default_image

2 years ago

October 27, 2022

पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमान्चक जित

140 views

0 Bookmark

एजेन्सी – जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि एक रनको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कठिन बनेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।

पाकिस्तानलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो । पहिलो बलमा ब्राड इभान्सलाई मोहम्मद नवाजले तीन रन प्रहार गरे । मोहम्मद वासिम जुनियरले दोस्रो बलमा चौका हानेपछि बाँकी चार बलमा चार रन चाहिँएको थियो । तेस्रो बलमा एक रन बटुले । चौथो बल नवाजले डट खाए ।

दुई बलमा तीन रन चाहिँएको थियो । पाँचौं बलमा नवाज मिडअनमा क्रेग एर्विनबाट २२ रनमा क्याच आउट भएपछि खेल थप रोमान्चक बनेको थियो । नवाजले १८ बलमा १ चौका र १ छक्का हाने । अन्तिम बलमा तीन रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदी दुई रन लिने क्रममा रन आउट भएपछि जिम्बावे विजयी भएको हो ।

पाकिस्तानका शन मसुदले ३८ बलमा ३ चौकासहित सर्वाधिक ४४ रन बनाए । पाकिस्तानका दुबै ओपनर तथा प्रमुख ब्याटर मोहम्मद रिजवान र बाबर आजम दोस्रो खेलमा पनि चल्न सकेनन् । तीव्र गतिका बलर ब्राड इभान्सको चौथो ओभरको तेस्रो बलमा बाबर एज लागेर स्लिपमा रर्यान बर्लबाट क्याच आउट भए । बाबरले सात बलमा खाता खोलेका थिए ।

तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानीले पाँचौं ओभरको चौथो बलमा रिजवानलाई १४ रनमा बोल्ड गरे । रिजवानले १६ बलमा १ चौका र १ छक्का हाने ।

ल्यूक जाेंगवेको बलमा एज लागेर इफ्तिखार अहमद ५ रनमा आउट भए । चौथो विकेटका लागि शादब खान र शन मसुदले ३६ बलमा ५२ रनको साझेदारी गरेका थिए । त्यसपछि सिकन्दर राजाले तीन विकेट लिँदै पाकिस्तानलाई समस्यामा पारे ।

राजाको १४ औं ओभरको चौथो बलमा शादब खान लङअफमा सेन विलियम्सबाट क्याच आउट भए । शादबले १४ बलमा १ छक्कासहित १७ रनमा आउट भए । शादब लगातार दुई छक्काको धुनमा आउट भए । लगत्तै अर्को बलमा हैदर अली एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्किए ।

राजाले १६ औं ओभरको पहिलो बलमा मसूदलाई स्टम्पिङ गराउँदै ९४-६ को अवस्थामा पुर्याए । जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । ब्राड इभान्सले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । जिम्बावेका सेन विलियम्सले २८ बलमा ३ चौकासहित सर्वाधिक ३१ रन बनाए । एक समय जिम्बावे १३।४ ओभरमा ९५–३ को बलियो अवस्थामा थियो ।

तर बाँकी ६ बलमा कुनै रन जोड्न नसक्दा मध्यक्रमका प्रमुख चार ब्याटर गुमाएपछि संकटमा परेको थियो । स्पिनर शादब खानको १४ औं ओभरको पाँचौं बलमा स्वीप खेल्ने धुनमा सेन विलियम्स बोल्ड हुन पुगे । लगत्तै अर्को बलमा बाबर आजमले फष्ट सिलिपमा रेजिस चकभाको क्याच एक हातले उत्कृष्ट क्याच लिँदै पेभिलिएन फर्काए ।

तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले १५ औं ओभरको सुरुवाती दुई बल डट राखे । राजा दबाबमा तेस्रो बलमा डीप स्क्वायर लेगमा हरिस रौफबाट ९ रनमा क्याच आउट भए । उनले १६ बलमा १ चौका हाने ।

लगत्तै अर्को बलमा ल्यूक जोंगवेलाई जुनियरले बोल्ड गर्दै ह्याट्रिक नजिक पुगेका थिए । त्यसपछि भने लगातार दुई वाइड फ्याँलेका थिए । मध्यक्रममा चार विकेट गुमाउँदा कुनै पनि रन जोड्न सकेन ।

जिम्बावेले सुरुवात भने राम्रो गरेको थियो । वेस्ली मधेवेरे र कप्तान क्रेग एर्विनले पहिलो विकेटका लागि ५ ओभरमा ४२ रन जोड्दै राम्रो सुरुवात दिलाए । हरिस रौफको बलमा एर्विन मोहम्मद वासिमबाट १९ रनमा क्याच भए ।

उनले १९ बलमा २ चौका प्रहार गरे । मधेवेरे १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । रयान बर्ल १० र ब्राड इभान्सले १९ रन बनाए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शादब खानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए ।

पाकिस्तान पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको थियो । पाकिस्तानले अव आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि विहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तान सेमिफाइनलमा पुग्न यी सबै खेल जित्नु पर्छ । दक्षिण अफ्रिकाले भारतसँग पनि हार्नुपर्छ । जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण अंक बाँडेको थियो । जिम्बावेले अव आइतबार बंगलादेशसँग खेल्नेछ । बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्नेछ ।

अंक तालिका :

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.