default_image

2 years ago

November 7, 2022

उस्तै छ मुलपानीको पिच

124 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

कुनैपनि खेलाडीको सिनियर टोलीसम्म पुग्ने प्रमुख आधार राष्ट्रिय प्रतियोगिता हो । हरेक खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका र अन्य अवसर खुलाउन चाहन्छन् ।

प्रदर्शन देखाउन खेलाडीले आफ्नो कडा मिहिनेत, क्षमता र शैली भएर मात्रै हुँदैन । क्रिकेट खेल्ने मैदान पनि त्यतिनै राम्रो हुनुपर्छ । मैदानको स्तर राम्रो नहुँदा क्षमता भएका खेलाडी पनि ओझेलमा पर्ने गर्दछन् । नेपालमा मुलपानीको माथिल्लो क्रिकेट मैदानको त्यसैको राम्रो उदाहरण हो । जुन मैदानको कारण ब्याटरहरु आफ्नो क्षमता देखाउन सकेका छैनन् ।

लगातार चर्को आलोचना खेप्दै आएको मुलपानी क्रिकेट मैदान नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक पिच मर्मत गरेको र स्तरिय पिच रहेको दाबी गर्दै आएको थियो । तर त्यो दाबी मैदानमा देखिदैन । ब्याटिङका लागि कठिन मानिने माथिल्लो मुलपानी मैदान यस पटक पनि उस्तै छ । यसअघि तल्लो मैदानमा प्रधानमन्त्री कपको एक संस्करण म्याट राखेर गरिएको थियो । तर चर्को आलोचनापछि तल्लो मैदान छाडेर प्रतियोगिता पुन: माथिल्लो मैदानमा हुन थालेको छ ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मुलपानीमा खासै परिवर्तन देखिदैन । सदाझैं राम्रो पिच नबन्दा स्पिनर हावी हुँदै आएका छन् । यसपटक तीव्र गतिका बलरले पनि केहि फाइदा उठाएका छन् । पिचको माटो फेरिएको छ । तर ब्याटिङ गर्न उस्तै मुश्किल छ । पिच अझै सेट नभएको गुनासो खेलाडीले गरेका छन् ।

आइतबार गण्डकी प्रदेशले साविक विजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १ सय ६५ रनमा अल आउट गर्यो । एक समय ५४–६ को दयनीय अवस्थामा पुगेको आर्मी विधान श्रेष्ठको दुई ड्रप क्याचको फाइदा उठाउँदै १ सय ६५ योगफलसम्म पुगेको थियो । गण्डकीका स्पिनर विपिन खत्रीले चार, कमल परियार दुई र सुवास भण्डारीले एक विकेट लिए । यी तीन स्पिनरको सामु रोहित पौडेल, अर्जुन साउद, कुशल मल्ल, भीम सार्की र विनोद भण्डारी जस्ता सिनियर टोलीका ब्याटरलाई खेल्न मुश्किल पर्यो ।

उक्त लक्ष्य पछ्याएको गण्डकी ९९ रनमा अल आउट भयो । आर्मीका स्पिनर सुशन भारी ९ ओभरमा १४ रन खर्चेर ५, कुशल मल्ल र साहब आलमले दुई दुई विकेट लिए । १० मध्य ९ विकेट स्पिनरको नाममा रह्यो । मुलपानीमा अहिले पनि स्पिनर नै हाबी बन्दै आएका छन् ।

मुलपानीमा गण्डकी र एपिएफबीचको खेल टाई भयो । सिनियर टोलीका आसिफ शेख, प्रदीप ऐरी, लोेकेश बम, सन्दीप जोरा र शरद भेषवाकर जस्ता ब्याटर रहेको गण्डकीको स्पिन सामु १ सय १५ रनमै अल आउट भयो । पार्ट टाइम स्पिनर अर्जुन कुमालले तीन विकेट लिएका थिए । उक्त लक्ष्य पछ्याएको गण्डकी १ सय १५ रनै रोकियो । एपिएफका स्पिनर मौसम ढकालले चार विकेट लिए ।

मुलपानीको पिचमा रन बनाउन विगतदेखिनै कठिन पर्दै आएको छ । यसपटक प्रतियोगिताको सुरुवाती दिनमा विकेट नयाँ हुँदा पुलिसले बागमतीविरुद्ध दीपेन्द्रको शतकमा २ सय ८९ रन बनाएको थियो । त्यसै मैदानमा मधेश प्रदेशले लुम्बिनीविरुद्ध २ सय ५९ रन बनाएको थियो ।

