काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल टि२० लिगमा चार नेपालीसहित कुल १० जना संलग्न रहेको जनाएको छ । सिआइबीले मंगलबार एक पत्रकार सम्मेलन गर्दै नेपाल टि२० लिगमा फिक्सिङ र अनियमितता बारे जानकारी दिएको छ । जसमा नेपालबाट एक मात्रै खेलाडी संलग्न रहेको जनाएको छ ।

‘अहिले सम्म अनुसन्धान गर्दा नेपाल टि२० लिगमा १० व्यक्ति फिक्सिङ र अनियमिततामा जोडिएका छन् । त्यसमध्य चार जना नेपाली छन् । नेपालबाट एक खेलाडी र तीन बीचका व्यक्ति रहेका छन् । ६ जना विदेशी जोडिएका छन् । ४ जना व्यवस्थापक, एक जना खेलाडी र एक जना विचौलियाको काम गरेका छन्’, सिआईबीका एसपी सन्जय थापा भने ।
‘त्यसै अनुसार हामीले दुई जना नेपालीलाई पक्राउ गरेका छन् । पूर्व खेलाडी महबुब आलम र युवा अलराउन्डर मोहम्मद आदिल आलम रहेका छन् । सोमबारको दिन देखि नै लागु हुनेगरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको लागि म्याद थप गरिएको छ’, थापाले भने ।
पाँच जनालाई फिक्सिङ प्रस्ताव आउँदा तीन जनाले अस्वीकार गरेको सिआईबीले जनाएको छ । उक्त तीन व्यक्तिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एन्टि करप्सन युनिट (एसियु) लाई जानकारी दिएका थिए । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडीलाई फिक्सिङको प्रस्ताव आउँदा एसियुलाई जानकारी दिनुपर्छ ।
अन्यथा फिक्सिङ नगरेपनि कारबाही हुनेछ । पछिल्लो समय २०१९ मा बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन एसियुलाई जानकारी नदिएकै कारण एक वर्ष प्रतिबन्धमा परेका थिए ।

तर नेपालमा दुई खेलाडीले भने एसियुलाई जानकारी दिएका थिएनन् । आदिललाई सामाजिक सञ्जालबाट प्रस्ताव आएको थियो । विराटनगरका एक खेलाडीलाई भने सिधै कुरा गरेका छन् । विराटनगरका खेलाडीलाई व्यवस्थापिकीय भूमिकामा रहेका ब्यक्तिले प्रस्ताव गरेको सिआईबीले जनाएको छ । कुल १० जना मध्य दुई खेलाडी, चार विचौलिया र बाँकी व्यवस्थापनमा रहेका थिए ।
महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए ।
सिआईबीले भने अनुसार हेर्दा आदिलले यो काम लिगको १२ औं खेलमा फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको सुरुवाती दुई बलमा गरेका थिए । उनले हश्मातुल्लाह शाहिदीलाई पहिला नो बल र लगत्तै वाइड फ्याँकेका थिए ।
सिआईबीले त्यो आइसिसीको नियम अनुसार एसियुलाई कुनैपनि जानकारी दिएका थिएनन् । आदिलले त्यो कुरा पनि स्वीकार गरेको सिआईबीले जनाएको छ । ती विदेशी खेलाडीलाई हाम्रो नेटवर्कले आइपिएलदेखि विश्वभर खेल्ने वातावरण मिलाइदिने समेत लोभ देखाएका थिए ।
सिआईबीले हरेक खेलको स्कोरकार्ड हेरेर अनुसन्धान गरि रहेको जनाएको छ । मेहबुब आलमले प्रस्ताव गरेका दुई मध्य एक मात्रै पक्राउ परेका छन् । एक खेलाडीले भने अस्वीकार गर्दै एसियुलाई जानकारी दिएका थिए । एसएसपी दीनेश कुमार आचार्यका अनुसार विदेशी खेलाडी भने नेपालमा रहनसम्म कारबाही गर्न सक्ने बताए । आचार्यले यी सबै कुरा अनुसन्धानकै क्रममा रहेको बताए ।