default_image

2 years ago

September 22, 2022

ड्रप भएपछि कुशलको विष्फोटक पुनरागमन

119 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीले केन्या भ्रमणको लागि साउनको अन्तिम साता १६ सदस्य टोली सार्वजनिक गर्यो । जुन टोली हेर्दा धेरै समर्थक आश्चर्यमा परे । कारण पाँच टि२० आई खेलको सिरिजका लागि घोषणा गरिएको टोलीमा ओपनर कुशल भुर्तेल थिएनन् ।

नेपाली क्रिकेट टोलीबाट सन् २०२१ अप्रिलमा डेब्यू गरेपछि कुशल पहिलो पटक टोलीबाट बाहिर हुनुपरेको थियो । मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले कुशललाई बाहिर राख्नुको कारण उनको तत्कालिन लय रहेको बताएका थिए ।

आइसिसी विश्वकप लिग–२ मा अमेरिका र नामिबिया भ्रमणमा कुशलको सट छनोटलाई लिएर चर्को आलोचना भएको थियो । कुशलमाथि गैर जिम्मेवार सट खेलेर विकेट गुमाएको आरोप थियो ।

तर केन्या भ्रमणमा पवन सरार्फलाई ओपनिङ गराएपछि कुशललाई बाहिर राखेकोमा अनेक प्रश्न उठ्न थाले । तुलनात्मक रुपमा कुशलको भन्दा पवनको लय खराब थियो । ओपनरमा पवनभन्दा कुशल नै उत्तम विकल्प थिए । अझ मध्यक्रममै रन जोड्न नसकेका ब्याटरलाई ओपनिङ गराएपछि धेरै प्रश्नहरु उठे । पवनले पाँच टि२० आई खेलमा क्रमश १, १९, २०, ० र १ रन मात्र जोडे ।

कुशल राष्ट्रिय टोलीबाट बाहिर रहेको दुई महिनापछि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा स्वर्ण जित्दा कुशलले सानदार प्रदर्शन गरे ।फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै पुलिसले स्वर्ण जित्यो । सिनियर टोलीबाट बाहिर भएका कुशलले नवौं क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर बने ।

कुशल आक्रामक ब्याटिङका लागि चिनिन्छन् । तर नवौंमा उनी पहिलाभन्दा झनै विष्फोटक रुपमा प्रस्तुत भए । टिमबाट बाहिरिनुको इख मैदानमा देखाए । उनले फाइनलमा आर्मीविरुद्ध १७ र समूह चरणमा लुम्बिनीविरुद्ध २३ बलमै अर्धशतक हानेका थिए । वर्षाका कारण ८ ओभरमा घटाइएको फाइनलमा पुलिसले जितको लागि प्रस्तुत भएको १ सय ४ रनको लक्ष्य ६.५ ओभरमा पूरा गर्यो । कुशलले छोटो बाउन्ड्रीको फाइदा उठाउँदै १९ बलमा ३ चौका र ६ छक्कासहित ५१ रनको विष्फोटक इनिङ खेले ।

कुशलले नेपाली क्रिकेट टोलीका प्रमुख बलर सोमपाल कामी, जितेन्द्र मुखिया, सुशन भारी र साहब आलमविरुद्ध विष्फोटक इनिङ खेले । सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.३ ओभरमा ९२ रनको विष्फोटक साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । कुशल जितेन्द्र मुखियाको बलमा एलबीडब्लू आउट भए ।

कुशलले प्रतियोगितामा ५ खेलमा १७७.१४ को स्ट्राइकरेटमा १६ चौका, १४ छक्कासहित १ सय ८६ रनका साथ शीर्षस्थानमा रहे । कर्णालीविरुद्ध कुशलले ४० बलमा ३९ रन जोडेका थिए । तर लुम्बिनीविरुद्ध ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । उनी आउट हुँदा खेल दशौं ओभरमा थियो ।

कुशलले लुम्बिनीविरुद्ध एक समय शतकको सम्भावना देखाएका थिए । तर बायाँ हाते स्पिनर बसिर अहमदले चोभार एण्डबाट कुशललाई एलबीडब्लू आउट गरे । कुशल बसिरविरुद्ध सट प्रहार गर्न खोज्दा आफ्नो ग्लभ्स चिप्लिएको बताए । आउट भएसँगै कुशल ग्लभ्ससँग असन्तुष्ट थिए । कुशल आउट भएपछि पेभेलिएनमा आएर आफ्नो ग्लभ्स फाल्दै रिस पोखे ।

कुशलले लुम्बिनीविरुद्ध बनाएको अर्धशतक

‘आउट हुँदा नराम्रो लाग्छ नै । अझ १० ओभर बाँकी थियो । मेरो निराशा ग्लभ्ससँग थियो । त्यो समय ग्लभ्स चिप्लिएको थियो । त्यसैले भएर रिस उठेको थियो’, कुशलले भने ।

