default_image

2 years ago

August 11, 2022

राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन

187 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

युवा विकेटकिपर अर्जुन साउद केन्या भ्रमणका लागि घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भए । घरेलु क्रिकेटमा प्रभाव जमाएपछि १९ वर्षीय अर्जुनले सिनियर टोलीमा अवसर पाएका हुन् । टोलीमा परेपछि उत्साहित अर्जुनलाई सँगसँगै अर्को चिन्ताले पनि सताउन थालेको छ । राष्ट्रिय टोलीबाट खेल्नका लागि उनीसँग उपयुक्त ब्याट छैन । अर्जुन अहिले ब्याटको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।

पुर्ख्यौली घर अछाम भएका अर्जुन भारतको मुम्बईमा गरिब परिवारमा जन्मिएर हुर्किए । पछिल्लो समय धनगढीमा बसेर क्रिकेट खेल्न उनलाई सहज छैन । तर सपना पूरा गर्न निरन्तर संघर्ष गर्दै आएका छन् । हाल उनीसँग नयाँ ब्याट किन्ने पैसा छैन । बुवा भारतमा सुरक्षा गार्ड हुँदा ब्याटका लागि पैसा माग्न सक्दैनन् । उता मुम्बईमा परिवार पाल्न नै धौधौको अवस्था छ । अवस्था अनुसार त बुवाले छोराबाट साहरा अपेक्षा गर्ने समय आएको छ । अर्जुन आफैं क्रिकेट खेलेर ब्याट किन्न सक्ने अवस्थामा पुगिसकेका छैनन्, परिवारलाई साथ सहयोग दिने त अझै टाढाको कुरा ।

अहिलेको अभाव टार्न अर्जुनले भारतीय यू–१९ क्रिकेट टोलीबाट खेलिसकेका पराग मोहन मडकैकरसँग ब्याट मागेका छन् । भारतबाट उनले कुन ब्याट कहिले पठाउँछन् त्यो थाहा छैन । चाडै कुरिअर गरिदिने आशामा अर्जुन बसेका छन् । कारणवश ब्याट आउन ढिलो भएमा के गर्ने उनीसँग उत्तर छैन ।

सामान्यतया शीर्ष खेलाडीसँग २-३ ओटा ब्याट हुन्छ । प्रशिक्षणमा आफूलाई विभिन्न ब्याटले खेल्दै अभ्यस्त बनाउन जरुरि हुन्छ । कुनैपनि ब्याटर आफूलाई सहज लाग्ने ब्याटले खेल्छन् । यसका लागि प्रशिक्षणमा त्यसै ब्याटसँग प्रशिक्षण गर्छन् । ब्याटले थोरै असहज भएपनि त्यसले प्रदर्शनमा प्रत्यक्ष असर पर्छ । तर अर्जुन सिनियर टोलीसम्म आइपुग्दा पनि ब्याट मागेर खेल्ने अवस्थामा छन् । यसले नेपाली क्रिकेट आर्थिक रुपमा कति कमजोर छ भन्ने छनक दिन्छ ।

दुई वर्षअघि प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता मार्फत घरेलु क्रिकेटमा पाइला टेकेका अर्जुनले छोटो समयमै आक्रामक ब्याटिङ र उत्कृष्ट कौशलले सिनियर टोली सम्मको यात्रा तय गरे । घरेलु क्रिकेटमा सुदूरपश्चिमकै लोकेश बमको ब्याट प्रयोग गर्ने गरेको उनले बताए । आफ्नो ब्याट प्रशिक्षणका लागि मात्र प्रयोग गर्न मिल्ने कारण उनले खेलमा भने अरुको ब्याट माग्दै चलाएका थिए । अब सिनियर टोलीमा पनि उनले यहि नियतिबाट गुज्रनुपर्ने अवस्था छ ।

