default_image

2 years ago

October 29, 2022

छनोटमा सबैको रोजाइ, खेलमा बेन्चको बसाइ

163 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

कुनैपनि खेलाडीले आफ्नो क्षमता देखाउन प्रर्दशन गर्ने अवसर पाउनुपर्छ । खेल्ने अवसर नपाएपछि राम्रो क्षमता भएपनि खेलाडी ओझेलमा पर्छ । घरेलु क्रिकेटमा अलराउन्डर सोनु तामाङ यस्तै नियति भोगिरहेका उदाहरण हुन् ।

सोनु घरेलु क्रिकेटमा हिटरका रुपमा चिनिन्छन् । टि२० खेलाडीको पहिचान बनाएपनि त्यसलाई प्रस्फुटन गर्ने अवसर पाउन सकेका छैनन् । नेपालमा पहिला तीन फ्रेन्चाइज लिग हुँदा सोनु धेरै टोलीको रोजाईमा पर्थे । तर प्रतियोगितामा मैदान भन्दा बढी बेन्चमा हुनु पर्दथ्यो । खेल्ने मौका पाइहाले पनि अन्तिम ओभरतिर, त्यो अवसर पनि कमै आउँथ्यो । उनको दुर्भाग्य भनौं वा टिम छनोटमा कमजोरी, जुन टिममा गएपनि बेन्चमै बढी बिताउनु पर्यो ।

सन् २०१७ को धनगढी प्रिमियर लिगमा सोनुलाई ५ टोलीले सर्वाधिक ४० हजारको बोली लगाएका थिए । गोलाप्रथाबाट कञ्चनपुर आइकोनिकले उनलाई अनुबन्ध गर्यो ।

सन् २०१८ मा बी श्रेणीमा रहेका सोनु पुन: एकपटक अधिकतम १ लाख रुपैयाँ रकम बोली लागेपछि गोलाप्रथबाट टिम चौराह धनगढी पुगे । २०१९ मा उनलाई काठमाडौं गोल्डेन्सले ६५ हजारमा अनुबन्ध गर्यो ।

पोखरा प्रिमियर लिगमा पनि उनलाई विभिन्न टिमबीच बोल कबोलपछि चितवन राइनोजले अनुबन्ध गरेको थियो । एभरेष्ट प्रिमियर लिगमा उनी ललितपुर प्याट्रियट्समा अनुबन्धित थिए । इपिएलले अक्सन पारदर्शी नगर्दा भने उनलाई कति टोलीले भित्र्याउन चाहेको थाहा हुन सकेन ।

घरेलु प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने उनले पछिल्लो समय त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेटमा पनि उनी आर्मीको अन्तिम टोलीमा समावेश थिए । मधेश प्रदेश र लुम्बिनी प्रदेशविरुद्ध बेन्चमा राखेपछि तीव्र गतिका बलर आकाश चन्दलाई बेन्चमा राख्दै पुलिसविरुद्ध मैदान उतारेको थियो । पुलिसविरुद्ध २० औं ओभरको पाँचौं बलमा उनी ब्याटिङ गर्न आए । विनोद भण्डारी सेट हुँदा उनले स्ट्राइक विनोदलाई दिए । फिल्डिङमा आरिफ शेख र पवन सरार्फको क्याच लिएका थिए । फाइनलमा अन्तिम ओभरमा ब्याटिङ आएका सोनु स्पिनर ललित नारायण राजवंशीको बलमा गोल्डेन डक आउट भए ।

२०२१ को एभरेष्ट प्रिमियर लिगमा उनले ललितपुर प्याट्रियटर्सबाट एक खेल पनि खेल्ने अवसर पाएनन् । २०१९ मा चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा सोनु बेन्चमै बसे । चितवनले फाइनल पक्का भएपछि काठमाडौं गोल्डेन्सविरुद्ध सोनुलाई प्लेइङ ११ मा मौका त दियो । तर ब्याटिङको अवसर आएन । दुई वर्षअघि काठमाडौं मेयर्स कपमा बागमतीमा पनि बेन्चमै बिताउनु पर्यो ।

