default_image

3 years ago

January 24, 2023

नेपाल टि२० लिगमा यसरी भएको थियो मिलेमतो

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबि) ले नेपाल टि२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका पूर्व खेलाडी महबुब आलम र अलराउन्डर अदिल अन्सारीलाई अनुसन्धानका लागि ५ दिन थप हिरासतमा राख्ने भएको छ । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गर्दै लिगमा मिलेमतो भएको प्रक्रिया र छानविनका क्रममा भेटिएका तथ्य सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्टस प्रा.लि.को रणनितिक तथा व्यवसायिक साझेदारीमा टियु क्रिकेट मैदानमा पुषमा सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगमा खेल मिलेमतो तथा अनियमितता गरेको आरोपमा प्रहरीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको थियो । लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने. बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुयाउने किसिमका गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानको लागि दुईलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई महबुबलाई विराटनगर तथा आदीललाई राजविराजबाट पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नको लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट आजै दिन ५ (पाँच) म्याद थप गरी ब्यूरोको हिरासतमा राखी अनुसन्धान हुने भएको छ ।

छानविन तथा प्रारम्भिक अनुसन्धानको क्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुबले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको खुलेको छ ।

त्यस्तै आदिललाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको अनुसन्धानले खुलाएको छ । त्यस्तै लिगमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले मिलेमतोको लागि प्रयास गरेको र एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट मिलेमतो गराउने प्रयास भएको जनाइएको छ ।

लिगमा टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको पनि खुलासा भएको छ ।

मुख्य प्रायोजकको रूपमा रहेको वान एक्स ब्याटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको तर हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामाग्री उपलब्ध नभएको अनुसन्धानमा देखिएको छ ।

केही फ्रेन्चाइज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको र विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी-२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार र प्रयान्चाईज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा सट्टेबाजी गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको जनाइएको छ ।

कानूनी प्रावधान: राष्ट्रिय खेलकुद विकास ऐन, २०७७

दफा ३१ खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने : नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसंग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकुल हुने गरी कुनै खेलाडी वा खलाडीको समूहसँग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्ने वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।

दफा ३२ (ग) कसुरः खेलमा मिलोमतो तथा अनियमितता गरेमा यस ऐन अन्तरगतको कसूर मानिने

दफा ३३ सजाय: तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने

(कसूर गर्न आदेश वा निर्देशन दिने त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य

कसुरदार सरह सजाय हुने)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.