लगातार खेल हुँदा र पिच नयाँ भएकाले मुलपानीको पिचमा ब्याटिङ गर्दा धूलो उठ्छ । धेरै खेलाडीको जवाफ उस्तै छ पाइन्छ । तर पहिला जस्तो होइन । ब्याटरले स्वीप सट खेल्दा फुंग धुलो उडेको देखेपछि बेन्चमा रहेका खेलाडी हाँसिरहेका देखिन्छ । आइतबार भीम सार्की क्रिजमा रहँदा आर्मीको बेन्चबाट एक खेलाडी यो पक्का धुलो बढारेको जस्तो देखियो भन्दै थिए ।

मुलपानीको पिचको मुख्य क्युरेटर अजय पाण्डे छन् । उनैले लामो समय देखि हेर्दै आएका छन् । तर पिचको अवस्था अझै सोचेजस्तो सुधार हुन सकेको छैन । ‘हामीले पिचको पुरानो माटो परिवर्तन गरेर ८ इन्च नयाँ माटो राखेका छौं । ग्रास, रोलिङदेखि सबै नयाँ भएको छ । नयाँ काम सकेर प्रधानमन्त्री कप खेलाएका छौं’, क्युरेटर अजय पाण्डले हाम्रो खेलकुदसँग भने ।

पाण्डेका अनुसार पिचमा व्यापक सुधार हुन त्यस्तै किसिमको सामग्री चाहिन्छ । ‘हामीसँग सुधार हुनलाई त्यस्तै किसिमको सामान भयो भने अझै राम्रो हुन्थ्यो । हेभि रोलरहरु चाहिन्छ । त्यो केहि समयमा आउँदैछ । त्यसपछि पिच अर्कै हुन्छ’, उनले भने ।

‘पहिला कुरा त के हो माटोको कम्प्याक्टनेसको हो । त्यसपछि ग्रास, सामाग्रीहरु हुन्छ । यसमा हामीले मोटो ग्रास हालेका छौं । त्यसमा पात मात्रै भयो भने टर्न हुने सम्भावना कम हुन्छ । डाठहरु हुँदा स्पिन हुने सम्भावना अलि बढी भएको हो । अहिलेका तीन वटा पिच ब्याटिङका छन् । दुई, चार र पाँच नम्बरका पिच ब्याटिङ हुन् । अरु पिचमा जस्तो त्यसमा टर्न हुँदैन’, उनले भने ।

गण्डकीका कप्तान विपिन खत्रीले पनि पिचमा खासै फरक नभएको बताए । ‘मुलपानीको पिचमा खासै फरक केहि छैन । मलाई त पहिलाको जस्तै लाग्यो । पहिला पनि घुम्ने थियो । अहिले पनि फसेर घुमेको छ’, विपिनले भने ।

एक समय ५४-६ को स्थितिमा पुगेको आर्मीका कप्तान विनोद भण्डारीले यस पिचमा ब्याटरहरुले संघर्ष गर्दा खासै अचम्म मान्न नहुने बताए । ‘अब यो पिचमा त्यो अचम्म मान्नुपर्ने खासै कुनै कुरा थिएन । हामीले विहान पनि कुरा गरेका थियौं । साझेदारी राम्रो भए रन आउन पनि सक्छ । ३०-३५ रनको साझेदारी गरेर आउट हुने सम्भावना कम हुन्छ । नयाँ ब्याटर जाँदा आउट हुने सम्भावना धेरै हुन्छ’, विनोदले खेलपछि भने ।

विनोद ब्याटरलाई रन बनाउन मुलपानीको पिचले पनि साथ नदिएको बताएका छन् । ‘ब्याटरहरुले रन बनाउनै पर्छ । यो राष्ट्रिय प्रतियोगितामा प्रदर्शन नगरे कहाँ गर्ने भन्ने हुन्छ । प्रदर्शन गर्न पिचले पनि खासै मद्दत गरेको छैन । टियुमा त ब्याटिङको लागि एकदमै राम्रो छ । यहाँकोमा ब्याटरलाई दोष दिन मिल्दैन । पिच एकदमै गाह्रो छ’, विनोदले भने ।

‘पिचमा माटो थपिएको थियो । मैले पिचमा खासै फरक देखिन । पहिलाको जस्तो पनि छैन । टियु जस्तो पनि भएको छैन । अब विस्तारै होला’, विनोदले भने ।

दुई वर्षअघि काठमाडौं मेयर्स कपमा नेपाल एपिएफ क्लब बागमतीसँग ७२ रनमा अल आउट भयो । बागमतीले उक्त लक्ष्य पछ्याउँदा ७० रनमा अल आउट भएको थियो । एपिएफले आर्मीलाई त्यसै प्रतियोगितामा ८७ रनमा अल आउट गरेको थियो । उक्त लक्ष्य पूरा गर्न ७ विकेट गुमाएको थियो ।