सोनुले मौका पाउँदा राम्रो पनि गरेका छन् । २०१८ मा ललितपुर इपिएलको च्याम्पियन बन्दा सोनुले दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले हराउन २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए । कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, गौरभ तोमर, जयकिशन कोल्सावाला जस्ता ब्याटर सस्तैमा आउट हुँदा उनले जितको आधार तय गरे ।

२०१६ को इपिएल पञ्चकन्या तेजले जित्दा सोनु टोलीका सदस्य थिए । घरेलु टि२० मा राम्रो प्रदर्शन गर्ने सोनु पछिल्लो समय खेल्न नपाएपछि नेपाल टि२० लिगमा अक्सनमा विक्न सकेनन् । फ्रेन्चाइज टोलीले खेल नै नखेलेको खेलाडीलाई कमै किन्छन् । सोनु नेपालमा सुरुमा गोल्डेन गेटबाट क्रिकेट खेल्दै सुरुवात गरेका थिए ।

‘सुरुमा मैले कलेज क्रिकेट गोल्डेन गेटबाट खेल्थें । त्यसमा मलाई परेश लोहनी दाइले बोलाउनु भएको थियो’, सानेुले विगत सम्झिए ।

‘म मुम्बईमा क्रिकेट खेल्दा त्यहाँको क्रिकेट अलि फाष्ट हुन्थ्यो । त्यहाँ रेड बलले खेल्ने बानी थियो । नेपालमा आएर एक्कासी ह्वाइट बलले खेल्दा अलि गाह्रो हुने रहेछ । त्यसैले गर्दा म ५–६ नम्बर ब्याटिङ गर्न थाले । त्यो समय हान्नु नै पर्ने सोच्थें । अनि आफूलाई एउटा हार्ड हिटरको रुपमा स्थापित गरें’, उनले भने ।

सोनु नेपाल आएको आठ वर्ष भएको छ । बुबा मम्मी रोजगारको कारण भारतमा हुँदा उनको जन्म दिल्लीमा भयो । क्रिकेट १२ वर्षको उमेर देखि मुम्बईमा खेल्न सुरु गरे । उनीसँगै जुनियर क्रिकेट खेलेका शार्दुल ठाकुर भारतका स्थापित अलराउन्डर हुन् । मुम्बईमा क्रिकेट सिकेका सोनु खेल्न भने नेपाल आए । तर घरेलु क्रिकेटमै जुन रुपमा मौका पाउनु पर्ने हो त्यो पाउन सकेनन् ।

सोनुले तीनै फ्रेन्चाइज लिग जितेका छन् । फ्रेन्चाइज लिगमा उनको माग पनि बढी हुन्थ्यो । तर टिममा बेन्चमै बस्नु पर्थो । सोनु टोलीको रणनीति स्वीकार गर्नुपर्ने बताउँछन् । ‘धेरै नराम्रो त लाग्दैन थियो । टिमको एउटा सन्तुलन हुन्छ । टिममा अरुपनि हिटर हुन्छन् । एउटा ब्याटर नचलेपछि मात्र परिवर्तन गर्ने हो’, उनले भने ।

दुई वर्ष अघि इनरुवामा सोनुले मनोमहन मेमोरियल एकदिवसिय प्रतियोगितामा बागमतीबाट आर्मीविरुद्ध ७५ बलमा ४ चौका र ६ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए । दोस्रो संस्करणको डिपिएल धनगढी टिम चौराहले जित्दा सोनु टोलीका सदस्य थिए ।

‘टि२० आई मात्र होईन एकदिवसिय र टेस्टपनि खेल्न सकिन्छ । त्यो अवस्था अनुसार खेल्न सक्ने हो । समय र परिस्थीतिमा खेल्न सकिन्छ’, उनले भने । सोनुलाई फ्रेन्चाइज टोलीले बी ग्रेडमा ६ फ्रेन्चाइज टोलीले नै लिने गर्दथें । सबै फ्रेन्चाइज टोलीले किन्दा भने खुसी लाग्ने बताए ।

