततेन्दा ताइबु नेपाली क्रिकेटका सम्भावित प्रशिक्षक हुन् । ततेन्दा क्यानको गतवर्ष सर्टलिष्टमा थिए । यसअघिका दुवै खुल्ला प्रतिस्पर्धाका सर्टलिष्टमा रहेका ३९ वर्षिय ताइबुले २८ टेष्टमा एक शतक र १२ अर्ध शतक सहित कुल १५ सय ४६ रन बनाएका छन् ।

१ सय ५० ओडिआई खेलमा २ शतक र २२ अर्ध शतक सहित ३ हजार ३ सय ९३ रन बनाएका छन् । १७ टि२० आई, १ सय २१ प्रथम श्रेणी र २ सय ३१ लिष्ट ए खेलेका छन् । उनको नाममा अफगानिस्तानका स्पिनर राशिद खान अघि विश्वका सर्वाधिक कान्छा टेष्ट कप्तानको कीर्तिमान थियो । उनले मात्र २९ वर्षको समयमा क्रिकेटबाट सबैलाई आश्चर्य रुपमा सन्न्यास लिँदै चर्चमा काम गर्ने निर्णय लिएका थिए ।

२००८ मा कोलकता नाइट राइडर्समा आबद्ध थिए । जिम्बावेका एक सफल खेलाडी ताइबु नेपाल आउन रुचि देखाउँदै आएका छन् । कमजोर ब्याटिङ समस्या अन्त्य गर्न क्यान पनि ताइबुलाई लिनसक्छ । उनी अन्य प्रशिक्षकको तुलनामा कम पारिश्रमिकमा आउन सक्छन् ।

३. चेतन शर्मा

भारतीय पूर्व क्रिकेटर चेतन शर्मा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ईच्छा व्यक्त गर्दै आएका छन् । ५६ वर्षीय चेतन गतवर्ष सर्टलिष्टमा थिए । पूर्व मध्यगतिका बलर चेतन शर्मा यस पटक भने सम्भावित दाबेदारको दौडमा छन् । चेतनले भारतबाट २३ टेस्ट र ६५ ओडिआई खेलेका छन् ।

उनी एकदिवसिय विश्वकप इतिहासमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । सन् १९८७ को एकदिवसिय विश्वकपमा न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले ओडिआई भारतबाट ६७ विकेट लिनुको साथै ४ सय ५६ रन बनाएका छन् । १९८९ मा कानपुरमा इंग्ल्यान्डविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

शर्मा वर्तमान समयमा भारतीय क्रिकेट बोर्ड बिसिसिआईका मुख्य छनोटकर्ता हुन् । बिसिसिआईसँग राम्रो सम्बन्धको कारण नेपालले धेरै लाभ लिनसक्ने हुँदा उनलाई नियुक्त गर्न सक्ने सम्भावना छ । टेस्ट अनुभवी र भारतीय क्रिकेटका अनुभवी खेलाडी हुँदा शर्मालाई लिनसक्छ । उनले यसअघि आफैंले केहि कम तलबमा आउन सक्ने बताएका थिए ।

२. लालचन्द राजपुत

जिम्बावेका पूर्व मुख्य प्रशिक्षक लालचन्द्र राजपुत नेपाल आउन सक्ने प्रमुख दाबेदार प्रशिक्षक हुन् । भारतीय ६० वर्षिय राजपुत दुई वर्षअघि नेपाल आउने लगभग पक्कापक्की भएपनि अन्तिम समयमा नआउने जनाएका थिए । त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट डेभ ह्वाटमोरलाई नियुक्त गरेको थियो ।

भारतबाट २ टेष्ट, ४ ओडीआई, १ सय १० प्रथम श्रेणी र ६१ लिष्ट ए खेलेका छन् । राजपुतसँग भारत ए सँगै, अफगानिस्तान, जिम्बावे, मुम्बई इन्डियन्स लगायतका विभिन्न टोली सम्हालेको अनुभव छ । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टि२० विश्वकप भारतले जित्दा राजपुत भारतीय टोलीको म्यानेजर थिए । राजपुत सन् २००८ मा आइपिएलमा मुम्बई इन्डियन्सको प्रशिक्षक थिए ।

राजपुत प्रशिक्षक रहँदा अफगानिस्तानले पहिलो पटक टेष्ट मान्यता प्राप्त गरेको थियो । २०१८ मे मा उनी जिम्बावेका प्रमुख प्रशिक्षक बनेका थिए । उनले गत महिना मात्र जिम्बावेबाट फर्केका छन् । राजपुत अनुभवी प्रशिक्षक हुन् । उनलाई ल्याउँदा नेपालले तत्काल नतिजा ल्याउन सक्छ । क्यानले राजपुतसँग छलफल गर्दा १३ हजार माथि डलर मासिक तलब मागेको बुझिएको छ ।

१. मोन्टी देशाई

भारतीय मोन्टी देशाई गतवर्ष नेपालको मुख्य प्रशिक्षक बन्ने लगभग निश्चित थियो । वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षक रहँदै आएका देशाईलाई नेपालले अन्तिम समयमा नलिने निर्णय लिँदै पुबुदुलाई नियुक्त गरेको थियो । देशाई सबैभन्दा राम्रा विकल्प भएपनि गतवर्ष खेलाडी विवादको समयमा क्यान पुबुदुलाई आफू अनुकूल होस् भन्ने चाहन्थ्यो । पुबुदुको प्रशिक्षणमा खराब नतिजा मात्र होईन ओडिआई मान्यता नै संकटमा छ ।

खराब ब्याटिङ समाधानको लागि उनी राम्रा विकल्प हुन् । विश्व क्रिकेटमा हेर्ने हो भने देशाई ब्याटिङका लागि नेपालका सबैभन्दा राम्रा र क्षमता भएका प्रशिक्षक हुन् । देशाईमाथि स्तरको प्रशिक्षक ल्याउन क्यानसँग त्यो पैसापनि छैन ।

क्यानका अनुसार उनले मासिक १३ हजार डलर मागेका छन् । क्यान त्यो तलब दिनसक्छ । किनभने अब नतिजा चाहिएको छ । देशाईसँग १३ वर्षभन्दा बढी प्रशिक्षणको अनुभव छ । अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरेका छन् ।

नेपालले लगातार हार्नुको मुख्य कारण नै खराब ब्याटिङ हो । मोन्टीले नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका छन् । सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए । २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीमा आबद्ध थिए ।

मोन्टीलाई ल्याउँदा भाषामा पनि सहज हुनेछ । उनीसँग विश्व क्रिकेटको राम्रो अनुभव छ । भारतीय र विश्व क्रिकेटमा नेपाली खेलाडीले अवसर पाउनसक्छन् । मोन्टीले लगातार नेपालको प्रशिक्षक बन्न रुचि देखाउँदै पनि आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.