default_image

3 years ago

November 10, 2022

मधेशलाई हराउँदै एपिएफ तेस्रो पटक फाइनलमा

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ ।

एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो । एपिएफ यसअघि दोस्रो र चौथो संस्करणमा फाइनलमा पुगेको थियो ।

जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा युवा ब्याटर लोकेश बम ३५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३५ रनमा अविजित रहे । सन्दीप जोरा ६ रनमा अविजित रहे ।

ओपनर प्रदीप ऐरी ३८ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । अर्का ओपनर आशिफ शेख ३२ बलमा ५ चौकासहित २५ रनमा आउट भए । ओपनर प्रदीप र आसिफ शेखले १० ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर राजेश यादवले आसिफलाई बोल्ड गर्दैै पहिलो सफलता दिलाए ।

रुपेश सिंहले प्रदीप ऐरीलाई बोल्ड गरे । सुमित महर्जन २० बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए । मधेशका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा आउट भए । नवौं नम्बरका ब्याटर रुपेश बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अन्तिम विकेटका लागि रुपेश र प्रदीप पासवानले २८ रनको साझेदारी गर्दै एक सय रनको आकडा पार गराएका थिए । अन्तिम विकेटका रुपमा प्रदीपलाई कमलसिंह ऐरीले बोल्ड गर्दै अल आउट गरेका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर कमलसिंह ऐरीले सातौं ओभरको तेस्रो बलमा कप्तान हरिशंकर शाहलाई ६ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । लगत्तै अर्को बलमा कमलले युवा ब्याटर रोहन विकलाई शून्यमा एलबीडब्लू आउट गरे ।

प्रमुख ब्याटर अनिल कुमार शाहलाई कमलले मौसम ढकालबाट १३ रनमा क्याच गराएपछि मधेश ३०–३ को अवस्थामा पुगेको थियो । स्पिनर भुवन कार्कीले ओपनर सन्तोष कार्कीलाई एलबीडब्लू धरापमा पारे । १६ औं ओभरको चौथो बलमा विशाल शुश्लिङ सट लेगमा सुमित महर्जनबाट एक रनमा क्याच आउट भए । सुमित महर्जनले नै डाइरेक्ट थ्रोमा ईमरान शेखलाई १६ रनमा रन आउट गरे ।

विवेक यादव किशोर महतोको बलमा बोल्ड हुँदै गोल्डेन डक आउट हुन पुगेका थिए । पूर्ण रुपमा फिट नभएका विवेक यस प्रतियोगितामा राम्रो खेल्न सकेका छैनन् । आदिल आलम ३० बलमा १ चौकासहित ११ क्याच आउट भए । राजेश यादवलाई मौसमले १० रनमा बोल्ड गर्दै ८१–८ को दयनीय अवस्थामा पुगेको थियो ।

एपिएफका कमलसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । अमरसिंह राउटेलाले ६ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । मौसम ढकालले ७ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

यसअघि फाइनल पुग्ने र विजेता टोलीहरु

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा उपाधि बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

चौथो संस्करणको फाइनलमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि प्रधानमन्त्री कप एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।

May 23, 2025

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]

May 21, 2025

मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]

Success

Thank you for your time.