default_image

3 years ago

November 2, 2022

आलोचकलाई अंकितको शतकीय जवाफ

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शतक कुनैपनि खेलाडीको लागि विशेष हुन्छ । जुनसुकै टोली, खेल वा प्रतियोगिता होस्, कुनैपनि ब्याटर क्रिजमा प्रवेश गर्दा ठूलो इनिङ र टोलीको भूमिका निर्वाह गर्न उत्रिएका हुन्छन् । अझ ओपनरको लक्ष्य र भूमिका लामो इनिङ खेल्नु हुन्छ । जुन निकै कमले पूरा गर्दछन् ।

राष्ट्रिय प्रतियोगिताको शतकको महत्व भिन्न हुन्छ । त्यसमा पनि पहिलो त सधै विशेष नै । प्रदेश एकका युवा ओपनर अंकित सुवेदीले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध शतकीय इनिङ खेले ।

बागमती प्रदेशलाई ६९ रनले हराउन अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको परिपक्व इनिङ खेले । त्यो इनिङलाई कप्तान सिद्धान्त लोहनीले साथ दिँदै ४० बलमा ३ चौका र ८ छक्का हान्दै ७१ रनको विष्फोटक इनिङ खेले । यी ब्याटरको उत्कृष्ट इनिङमा बागमतीविरुद्ध प्रदेश एकले ३ सय ४ रन बनाएको थियो ।

बागमती प्रदेश घरेलु क्रिकेटमा राम्रो टोली हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीमा तीव्र गतिका बलर प्रतिश जि.सी र नन्दन यादव जस्ता स्तरिय तीव्र गतिका बलर छन् । स्पिनरमा सूर्य तामाङ र तिलकराज भण्डारी जस्ता खेलाडी छन् । जुन नेपाली टोलीका भविष्यको रुपमा हेरिँदै आएको छ ।

स्तरिय बलर भएको बागमतीविरुद्ध अंकितले आफ्नो राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हाने । स्पिनर ईशान पाण्डेलाई प्वाइन्टमा सट हान्दै उनले १ सय २२ बलमा शतक पूरा गरेका थिए । शतकपछि दौडिएर दुई हात उठाउँदै सेलेब्रेसन गरे । त्यसपछि उनले आफ्नो हेल्मेट खोले र आकाशतिर हेरे ।
लगत्तै भुँईमा बसे र भावुक बने ।

आँशु लुकाउन उनले दुई हातले आँखा छोपे । दौडिदै आएर कप्तान सिद्धान्तले उनलाई सम्झाए । केहि समयपछि उनले आफ्नो हात पेभेलिएनतर्फ देखाउँदै पुन सेलेब्रेसन गरे । त्यो समय उनी निकै भावुक थिए । शतकमा त खुसी हुनुपर्ने हो । तर आफ्नो सबै आलोचना सम्झदै भावुक बने । म त्यसै टोलीमा परेको होइन भन्ने प्रमाणित गरे । जुन खुशी आँशुमा परिणत भयो ।

प्रदेश एकबाट लगातार खेल्दै आएपनि क्षमत अनुसार प्रदर्शन गर्न सकेका थिएनन् । त्यसैले उनी आफैले यो प्रतियोगितामा राम्रो नगरे करिअरनै सकिने सोचमा थिए । उनलाई गल्ती गर्ने ठाउँ थिएन ।

जिल्लामा आलोचना यति सम्म भएको थियो कि प्रदेश होईन जिल्लाकै टिममै राख्न हुन्न भन्नेसम्म आवाज लगातार उठेको थियो । त्यहि आवाजको इख लिँदै उनले शतक हाने र ब्याटबाट राम्रो जवाफ दिए । अब तत्काल त्यो आलोचना उनले सुन्नुपर्ने छैन ।