गत वर्ष पिएम कपमा सोनु पहिलो पटक आर्मीबाट खेल्दा भने विवाद भएको थियो ‌‌। चोटको कारण केहि खेलाडी खेल्न नसक्ने भएपछि आर्मीले पहिलो खेलमा नै सोनुलाई कर्णालीविरुद्ध मैदान उतार्यो । तर काठमाडौं जिल्ला क्रिकेट संघले खेल्ने अनुमती नदिएपछि प्लेइङ ११ मा भएर पनि खेल्न पाएनन् ।

त्यसैले आर्मी मैदानमा १० खेलाडी उतारेको थियो । ब्याटिङमा पनि उनी अनुपस्थीत भएपछि १० खेलाडीले ब्याटिङ गर्नु पर्यो । आर्मीले उनी किन ब्याटिङ गर्न आएको भनेर चित्त बुझ्दो जवाफ नदिएपछि फिल्डिङमा अम्पायरले उनको विकल्पमा फिल्डरलाई अुनमति दिएनन् । त्यसपछि उनले पुन खेल्न पाएनन् ।

‘त्यो बेला अलिकति दुःख लागेको थियो । प्रदेशले लेटर नदिँदा हो किनभने त्यो बेला खेलिन्थ्यो होला पनि । राम्रो रन पनि हानिन्थ्यो होला । त्यो सम्झिदा दुःख लाग्छ’, सोनुले भने । त्यहिँ प्रतियोगिता नखेल्दा उनीलाई नेपाल टि२० लिगको ड्राफ्टमा कुनैपनि टोलीले किनेनन् । उनले पछिल्लो दुई वर्षमा खेल नै खेल्न र देखाउन पाएका छैनन् ।

‘पक्कैपनि ठूला प्रतियोगिता खेल्न त मन लाग्छनै । आफूमा केहि न केहि कमी हुनसक्छ । त्यसको लागि बाटो निकाल्नु पर्यो । सबै कुराहरु एकै पटक आउँदैन । अक्सनमा सबैजना पर्दैन । केहि कमी होला र त नबिकेको होला’, उनले भने ।

‘मौका नपाउँदा नराम्रो नै लाग्छ । तर मौका कुनै न कुनै दिन त अवश्य पाउँछु होला । त्यो बेला राम्रो गरेपछि अगाडि अवसर आउँछ’, उनले भने ।

नेपालमा राष्ट्रिय मात्र होईन जिल्ला देखिनै टि२० प्रतियोगिता बढी हुने गर्दछन् । यसले खेलाडीको क्षमता हेर्न कठिन पर्दै आएको छ ।

‘नेपालमा ५० ओभरको पनि खेल हुनुपर्ने हो । टि२० को लागि एउटा छुट्टै टिम बनाउनु पर्ने हो । यो खेलाडी टि२० को लागि योग्य छ, त्यसलाई टि२० मा मात्र राख्नुपर्छ । ५० ओभर र टि२० दुवै खेल्न गाह्रो हुन्छ । मेरो विचारमा दुई टिम बनाउँदा सहज हुन्छ ।’

सोनुको अबको लक्ष्य प्रमाणित गर्नु नै छ । ‘अबको मेरो लक्ष्य आफूलाई फिट राख्नुछ । आफूलाई प्रमाणित गर्नुपर्ने छ’, उनले भने । सोनु टि२० का क्षमतावान् खेलाडी हुन् । तर त्यो अवसरनै पाएका छैनन् । हरेक टोलीमा बेन्चमा बिताउँदै आएका छन् । त्यसैले उनलाई बेन्च स्टार पनि भनिन्छ ।

खेल्ने मौका नै नपाएपछि भने बेन्चबाट माठि उठ्न उनलाई कठिन पर्दछ । अर्कोतर्फ सोनु टि२० फ्रेन्चाइज मौका पाउन पनि घरेलु क्रिकेटमा प्रदर्शन देखाउन सक्नुपर्छ । त्यसको लागि खेल्ने पर्याप्त अवसर नै पाउनुपर्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.