default_image

2 years ago

September 15, 2022

विनोद : टियु मैदानका अविरल हार्ड हिटर

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विनोद भण्डारी नेपाली क्रिकेटका उत्कृष्ट विकेटकिपर तथा आक्रामक ब्याट्सम्यान हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय ब्याटबाट अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपनि किपरको भूमिकामा अब्बल मानिन्छन् ।

घरेलु क्रिकेटमा जमेका विनोदबाट अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसै अनुरुप अपेक्षा भएपनि प्रदर्शन ठिक विपरित छ । त्यसैले उनको आलोचना हुने गर्दछ । आलोचना त्यसको हुन्छ जसबाट उच्च अपेक्षा गरिएको हुन्छ । विनोदले यो सहज रुपमा स्वीकार पनि गर्दै आएका छन् । जुन एउटा असल खेलाडीको रुपमा हुनुपर्ने गुण हो ।

नेपाली क्रिकेटकै घरेलु मैदान रहेको टियु क्रिकेट मैदानमा भने विनोदको प्रदर्शन सधैंजसो उत्कृष्ट रहने गर्दछ । झण्डै डेढ दशकयता राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका विनोदले टियु मैदानमा कमजोर प्रदर्शन बिरलै गर्दछन् । त्यसैले उनलाई नेपाली क्रिकेटको घर टियु मैदानको अविरल हार्ड हिटर भन्दा फरक पर्दैन । यस मैदानमा प्रदर्शनकै कारण उनले स्थानीय समर्थक पनि कमाएका छन् । टियुमा विनोद खेल मैदानमा नहुँदा समेत उनका सुपरफ्यान नन्दु विनोदकै जर्सी लगाएर दर्शकदिर्घामा हिँडेको भेटिन्छन् ।

बुधबार विनोदले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट नेपाल पुलिस क्लबविरुद्ध २९ बलमा २ चौका र ७ छक्कासहित ६६ रनको विष्फोटक इनिङ खेले । पावर प्लेमा शीर्षक्रमले आक्रामक खेल्दै राम्रो आधार तय गरेका थिए । क्रिजमा जमेका युवा ओपनर अर्जुन साउद अम्पायरको विवादस्पद निर्णयपछि रन आउट भएपछि कप्तान विनोद मैदान छिरेका थिए । अर्जुन दशौं ओभरको अन्तिम बलमा अर्जुन तेस्रो रन लिनेक्रममा ब्याट नलिइ दौडेर डाइभ हान्दै क्रिज पार भएपनि अम्पायरले आउट दिएका थिए ।

हुन त विनोदले यसअघि आर्मीले खेलेको पहिलो खेलमा मधेश प्रदेशविरुद्ध ३३ बलमा ४ चौकासहित महत्त्वपूर्ण ३४ रन बनाउँदै अप्रत्यासित हारको संकट टारेका थिए । लुम्बिनीविरुद्ध त उनले ब्याटिङ नै गर्नु परेन ।

पुलिसविरुद्ध दुई ओभरमा विनोद र रोहितले कुनै जोखिम लिएनन् । १३ औं ओभरमा विनोदले आफ्नो स्वभाविक खेल खेले । बायाँ हाते स्पिनर ललितनारायण राजवंशीलाई पहिलो बलमै चोभार एण्डबाट डिप मिडविकेटमा सानदार छक्का हाने । एक बलपछि भण्डारीले अर्को छक्का हान्दै अब नरोकिने संकेत दिए । जब विनोद आफ्नो स्वभाविक लयमा आउँछन् तब खेल हेर्न पनि मज्जा आउँछ ।

अर्को ओभरको पाँचौं बलमा विनोदले स्ट्रेटमा सागर ढकाललाई छक्का हाने । तीव्र गतिका बलर गुलशन झालाई १५ औं ओभरको पहिलो बलमा डिप मिडविकेट र दोस्रो बलमा पुल गर्ने क्रममा बल एज लागेर विकेटकिपर पछाडि छक्का हुन पुग्यो ।

विनोद यतिकैमा रोकिएनन् । १७ औं ओभरमा करण केसीलाई एकै ओभरमा दुई चौका र एक छक्का हाने । १८ औं ओभरको चौथो बलमा गुलशनलाई विनोदले अर्को डिप मिडविकेटमा उत्कृष्ट छक्का हानेका थिए ।

नेपालका प्रमुख बलर रहेको पुलिसविरुद्धनै आर्मी आक्रामक रुपमा रन जोड्न सफल रहयो । पुलिसविरुद्ध बलियो लक्ष्य प्रस्तुत गर्दै विनोदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय सही भएको सावित गरे । नतिजा आर्मीले पुलिसलाई १३ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएको छ ।