‘पहिलो शतक प्रहार गर्दा धेरै राम्रो लागेको छ । त्यसमा पनि टिमको जित हो । धेरैपछि सिनियरमा हामीले जित हात पार्यौं । यसअघि राम्रो खेल्दा खेल्दै पनि जित्न सकेका थिएनौं । टिमको जितमा मेरो शतक काम लाग्यो । हारेको भए त शतक काम लाग्ने थिएन । त्यसैले खुसी लागेको छ’, शतकपछि अंकितले भने ।

अंकित आफ्नो बारे नराम्रो कुरा आएको बताउँछन् । जसको कारण प्रदर्शन गर्दै प्रमाणित गर्नुपर्ने दबाबमा थिए । ‘मेरो बारे एकदमै नराम्रो कुराहरु आएको थियो । कसरी किन पर्यो भनेर । राम्रो गरेर आउँदा पनि त्यस्तो कुरा आएको थियो । त्यसैले केहि दबाबमा थिए । हिजो पनि राम्रो भएको थियो । आज विकेट पनि राम्रो थियो । ५० हानेपछि शतक हानेर मैले प्रमाणित गर्नु पर्छ नै एउटा सोच थियो । त्यसैले एकदमै खुसी लागेको छ’, उनले भने ।

अंकित जिल्लाकै टिममा राख्न हुन्न भन्ने सम्म आवाज उठेको हुँदा धेरै भावुक भएको बताउँछन् । ‘उता घरतिर जिल्लामै नराख्ने जस्तो कुरा आएको बेला साथ दिनुभयो । जिल्ला अध्यक्ष, सदस्य, लाक्पा दाइ, सबै दाइले साथ दिनु भयो । प्रदेशमा पनि ठिकै प्रदर्शन गर्दा फिटनेशमा अलिकति समस्या आएको थियो । प्रदेश एक व्यवस्थापक र छनोटकर्ताले मलाई विश्वास गर्नुभयो । त्यो विश्वासमा आज प्रमाणित गरे । मैले सेलेब्रेसन आफ्नो लागि भन्दा पनि प्रमाणित गरे भनेर भावुक हुन पुगे’, उनले भने ।

अंकित प्रदेश एकका एक आशा लाग्दा क्रिकेटर हुन् । झापामा उनले लगातार कडा मिहिनेत गर्दै आएका छन् । तर प्रदर्शन राम्रो हुन सकेको थिएन । राम्रो गरेपनि २०–३० मै रोकिनु परेको थियो । यू१९ बन्द प्रशिक्षण हुँदै यू१९ नेपाली टोलीमा परेपनि कागजपत्र समस्याले खेल्न नपाएका क्रिकेटरमा पर्दछन् । गतवर्ष यू१९ खेल्दा उमेरमा प्रश्न उठ्दै आलोचित हुनु पर्यो ।

अंकित अब पनि प्रदर्शन गर्न नसके करिअरनै सकिने सोच आएको बताउँछन् । ‘मलाई अलिकति इनिङ अघि बढाउन समस्या आएको थियो । पछिल्लो एक महिनामा आफूले आफूलाई अब पनि गरिन भने मेरो करिअर सकिन्छ । मैले मौका पाउदैन र टिममा प्रर्दैन भन्ने जस्तो सोच आएको थियो । भगवानलाई विश्वास गरेर मिहिनेत गरे । आगमी दुई खेल जितेर सेमिफाइनल पुग्न मेरो योगदान रहोस्’, उनले भने ।

सिद्धान्त आएपछि उनलाई झन् सहज भयो । अंकित आफूलाई अझ खुलेर खेल्न पाए । सिद्धान्त ३५ औं ओभरको चौथो बलमा सोनु अन्सारी आउट भएपछि मैदान छिरेका थिए । त्यो समय अंकित ९९ बलमा ७६ रनमा खेलेका थिए । सिद्धान्त र अंकितले छैटौं विकेटका लागि मात्रै ६९ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । सँगै क्रिकेट खेल्ने यी दुई खेलाडीको जोडि पुन जम्यो । त्यसको मुख्य कारण एकअर्काले खेल राम्रोसँग बुझ्नु हो ।