अर्जुनलाई प्रशिक्षण दिनकै लागि मुम्बईबाट प्रशिक्षक दिगम्बर पार्दले एक सातादेखि धनगढीमा छन् । पार्दलेको प्रशिक्षणमा अर्जुनले आत्माविश्वास थपिएको महसुस गरेका छन् । पार्दले पनि अर्जुनको प्रतिभाबाट आफू प्रभावित भएको बताउँछन् ।

‘अर्जुनलाई त म बच्चादेखि नै चिन्छु । खेलाडीलाई ब्याक गर्न (साथ दिन) आवश्यक छ । म आएँ भने मानसिक रुपमा अझ तयार हुने देखेपछि आएको हुँ । यहाँ त्यति धेरै अभ्यास पनि मिलेको थिएन । म उसलाई सहयोग गर्न चाहन्छु । अर्जुनले विश्वकप खेलेको हेर्न सपना छ’, पार्दलेले हाम्रो खेलकुदसँग भने ।

अर्जुन प्रशिक्षक पार्दलेलाई बुवा आमापछिको भगवान मान्छन् । ‘मलाई क्रिकेट वहाँले नै सिकाउनुभएको हो । मेरो लागि जागीर छाडेर आउनुभएको छ । मेरो लागि आमा बुवापछिको भगवान हुनुहुन्छ । टिममा परेर मैले वहाँको लागि केही गर्नुछ’, अर्जुनले भने ।

पार्दलेले प्रतिभावान खेलाडीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको बताए । ‘मैले परिवारबाट साथ नपाउने खेलाडीहरुलाई पनि सिकाउँदै आएको छु । म पनि गरिब थिएँ । गरिब परिवारमा हुर्किएका खेलाडीमा क्षमता छ भने लक्ष्य प्राप्त गर्ने सोच हुन्छ । मैले उनीहरुलाई केही बनाएँ भने यो नै मेरो लागि खुसी हो’, प्रशिक्षक पार्दलेले भने ।

पार्दलेले अर्जुन जस्ता खेलाडीहरुलाई प्रायोजकले साथ दिए थप सहयोग पुग्ने बताए । ‘नेपालमा प्रायोजक धेरै कम छन् । अर्जुनसँग अब खेल्ने ब्याट पनि छैन । ब्याट नै नभएको त होइन । तर यो स्तरमा खेल्न जस्तो ब्याट आवश्यक छ, त्यो छैन,’ उनले भने ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४० किमी प्रति घण्टा गति माथिको बल खेल्न प्याड र हेलमेट राम्रो चाहिन्छ । नत्र चोट लाग्न सक्छ । ब्याट राम्रो भएन भने स्ट्रोक पनि लाग्दैन । अहिलेको समयमा अर्जुनलाई प्रायोजक आवश्यक छ’, पार्दलेले अर्जुनको समस्या भने ।

अर्जुन आफूसँग दुई अभ्यास ब्याट रहेको तर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य नरहेको बताउँछन् । ‘म सँग दुई ओटा ब्याट त छ । तर दुवै फुटेको छ । मैले दाइलाई भनेर ब्याट मागेको छु । किन्न त सकिंदैन,’ अर्जुनले थपे, ‘भारतमा रहेका एकजना दाइ (पराग) लाई आग्रह गरेर उनको ब्याट मागेर खेल्दै छु । नयाँ आउँछ वा पूरानो त्यो भने थाहा छैन ।’

पार्दले अर्जुनमा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने खुवी रहेको बताउँछन् । अर्जुनलाई लामो समयदेखि नियालेका उनले टोलीलाई आवश्यक पर्दा विष्फोटक ब्याटिङ गर्न आग्रह गरेका छन् । ‘मैले अर्जुनलाई भनेको छु । विष्फोटक ब्याटिङ शैली टोलीलाई आवश्यक पर्छ तब गर्नु । नत्र इनिङ खेर जानेछ,’ उनले भने, ‘टिमलाई आवश्यक छ भने हरेक सट महत्त्वपूर्ण हुन्छ । पहिला सामान्य खेल्नु । सिंगल डवलमा ध्यान दिनु । टोलीको जित मात्र सोच्नु ।’