विहीबार सेमिफाइनलमा विनोदले जन्मथलो सुदूरपश्चिमविरुद्ध आर्मीको कप्तानी गर्नेछन् । यदि वर्षाको कारण खेल नभएपनि आर्मी फाइनलमा समूह विजेताको कारण पुग्नेछ ।

आर्मी र विनोदलाई फापेको टियु

दुई वर्षअघि प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा आर्मीका प्रमुख खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल टि टेन खेल्न गएपनि उनी विनानै च्याम्पियन बन्यो । त्यसमा विनोदको प्रदर्शन महत्वपूर्ण थियो । विनोद भण्डारीले ६ खेल १ सय ७४ रन बनाएका थिए । पहिलो खेलमै गण्डकी प्रदेशविरुद्ध विनोदले ७६ बलमा ११ चौका र ५ चौकासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।

गतवर्ष भएको काठमाडौं मेयर्स कपमा विनोद सर्वाधिक रन बनाउने ब्याटर थिए । उनले ४ खेलमा १ शतकसहित १ सय ८४ रन बनाएका थिए । विनोदले बागमतीविरुद्ध २ सय ६७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय १४ बलमा ८ चौका र ७ छक्कासहित १ सय १९ रनको इनिङ खेलेका थिए । तर आर्मी १० रनले बागमतीसँग स्तब्ध भयो । उक्त खेलमा पारस खड्काले १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।

टियुको मैदानमा प्रदेश र विभागीय टोलीबीच कडा प्रतिस्पर्धा कमै देख्न पाइन्छ । विनोदले बागमतीविरुद्ध बनाएको शतकनै घरेलु क्रिकेटमा टियु मैदानमा बनेको अन्तिम शतक हो । सिनियर टोलीबाट भने रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले केहि महिना अघि शतक हानेका थिए ।

पुलिसविरुद्धको उत्कृष्ट प्रदर्शनपछि विनोदले धेरैपछि राम्रो खेल पाएको बताए । ‘आज मलाई कस्तो लाग्यो भने आर्मीले धेरैपछि राम्रो खेल खेल्न पाएको थियो । प्रदेशहरुसँग खेल्दा त्यस्तो बलियो टोली भेटिदैन । जति गरेपनि प्रतिस्पर्धा हुने भनेको नै पुलिस, आर्मी र एपिएफबीच हो । आजको खेल एकदमै राम्रो थियो । यसले सबै खेलाडीको आत्माविश्वास बढी नै हाल्छ’, विनोदले भने ।

घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरि रहेका भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न मानसिक रुपमै तयार हुनुपर्ने बताउँछन् । ‘माथि गएपछि मेरो विचारमा मानसिक सोच परिवर्तन गर्नुपर्छ । सबै खेलाडीहरु १९-२० नै छन् । कोही पनि तलमाथि फरक छैनन् । एउटा मात्र फरक भनेको मानसिक सोच हो । माथिको स्तर खेल्ने त्यो मानसिक सोच हुनुपर्छ’, विनोदले भने ।

‘हो त्यत्रो वर्ष खेलेपछि मलाई अनुभुती भएको छ कि माथिल्लो लेभलको खेल्न मानसिक रुपमा बलियो हुनुनै पर्छ । एउटा राष्ट्रिय प्रतियोगिता राम्रो खेलेसँगै कुनैपनि खेलाडी नेपाली टोलीमा पर्छ भने गाह्रो हुन्छ’, विनोदले भने ।

विनोदले राम्रो सुरुवातलाई आक्रामक ब्याटिङ गर्दै उत्कृष्ट अन्त्य गरे । उनले शीर्ष ब्याटरले राम्रो आधार दिएको बताए । ‘अर्जुनले राम्रो इनिङ खेल्यो । पावर प्लेमा राम्रो गरेपछि फिनिसिङमा राम्रो गर्नुपर्ने थियो । मध्य ओभरमा रनरेट सुस्त गर्दा अलिकति गाह्रो भएको थियो । विकेट हातमा भएपछि रन बन्छ भन्ने थियो । खेलिरहेको ब्याटर अन्त्यसम्म खेलेको छ भने गाह्रो नै हुन्छ’, उनले भने ।

कुनैपनि विभागीय टोलीलाई राष्ट्रिय खेलकुद जित्नै पर्ने दबाब हुन्छ । त्यसैले हरेक विभागीय टोली यस प्रतियोगितालाई निकै महत्वपूर्ण रुपमा लिन्छन् । तर समूह बी मा बागमती प्रदेश र नेपाल एपिएफ क्लब एक खेल पनि खेल्न नपाई बाहिरिए । खेलको मिति पुन: समायोजन गर्न अन्य ९ टोली सहमत भएपनि आर्मीले भने मानेको थिएन । एनआरएन बैठकमै गएन ।

