3 years ago
September 11, 2022
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली क्रिकेटमा चोटपछि पुनरागमन गर्न धेरै कठिन छ । समयमै स्तरीय उपचार नपाउँदा र उपचार भएपनि फर्कने अवसर नहुँदा खेलाडीलाई चोट अभिसाप नै बन्दै आएको छ । चोटपछि निकै कम खेलाडीले समयमा पुनरागमन गर्ने अवसर पाउँछन् । अझ घरेलु प्रतियोगिताको अवस्था दयनीय हुँदा अधिकांश खेलाडी फर्कन नै पाउँदैनन् । चोटले नै करिअरमा पूर्णविराम लगाउँछ ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर सागर पुनले झण्डै चार वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका छन् । सन् २०१८ को डिसेम्बरमा एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियट्सविरुद्ध खेल्ने क्रममा सागरको खुट्टामा चोट लागेको थियो । सागरले शल्यक्रिया गराउनुपर्ने भएपछि लामो समय मैदानबाहिर रहने पक्का थियो । चोट र त्यसपछि खेलको कमी भएपछि सागरले अमेरिका जाने निर्णय लिए ।
झन्डै ३ वर्ष अमेरिका बसेका सागर नेपाली क्रिकेटबाट गुमनाम नै रहे । अमेरिकामा आफैं प्रशिक्षण गर्दै आएका सागरले काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा एनआरएनए नेपालबाट घरेलु क्रिकेटमा पुनरागमन गरेका छन् ।
एनआरएनएले पहिलो पटक नेपाली घरेलु क्रिकेटमा खेल्ने भएपछि उनले पुनरागमनको अवसर पाएका हुन् । अन्यथा उनले कहिले अवसर पाउँथे भन्न सक्ने अवस्था थिएन । सम्भवत उनको लागि नेपाली क्रिकेटमा फर्कने बाटो बन्द थियो । फर्किहाले पनि त्रिभुवन आर्मी क्लब छाडिसकेको हुँदा उनी अब कहाँबाट खेल्छन् भन्न सक्ने अवस्था थिएन । सागर आफैं पनि यो स्वीकार्छन् ।
‘अमेरिकाबाट आएर मैले भैरहवा वा आर्मीबाट खेल्न त मौका पाउदिन थिएँ । मलाई अवसर चाहिएको थियो । जसरि हुन्छ खेल्नु थियो । एनआरएनएले मलाई अवसर दिनुभयो । त्यसको लागि म खुसी छु र धन्यवाद दिन चाहन्छु,’ सागरले भने ।

एनआरएनएबाट खेल्दै सागरले पहिलो खेलमै सुदूरपश्चिम प्रदेशविरुद्ध १९ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । वर्षाको कारण मात्र ६ ओभरको खेल हुँदा एनआरएनएले ४ विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।
दोस्रो खेलमा भने सागर नेपाल एपिएफ क्लबसँग ६ रनमा आउट भए । सागर आफू खेल्ने अवसरको पर्खाइमा नै रहेको बताउँछन् । ‘पुनरागमन गर्न पाउँदा एकदमै खुसी लाग्यो । दुई तीन वर्षदेखि म पूनरागमन गर्न खोजिरहेको थिएँ । त्यसको लागि म एउटा मौकाको पर्खाईमा थिएँ । त्यसैले यो नवौं राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा एकदमै खुसी लागेको छ’, सागरले भने ।
‘म विगतको सबै कुराहरु बिर्सेस नयाँ सुरुवात गर्न प्रयास गरिरहेको छु । टिमको लागि योगदान दिन पाउँदा धेरै खुसी लागेको छ’, सागरले सुदूरविरुद्ध खेलपछि भने ।

‘म लामो समयदेखि खेल्दै आएको खेलाडी हुँ । तर दुई तीन वर्ष बाहिर हुँदा त कसरी खेल्न पाउँ भन्ने नै थियो । अरु त पछिको कुरा हो । म कसरी खेल्न पाइन्छ भनेर बसेको थिएँ । भाग्यले यो प्रतियोगिता खेल्न पाएँ’, उनले थपे ।
सागरले पहिलो खेलमै आक्रामक ब्याटिङ गरे । त्यसले उनीमा क्रिकेटको भोक देखिन्छ । वर्षाको कारण भने उनले केहि असहज महसुस गरेका थिए । सागर ६ ओभरको खेल हुँदा मात्र ब्याट्सम्यानले मात्र खेल्नुपर्ने थियो ।
‘सबै खेलाडीहरुले राम्रो गरेको थियो । यहाँ आउने भनेको नै जित्नलाई आउने हो । यसैपनि धेरै पछि खेल्ने मौका पाएको छु । मलाई विश्वास गरेर अघि पनि खेल्न पाए । राम्रो भयो र खुसी लाग्यो’, सागरले भने ।
सागर पुनरागमन भन्दापनि कसरी खेल्ने अवसर खोजेको बताउँछन् । ‘मुख्य कुरा पुनरागमन भन्दापनि जसरि हुन्छ मलाई खेल्ने वातावरण चाहिएको थियो । यहाँ नवौं राष्ट्रियले कताबाट जुरायो । म आफ्नो तर्फबाट तयारी गरेको थिएँ,’ उनले भने । सागर अमेरिकामा पनि खाली समयमा फिटनेस देखि क्रिकेट खेल्दै आएका छन् ।