पार्दलेले विश्वकप खेलेपछि मात्र देशको क्रिकेट संस्कृतिमा परिवर्तन आउने बताए । ‘मेरो चाहना छ कि अर्जुनले नेपालबाट विश्वकप खेलुन् । जबसम्म देशले विश्वकप खेल्दैन । तबसम्म खेलको विकास पनि हुँदैन । विश्वकप खेलेपछि धेरै परिवर्तन हुनेछ । सबैले नेपालमा क्रिकेटलाई रुचि लिनेछन्’, उनले भने ।

यस्तो छ उनको प्रदर्शन

गत पुषमा यू–१९ एसिया कपमा अर्जुनले श्रीलंकाविरुद्ध शारजाहमा ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रनको इनिङ खेलेका थिए । काठमाडौंमा सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्जुनले ५ इनिङमा २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने ब्याटरमा दोस्रो स्थानमा थिए ।

मधेश प्रदेशविरुद्ध अर्जुन साउदले पाँचौं नम्बरमा ब्याटिङ गर्दै ८५ बलमा १४ चौका र ५ छक्का सहित १ सय १६ रनको यादगार शतकीय इनिङ खेलेका थिए । शतकमात्र होईन त्यसपछि विकेटकिपिङमा देखाएको कौशल अझ लोभलाग्दो थियो । १ घण्टा ३९ मिनेट मैदान बिताएका उनले त्यसपछि विकेटकिपरमा देखाएको जोश, ड्राइभ र शान्त स्वभावले उनको खुबी प्रष्ट पार्थ्यो ।गण्डकीविरुद्ध अर्जुनले ६८ रन बनाउँदै प्लेयर अफ द म्याच गण्डकीविरुद्ध अर्जुनले १ घण्टा २० मिनेट क्रिजमा बिताएका थिए ।

अर्जुनको त्यो डेब्यू र पारसको तारिफ

पिएम कपमा नेपाली क्रिकेटका सर्वाधिक सफल पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल सम्मिलित बागमतीविरुद्ध अर्जुनले दुई वर्षअघि सुदूरपश्चिमबाट डेब्यू गर्दै २८ बलमा १ चौका र ३ छक्का सहित धेरैको ध्यान ताने । इनिङ सानो थियो । खराब अवस्थामा उनले देखाएको आत्माविश्वास र आक्रामक खेल विश्वस्तरिय थियो । त्यसबेला उनले गरेको प्रदर्शनले भविष्यमा नेपालले विकेटकिपरका लागि धेरै चिन्ता लिनु नपर्ने देखिएको थियो ।

अर्जुनको उक्त प्रदर्शनपछि पारस प्रभावित हुँदै आएर सोधेका थिए, ‘बाबु तिम्रो नाम के हो र कहाँ बस्छौं ?’ अर्जुनले परिचय दिएपछि पारसले सुझाव दिए, ‘फोकस एण्ड किप स्टेडी’ अर्थात ध्यान दिएर निरन्तर अघि बढ्नु ।

पारसको त्यो भनाईले उनलाई थप प्रेरणा र हौसला थप्यो । ‘पारस दाइ नेपालमा सबैको आइडल हुनुहुन्छ । नजिक आएर नाम सोध्दा त धेरै राम्रो र खुसी लाग्यो’, अर्जुनले त्यो क्षण सुनाए ।

दुई महिना अघि अर्जुन १९ औं एसियाडको लागि सुरुवाती प्रशिक्षणमा परेका थिए । एक महिनासम्म अभ्यास गरेपछि आफ्नो खेलमा धेरै फरक पारेको बताउँछन् । ‘प्रशिक्षणमा राम्रो राम्रो कुराहरु सिक्न पाइयो । आत्माविश्वास बढेको छ । हामी अभ्यास सकिएपछि अतिरिक्त चार घण्टा व्यक्तिगत अभ्यास गर्थ्यौं । त्यसले निकै फरक पारेको छ,’ उनले भने ।

