3 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजेश पुलामी मगरले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलको अन्तिम ओभरमा छक्का प्रहार गर्दै जित दिलाए । अन्तिम ओभरको पाँचौ बलमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले योर्कर फाल्ने योजना बुनेको आफूले थाहा पाएको राजेशले बताए ।

जितको लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । राजेश पुलामी मगरले पहिलो बलमा रन लिएनन् । दोस्रो बलमा एज लागेर विकेटकिपरको साइडबाट चौका गएपछि जित नजिक पुगेको थियो ।
तेस्रो र चौथो बलमा एक एक रन जोडेपछि अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । राजेशले दीपेन्द्रसिंह ऐरीलाई डिप मिडविकेटमा छक्का हान्दै ऐतिहासिक जितको हिरो बने । प्रधानमन्त्री कपमा पहिलो पटक ३ सय रनमाथिको योगफल पूरा भएको हो । यसअघि उच्च योगफल पूरा २०१८ मा एपिएफले गण्डकीविरुद्ध २ सय ४० रन पूरा गरेको थियो ।
आर्मीलाई ऐतिहासिक दुई विकेटको जित दिलाउँदै फाइनलमा पुर्याउन हिरो बनेका राजेशले दीपेन्द्रलाई छक्का हान्नु अघि योर्कर फ्याँक्ने थाहा भएको बताएका छन् ।
‘स्ट्राइक मसँग भएपछि अब मैले नै जिताउनुपर्छ भन्ने थियो । त्यो डट भएको भएपनि अन्तिम बल म हान्थें । दीपेन्द्रले योर्कर फ्याँक्नेछन् भन्ने लागेको थियो । त्यसैले म क्रिजको डिपमा बसेको थिए । फुलटस आयो र छक्का हानें’, राजेशले जितको क्षण सम्झँदै भने ।

राजेशले ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहँदै खेल सकाए । रोहितले ८७ बलमा ९ चौकासहित ८९ र हरि चौहानले ९२ बलमा ८ चौका र १ छक्कासहित ७५ रन बनाए । राजेश नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
‘राजेश यो जितको श्रेय टिमलाई जाने बताउँछन् । हैन यो टिम प्रयास हो । मैले अन्त्य गरेर म देखिए जस्तो भयो । तर सुरुवात देखिनै यो आधार नबनाएको भए यो अन्त्य पनि हुने थिएन होला । बीचमा विक्रम सोबले आक्रामक इनिङ खेलेपछि सहज भयो । ठूलो लक्ष्य पूरा त पहिला पनि गरेको हो । ३ सय ५ धेरै नै हो’, राजेशले भने ।
आर्मीका हार्ड हिटर तथा कप्तान विनोद भण्डारी ४२.४ ओभरमा आउट हुँदा आर्मी २४२–६ को अवस्थामा थियो । सातौं विकेटका लागि विक्रम र राजेशले ५३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । राजेश खेल जिताउनेमा आत्माविश्वासी रहेको बताउँछन् । ‘विनोद आउट भएपछि कुशल मल्ल पनि टोलीमा थिए । दुर्भाग्य उनी पहिलो बलमै आउट भए । तर म अन्तिमसम्म टिक्न सकें भने खेल जिताउनेमा आत्माविश्वासी थिएँ’, उनले भने ।
‘मलाई आफूमाथि विश्वास थियो । अन्तिम ओभरसम्म खेलें भने स्ट्राइकमा जाँदा खेल जिताइदिन्छु भन्ने थियो । १६ रनमा दीलिप नाथले क्याच छाडेपछि म झस्किएँ । हैन मैले यो इनिङलाई अझै अघि लगेर जानुपर्छ । अब गल्ती गर्दिन भन्ने सोच बनाएँ’, उनले भने ।
अन्तिम ओभरमा दीपेन्द्र बलिङमा आए । स्पिनरलाई रिड गर्न सजिलो हुँदा राजेशको मनोबल उच्च भयो । ‘दीपेन्द्र आएपछि अलि सजिलो भयो । मलाई अफ स्पिनर भनेपछि खेल्न सजिलो लाग्छ । म सेट पनि भइसकेको थिएँ । नयाँ भएको भए कठिन हुन्थ्यो । यो प्रदर्शनले मनोबल उच्च छ । उनीहरु पनि जित्ने हिसाबले आउँछ हामी पनि जित्न नै आएको हो । मनोबल उच्च छ’, राजेशले भने ।
राजेशले कर्णालीविरुद्ध मुलपानी मैदानमा २८ रनको इनिङ खेलेका थिए । पछिल्लो समय राजेशले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनी प्रदर्शनमा तलमाथि हुन बताउँछन् । ‘खेलाडीको प्रदर्शन तलमाथि हुन्छ । क्रिकेटमा एक इनिङमा लाग्दा आत्माविश्वास उच्च र नलाग्दा केहि कम हुन्छ । त्यो खेलको कुरा हो’, उनले भने ।
यता पुलिसका करण केसीले एक्लै ६ विकेट लिएपनि पुलिसलाई जित दिलाउन सकेनन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ४० रनको इनिङ खेले ।
चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरे । आरिफ शेख १ सय ९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । शनिबार फाइनलमा नेपाल एपिएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपाल एपिएफ क्लबले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]