गत वर्ष यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदर्शन अझ सम्झन लायक रहेन । प्रतिभा आउने सबैभन्दा ठूलो प्रतियोगिता यू१९ मा खेलाडीहरुलाई मुलपानी अभिषाप जस्तै बन्यो । टियु मैदानमा मधेश प्रदेशले सुदूरपश्चिमले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पूरा गर्यो । तर त्यहि मधेश मुलपानीमा कर्णालीसँग ४५ रनमा घुँडा टेक्यो । कर्णालीले उक्त लक्ष्य पूरा गर्न ८ विकेट गुमाएको थियो ।

मुलपानीमा अहिले विकेट फ्रेस हुँदा केहि रन बनेको छ । मुलपानीको पेप्सिकोला एन्डतिर बाउन्ड्री छोटो बनाएर खेलाइएको छ । टियुको भन्दा मुलपानीमा बाउन्ड्री छोटो पाइन्छ । भर्खरै नयाँ माटो हालेको हुँदा केहि खेलमा रन बनेको छ । तर सुधारका लागि कदम नचाले १-२ अन्य प्रतियोगितापछि मुलपानी पुरानै अवस्थामा नजाला भन्न सकिन्न ।

क्यानले त यो पटक देखि मुलपानी र टियुमा फाइनल बाहेक अन्य सबै खेल बराबर खेलाएको छ । दोस्रो सेमिफाइनल मुलपानीमै खेलाउने तालिका छ । तर मुलपानीको पिच उस्तै भएपछि त्यहाँबाट सारेर टियुमा खेलाउने प्रबल सम्भावना देखिन्छ।

टियु र मुलपानी दुई राष्ट्रिय प्रतियोगिता गर्ने मैदान हुन् । यी दुई खेलमा प्रदर्शन आकाश पातालको फरक छ । टियुको फ्ल्याट पिचले ब्याटिङमा आशा जगाउँदा मुलपानीले निराश बनाउँछ ।

मुलपानीको पिचमा खेलेर राम्रो ब्याटर पाउन मुश्किल पर्छ । क्यान यो विषयमा गम्भीर हुनुपर्छ । पहिला पनि टियुको अवस्था त्यस्तै थियो । तर पछिल्लो तीन वर्षमा फेरिएको छ । पिच बनाउनुमा क्युरेटरको ठूलो हात हुन्छ । क्यानले कुनै कुराको कमी गराउनु हुन्न । त्यसपछि पनि नतिजा नआएमा क्युरेटरको कामको मुल्यांकन गर्नुपर्छ ।

यसपछि मुलपानीमा यू१९ राष्ट्रिय प्रतियोगिताका खेलहरु हुनेछन् । प्रतिभा चिन्ने पहिलो चरणमै मुलपानी जस्तो पिचले बाहिर आउन गाह्रो पर्छ । मुलपानीमा साइट स्क्रिन बनेको छ । तर स्थायी संरचनाभन्दा बढी भाग अझैपनि कपडाले छेक्नुपर्छ । त्यो कपडा गोकर्ण रिसोर्ट एण्डतर्फ लडेको देख्न सकिन्छ । खेल चलिरहँदा खेलाडी बनाएको स्कोर स्कोर बोर्डमा हुनुपर्ने थियो । तर योगफल मात्रै देख्न सकिन्छ ।

त्यसैपनि टियु बाहेक अन्य मैदान ब्याटिङका लागि चिनिदैनन् । ब्याटरले घरेलु क्रिकेटमा रन बनाए मात्रै अन्तर्राष्ट्रिय स्तरमा हौसला मिल्छ । त्यो आत्माविश्वास आउँछ । तर घरेलु प्रतियोगितामै २०/३० रन बनाउन मुश्किल पर्छ भने अन्तर्राष्ट्रियमा शतकको कल्पना गर्नु पक्कै मिल्दैन । यो त पक्का हो घरेलु मै रन बनाउन नसक्नेले अन्तर्राष्ट्रियमा बनाउन कठिन पर्छ । त्यसैले खेलाडीलाई मात्रै दोष दिन मिल्दैन । कुनैपनि खेलाडी मुलपानी जस्तो पिचमा खेलेर राम्रो ब्याटर बन्न सक्दैन ।

नेपाली क्रिकेटमा ब्याटिङ सुधार गर्ने हो कम्तिमा राष्ट्रिय प्रतियोगिता र प्रदेश छनोट खेल्ने पिच स्तरिय हुनुपर्छ । अव मुलपानीमा अनेक बाहना बनाउने कसैलाई छुट छैन । मुलपानीमा त्यो सुधार हुनै नसक्ने हो भने क्यानले अर्को विकल्प खोज्नुपर्छ । हैन भने यसको असर दीर्घकालिन समयसम्म नेपाली ब्याटिङमा देखिनेछ ।

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.