पछिल्लो समय राष्ट्रिय टोलीमा पर्न भन्दा टिक्न चुनौतीपूर्ण छ । आफूले राम्रो गर्नेमा अर्जुन पूर्ण आत्मविश्वासी रहेको बताउँछन् । अर्जुन नेपाली मिडिया र समर्थकबाट राम्रो साथ पाएकोमा सबैलाई धन्यवाद भन्छन् ।

को हुन् अर्जुन साउद ?

बुवा रामबहादुर र आमा खकिसरा साउदको जेठो सन्तानको रुपमा अर्जुनको जन्म २००३ मा मुम्बईमा भएको हो । अर्जुनको पुर्ख्यौली घर अछाम हो । तर उनी हालसम्म जन्मथलो पुगेका छैनन् । कमजोर आर्थिक अवस्थाले परिवार नै रोजगारीका लागि भारतमै रहँदै आएका छन् । त्यसैले उनको जन्म र बाल्यकाल मुम्बईको क्रिकेट वातावरणमा वित्यो ।

मुम्बईमा बुवा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । धेरै नपढेको कारण रोजगार पाउन गाह्रो छ । त्यो कमाईले मुम्बईको महँगीमा परिवार चलाउन धौधौ पर्छ । आर्थिक अवस्था कमजोर हुँदा बाल्यकालमा धेरै संघर्ष गर्नुपर्यो । संघर्ष र कमाजोर आर्थिक अवस्थाले अर्जुनको क्रिकेट रुचि रोकिएन । सानोमा उनी पलाष्टिकको ब्याट र बल लिएर गार्डेनमा क्रिकेट खेल्न जान्थे ।

विस्तारै उनलाई क्रिकेटमा लत बस्दै गयो । अघि बढ्दै जाँदा उनले २०१५ मा मुम्बईको चर्चित पुलिस जिमखानमा क्रिकेट खेल्न थाले । गरिव परिवारमा हुर्केको हुँदा खेल्न भन्दा पनि पढाईमै ध्यान धेरै हुने बताउछन् । ‘पढाईले धेरै राम्रो होला भन्ने धेरैले सोच्छन् । मुम्बईमा बस्न सहज थिएन । धेरै संघर्ष गरे । परिवारको अवस्था कमजोर थियो । त्यहिँ संघर्षले पनि मलाई धेरै राम्रो पाठ सिकायो । पुलिस जिमखानामा यशस्वी जैसवाल, पृथ्वी शासँगै रणजीका चर्चित खेलाडीसँग नेटमा अभ्याससँगै गर्थ्यौं’, उनले भने ।

अर्जुनको सपना छ, आफ्नो परिवारलाई नेपालमै घर बनाएर राख्ने । ‘पापाले आफूले नखाएर हामीलाई खेलाउनु भएको छ । पापा मम्मीको लागि म पैसा कमाएपछि नेपालमै घर बनाएर राख्न चाहन्छु’, उनले केही भावुक हुँदै सुनाए ।

अर्जुनको नेपाल यात्रा

अर्जुन सन् २०१९ मा पहिलोपटक नेपाल आएका थिए । उनलाई धनगढी प्रिमियर लिग (डिपिएल) का प्रमुख सुवास शाहीले सन् २०१८ मा धनगढी क्रिकेट एकेडेमी मुम्बई भ्रमण गर्दा नेपाल बोलाएका थिए । अर्जुनले मुम्बईको पुलिसबाट डिसिएविरुद्ध राम्रो खेल खेलेपछि सुवासले नेपाल आउन आग्रह गरेका थिए ।