‘सिद्धान्त दाइ आउनु अघि सोनु अन्सारी दाइले पनि राम्रो खेल्नु भयो । सिद्धान्त आएपछि त मलाई शतकको लागि निकै सहज भयो । हैन भने त दबाब हुन सक्थ्यो । सिद्धान्त र मेरो तीन चार वटा शतकीय साझेदारी भइसकेको छ । मलाई रनिङ बिटविन द विकेट देखि अन्य पक्षमा धेरै सहज भयो । आज म जति शतकको लागि खुसी छु । दाइको प्रदर्शनमा त्यतिनै खुसी छु’, अंकितले भने ।

हिटर सोनु अन्सारीले १७ बलमा १ चौका र २ छक्कासहित १९ रन जोडेका थिए । अंकित यो प्रदर्शन यहिँ सकिने र अर्को दिनबाट नयाँ सुरुवात गर्नुपर्ने बताउँछन् ।

‘यो प्रदर्शनले आत्माविश्वास आउँछ । तर बढी आत्माविश्वासी हुन भएन । अर्को हुने खेलमा पनि शून्य देखि सुरु हुने हो । शतकमा खुसी लाग्छ । तर फेरि नयाँ सुरुवात गर्नुपर्छ’, उनले भने ।

यता सिद्धान्त धेरैपछि आफ्नो प्रदेशबाट शतक बन्दा खुसी लागेको बताए । ‘अंकितले एकदमै राम्रो खेल्यो । हाम्रो प्रदेशबाट धेरैपछि शतक बनेको हो । शतक कोहीबाट पनि आएको थिएन, सिद्धान्तले भने ।

‘म र अंकित भनेको धेरै समयदेखि सँगै खेल्दै आएका छौं । जब मैले पहिलो पटक शतक हानेको थिए त्यो बेला अंकित मसँग थियो । आज अंकितले पहिलो शतक हान्दा म छु । हाम्रो साझेदारी प्राय राम्रो हुन्छ । एक अर्कामा विश्वास हुँदा आँखाको ईशारामा रन जोड्न सक्छौं । अंकितले सिंगल डबल गर्दै राम्रो खेलेको थियो । प्रदेश एकका लागि यो एक उत्कृष्ट इनिङ थियो । एकदमै खुसी लागेको छ । आगमी दिनमा पनि यस्तै गर्दै जाअ‍ोस्’, सिद्धान्तले भने ।

अंकितले भनेजस्तै उनको यो इनिङ सकिएको छ । प्रदेश एकले अब मधेश र लुम्बिनीसँग खेल्न बाँकी छ । सेमिफाइनलमा पुग्न दुवै खेलमा जित्नुपर्ने हुन्छ । एक खेलमा पराजित हुँदा अन्य टोलीमा भर पर्नुपर्छ । यसको लागि सिद्धान्त र अंकितले यो लयलाई निरन्तरता दिनुपर्छ । यहाँ राम्रो गर्न सकेमात्र नेपाल टि२० लिग जस्ता ठूला अवसरमा पुग्ने अवसर जुर्छ ।

नेपाली टोलीबाट खेलिसकेका सिद्धान्त नेपाली टि२० लिगमा अनुबन्धित छन् । सिद्धान्तलाई नेपाली टिममा फर्किन लगातार यस्तो प्रदर्शन गर्नुपर्ने हुन्छ । अंकितलाई नेपाल टि२० लिग हुँदै अन्य ठूला अवसर पर्याप्त गर्न आगमी दिनमा यो भन्दा अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

एउटा इनिङ मात्रै होईन लगातार त्यो किसिमको प्रदर्शन अव आवश्यक जस्तै बनेको देखिन्छ । अनि मात्र उनलाई अन्य अवसर खुल्नेछन् । थोरै घरेलु अवसरमा आफूलाई प्रमाणित गर्न अब भने चुक्नु हुँदैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.