विनोद आफूले प्रतियोगिता सुरु हुनुअघि नै यो प्रश्न आफैंले सोधेकाले नियमअनुसार नै अघि बढेको बताउँछन् । ‘प्रतियोगिता पहिला पानीको समयमा भयो । मेरो विचारले अलि पछाडिनै हुनुपर्ने थियो । एक पटक सुरु भएपछि ड्र भएको खेल पुन गर्न त्यो चाहिँ मलाई ठिक लाग्दैन । अब उनीहरुको दुर्भाग्य हो । मैले पहिलो बैठकमै अम्पायर विनय कुमार झालाई कुनै टोलीले एउटा पनि खेल खेलेन भने के हुन्छ भनेर सोधेको थिए’, विनादेले भने, ‘विनय सरले के भन्नु भयो भने एउटा टोलीको नहोला । तर अन्य टोलीको एक दुईवटा खेल हुन्छ । त्यसैलाई मान्ने छौं भनेपछि त्यो कुरा त्यहाँनै स्पष्ट भयो । हिजोको बैठक गर्नुपर्ने थियो जस्तो मलाई लाग्दैन ।’

‘हो, विभागमा राखेपले आयोजना गर्ने राष्ट्रिय खेलकुद जित्नैपर्ने दबाब हुन्छ । त्यो अरुले भन्ला नभन्ला । त्यसको मतलब यो होईन कि अर्को टोलीलाई जबर्जस्ती मौका दिने । खेल भईसक्यो भनेपछि भईसक्यो । आइसिसीको नियम अनुसार नै जानुपर्छ । आर्मीले विरोध गर्यो वा फराकिलो मत राख्यो भन्नुपर्छ जस्तो लाग्दैन’, आर्मीका कप्तानले भने ।

यता नेपाली क्रिकेट टोली र छनोट समितिले विनोद नै नेपालको उत्कृष्ट विकेटकिपर भएको बताउँदै आएको छ । तर उनको प्रदर्शन भने अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय अपेक्षा अनुसार छैन । नेपालले पछिल्लो समय आसिफ शेख र अर्जुन साउदलाई त्यस भूमिकामा प्रयोग गरेको छ । केन्या भ्रमणमा अर्जुन साउदले उत्कृष्ट प्रदर्शन र विकेटकिपरको भूमिका निर्वाह गरेका थिए । यसले विनोदलाई उत्कृष्ट प्रदर्शन नगरि अर्को विकल्प छैन ।

विनोद नेपालका अनुभवी विकेटकिपर हुन् । हार्ड हिटरको पहिचान बनाएका विनोदबाट टियुमा जस्तै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन चाहन्छ । विनोद आर्मीको कप्तान हुँदा चौथो नम्बरमा ब्याटिङ गर्दै राम्रो प्रदर्शन गरेका छन् । त्यसमा सफल पनि भएका छन् । विनोदले ओडिआईमा हानेको एकमात्र अर्धशतक २०२० मा अमेरिकाविरुद्ध टियुमै थियो ।

टि२० आईमा पछिल्ला ६ मध्य चार खेलमा ब्याटिङ गर्न पाएका छैनन् । गतवर्ष त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्ससँग टियुमै ७ बलमा ७ रन जोडेका थिए । मलेसियाविरुद्ध ८ बलमा ८ रन नै जोडेका थिए । विनोद आफू भन्दा पनि सेट भएका ब्याटरलाई स्ट्राइक दिन खोजेका थिए । कुनैपनि ब्याटरले ६–७ बल विपक्षका खेलाडी बुझ्न लाग्छ ।

कुनैपनि हिटर र फिनिसरको काम थोारै बलमा धेरै रन बनाउनु पर्ने हुन्छ । आक्रामक सट खेल्दा विकेट गुम्ने जोखिम पनि त्यतिनै हुन्छ । टिम म्यानेजमेन्टले त्यसैले खेलाडीलाई स्वतन्त्र छाड्दै स्वभावीक खेल खेल खेल्न पनि दिनुपर्छ । समर्थक र नेपाल टियुको प्रदर्शन विनोदबाट अन्तर्राष्ट्रिय क्रिकेटमा चाहन्छ । अनुभवी खेलाडीबाट त्यो प्रदर्शन आवश्यक पनि पर्छ । अन्यथा सामान्य प्रदर्शनले भने अव उनलाई नेपाली टोलीमा स्थान बनाउन कठिन देखिन्छ ।

नेपालले विनोदको विकल्पमा अर्जुन र आसिफ मध्य एकलाई तयार पार्ने देखिन्छ । तर यी दुवै ओपनरको भूमिकामा हुँदा विनोदले विकेकिपरमा अझ बढी प्राथमिकता पाउन सक्छन् । त्यसको लागि घरेलु मात्र होईन अन्तर्राष्ट्रिय क्रिकेटमा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.