‘हामीले मुम्बई भ्रमणमा गएका थियौं । अर्जुनले मुम्बई पुलिसबाट खेलेका थिए । त्यसमा उनले राम्रो खेल खेले । पछि बुझ्दै जाँदा नेपाली रहेछन् भन्ने थाहा भयो । त्यसपछि मैले नेपालमा आएर खेल्न सुझाव दिएको थिएँ’, सुवासले गतवर्ष भनेका थिए ।

सन् २०१९ अघि उनी कहिल्यै नेपाल आएका थिएनन् । सुवासले नेपालमा आउन र आफूले सहयोग गर्ने वाचा दिए । त्यसले उनलाई झन राम्रो लाग्यो । धनगढी आएपछि उनले स्थानीय स्तरमा चर्चित लिटिल फ्लावर प्रिमियर लिगमा सानदार प्रदर्शन गरे । उनले एकै खेलमा १३ छक्का सहित लिटिल फ्लावरको सर्वाधिक छिटो शतकको कीर्तिमान बनाए । अनि क्षेत्रिय छनोट हुँदै पिएमकप खेले ।

‘अर्जुनमा भरपूर क्षमता छ, सम्हाल्न सक्नुपर्छ’- वसन्त शाही ठकुरी

वसन्त शाही ठकुरी यू–१९ टोलीका मुख्य प्रशिक्षक हुँदा अर्जुनले एसिया कप खेलेका थिए । अर्जुनलाई नजिकबाट हेरेका वसन्त उनलाई केही सम्हाल्नुपर्ने बताउँछन् । ‘अर्जुन सकरात्मक सोच भएका ब्याटर हुन् । आक्रामक मानसिक सोच भएका खेलाडी हुन् । प्रशिक्षकले भने उनलाई अलिकति सम्हाल्न सक्नुपर्छ’, यू–१९ का प्रशिक्षक ठकुरीले भने ।

‘अर्जुनमा क्षमताको कुनै कमी छैन । अब आउने प्रशिक्षकले प्रयोग गर्न सक्नुपर्छ । जसको जे बलियो पक्ष हुन्छ त्यहि नै कमजोरी हुन्छ । आक्रामक ब्याटिङ गर्ने क्रममा चाडै आउट पनि हुनसक्छ । टि२० मा उसलाई खुल्ला छोड्नुपर्छ । तर ५० ओभरको खेलमा आफूलाई सम्हाल्न सक्नुपर्छ । अर्जुनले सिक्न पर्ने भनेको परिस्थिति अनुसार कसरी खेल्ने भन्ने हो,’ ठकुरीले सुझाव दिए ।

अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिएको छ । नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्ने हो भने अर्जुन पनि त्यसको सारथी बन्न लालायित छन् । उनले पाएको अवसर कति सदुपयोग गर्छन्, त्यसले उनको करिअर कता जान्छ देखाउनेछ ।

पछिल्लो समय नेपाललाई टोलीमा दोस्रो विकेटकिपरको कमी खड्किरहेको छ । एकपछि अर्को प्रतियोगितामा निरन्तर प्रयोग भइरहेको यस स्थानमा उनलाई समय दिन आवश्यक छ । कलिलो उमेरमा सम्भावना देखाएका उनलाई तयार पार्न सके नेपालले एक म्याच विनरका साथै दीर्घकालिन विकेटकिपर समाधान पाउनेमा शंका छैन ।

आक्रामक ब्याटिङका लागि परिचित उनी एकै ओभरमा खेललाई मोड्न सक्छन् । जुन क्षमताको खेलाडी हरेक टोलीलाई आवश्यक छ । टोलीले उनलाई लिएर धैर्यता भने राख्नुपर्छ । गल्ती भइहाले उनीसँग त्यसलाई सुधार्न समय छ । आखिर खेलाडीले गल्तीबाट पनि सिक्ने हो । अर्जुन आफैंले कम गल्ती गरेर यो सुनौलो अवसरको भरपुर सदुपयोग गर्नुपर्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.