सागर चोटको समयपछि खेलाडीलाई साथदिनु पर्ने बताउँछन् । तर सागरले आफूले चोटपछि कसैको साथ नपाएको बताउँछन् । ‘एउटा खेलाडीले राष्ट्रिय टोलीबाट योगदान दिइरहेको छ । घाइते भएपछि त्यो समयमा कोही साथ दिने मान्छे चाहिन्छ । तर मैले त्यो समयमा कोहि पनि पाइनँ । कसैले पनि के कस्तो भयो भनेर आएर सोधेनन् । त्यसले पनि मलाई अलि डाउन गरायो ।’
‘कोही घाइते हुनुन्छ भने हौसला दिनुपर्छ । एउटा राम्रो खेलाडी यसै गुम्न दिनु हुँदैन । उसले आफ्नो खुन पसिना क्रिकेटलाई दिइरहेको छ नि । घाइते भएपछि कसरी पुनरागमन गर्ने भन्ने नै सोच्नुपर्यो भने राम्रो खेलाडीहरु आएर कसरि प्रदर्शन गर्न सक्छन्?’, उनले निराश हुँदै प्रश्न गरे ।
सागर नेपाली क्रिकेटले पाएको एक उत्कृष्ट अलराउन्डर मध्यमा पर्छन् । सागर खेलाडीको रुपमा कसरी योगदान दिनसक्छु भन्ने ठूलो कुरा रहेको बताउँछन् । ‘मैले प्रदर्शन गरेपनि राष्ट्रिय टोलीमा फर्कन्छु भन्दानपनि मैले जुन टोलीबाट खेलेको छु अहिले त्यसलाई नै सोचिरहेको छु । मैले माथिको लेभलको पनि सोचेको छैन । मैले एनआरएनएको टोलीबाट खेलेको छु । एनआरएनलाई कसरी माथिल्लो स्तरमा पुर्याउन र आफूले कसरी राम्रो गर्ने भन्नेतर्फ केन्द्रित छु’, सागरले भने ।

१५ दिनपछि नेपालमा नेपाल टि२० लिग हुँदैछ । नवौंमा राम्रो गर्दै नेपाल टि२० लिग खेल्ने सागरलाई राम्रो अवसर हुनसक्छ । ‘राम्रो खेल्नुपर्यो । मौका आउँछ । आफूले प्रदर्शन गरेपछि छनोट भएपनि ठिक छ । नत्र चलि रहन्छ’, सागरले नेपाल टि२० बारे भने ।
सागर सुरुमा एनआरएनएबाट खेल्न नेपाल आउँदा सुरुमा अरुले के सोच्ने हुन् भन्नेबारे चिन्ता लिएको बताउँछन् । सागरले घरेलु क्रिकेट भने त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्दर्थे । ‘म सुरुमा आउँदा कसले के भन्नुहुन्छ भन्ने लागेको थियो । सबै जना फरक फरक देशबाट आउनु भएको छ । त्यसपछि बिस्तारै खेल्ने हो । जसरी हुन्छ खेल्ने भन्ने हो । म सिधैं आएर आर्मी वा भैरहवा (लुम्बिनी) बाट खेल्नु भनेर मौका त पाउँदैन । म त एउटा अवसर खोजेको थिएँ । जहाँबाट खेलेपनि खेल्ने नै हो । एनआरएनएले मौका दिनु भयो । म वहाँहरुलाई धन्यावाद दिन चाहन्छु’, सागरले भने ।
सागरले भनेजस्तै नवौं उनलाई क्रिकेटमा फर्कने राम्रो अवसर बन्न सक्छ । उनलाई यसपछि नेपाल टि२० हुँदै सिनियर टोली सम्म फर्कन सम्भावनाको ढोका खुल्ला छ । त्यसको लागि भने सागरले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । अर्कोतर्फ क्यानले खेलाडी घाइते भएपछि राम्रो उपचार र पुनरागमनको आधार बनाइदिनुपर्छ भन्ने विषय फेरी एकपटक चर्चा गर्न जरुरि छ । सागर त एनआरएनएको कारण घरेलु क्रिकेटमा फर्किन पाए । तर अन्यले यस्तो अवसर नपाउन सक्छन् । कम्तिमा खेलाडीले घरेलु प्रतियोगितामा आफूले प्रदर्शन देखाउन पाउनुपर्छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]