‘पुलिसलाई पहिलो स्वर्ण जिताउन पाउँदा धेरै खुसी लागेको छ । हामीले सातौं र आठौं खेलेपनि जित्न सकेका थिएनौं । यो पटक टोली पनि राम्रो थियो । नवौंमा पहिला नै क्रिकेट भयो’, कुशलले भने ।

त्यसैमा उनले थपे, ‘अर्धशतक भन्दापनि मेरो लागि जित महत्त्वपूर्ण थियो । ५० मैले सोचेको थिइनँ । पुलिसले जित्दा ४० रन नै भएको भएपनि म खुसी थिएँ ।’

पानीको कारण प्रतियोगितामा २९ मध्य १८ खेल रद्द भए । तर पुलिसले भने समूह चरणमै तीन खेल खेल्न पायो । कुशल आफूलाई प्रमाणित गर्नुपर्ने अवस्थामा खेल खेल्न पाउँदा भाग्यमानी ठान्छन् ।

‘हामीले यो प्रतियोगितामा आर्मीसँग एउटा खेल हारेका थियौं । अन्य सबै खेलमा राम्रो खेल खेलेका थियौं । म पनि धेरैपछि खेलेको थिएँ । मैले आफूलाई प्रमाणित गर्नुपर्ने थियो । पानी परेपनि पुलिसको दुई खेल बाहेक सबै हुँदा म भाग्यमानी मान्छु । टिमलाई प्रदर्शन दिँदा खुसी छु’, उनले भने ।

कुशल टि२० आईको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी हुन् । उनले इंग्ल्यान्डका ब्याटर डेविड मलानको सुरुवाती दुई खेलमा अर्धशतकको कीर्तिमान तोडेका थिए । कुशलले टियु मैदानमै नेदरल्यान्ड्स र मलेसियाविरुद्ध लगातार तीन अर्धशतक प्रहार गरेका थिए ।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध १७ अप्रिलमा डेब्यू गर्दै ६२ रनको इनिङ खेले । १९ अप्रिलमा मलेसियाविरुद्ध ६१ रनमा अविजित र नेदरल्यान्ड्सविरुद्ध ६२ रनमा आउट भएका थिए । कुशल टियु मैदानमै खेलिरहेको हुँदा यहाँ सहज लाग्ने बताउँछन् । ‘यहाँ नै खेलिरहेको हुँदा सहज लाग्छ । विकेटबारे सबै थाहा छ । मैदानको बाउन्ड्री पनि याद हुन्छ, त्यसैले सहज लाग्छ’, उनले भने ।

कुशल सिनियर टोलीबाट बाहिर भएपछि झनै आक्रामक बनेका छन् । टिमबाट बाहिर भएपछि फर्कन एउटा इख हुने बताउँछन् । ‘टिमबाट बाहिर भएपछि एउटा इख हुन्छ । टिमबाट बाहिर भएपछि जसले पनि पुनरागमनका लागि केहि न केहि गर्नुपर्छ । त्यसैले मनमा पनि इख थियो । पुनरागमनबारे नै सोचेको त छैन । तर फिल्डमा आफ्नो काम निरन्तर गर्ने हो’, उनले भने ।

पहिलो पटक टिमबाट बाहिर रहँदाको खबर सुन्दा नराम्रो लागेको बताए । ‘टिमबाट बाहिर रहँदा अलि नराम्रो नै लाग्यो । त्यो त पार्ट अफ लाइफ हो । कहिले भित्र र कहिले बाहिर हुन्छ । नराम्रो लाग्यो भन्दैमा केहि नगर्ने भन्ने हुँदैन । आफ्नो काम मैले निरन्तर गरिरहें’, कुशलले भने ।

कुनैपनि खेलाडीको लयतल र माथि हुन्छ । टिमबाट बाहिरिएपछि पुन सिनियर टोलीमा फर्किने आधार घरेलु क्रिकेट नै हो । तर नेपालमा भने घरेलु क्रिकेटको अवस्था दयनीय हुँदा पुनरागमनको अवसर पाउन निकै कठिन छ । कुशलले त नवौंको कारण आफूलाई प्रमाणित गर्ने अवसर पाए । तर टोलीबाट बाहिरिएपछि फर्कने अवसर नै नपाउने नेपाली क्रिकेटमा थुप्रै खेलाडी छन् ।

क्यानले कम्तिमा ती खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने आधार भने दिनुपर्छ। घरेलु प्रतियोगिता नहुने हो भने टिममा कसलाई कुन आधारमा बोलाउने भन्ने दुविधा उत्पन्न हुन्छ । अर्कोतर्फ खेलाडीलाई बाहिर राखेपछि कम्तिमा उ भन्दा राम्रोलाई मौका दिुनपर्छ । त्यसले खेलाडीलाई पनि चित्त बुझाउने आधार हुन्छ ।

कुशलको बाल्यकालदेखिको क्रिकेट जीवनी : अवसरमा कुशलले देखाएको कौशल

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.