एजेन्सी – दक्षिण अफ्रिका ओपनर फाफ डु प्लेसिसले घरेलु मैदानमा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा ऐतिहासिक शतक हानेका छन् । डु प्लेसिसले जोबर्ग सुपर किंग्सबाट डर्बन सुपर जायन्सविरुद्ध शतक हान्दै इतिहास रचेका हुन् । एसए टि२० क्रिकेट प्रतियोगितामा शतक हान्ने डु प्लेसिस पहिलो खेलाडी बनेका छन् ।

जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको किंग्सले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान फाफ डु प्लेसिसले ५८ बलमा ८ चौका र ८ छक्कासहित १ सय १३ रनमा अविजित रहे । ओपनर रिजा हेन्ड्रिक्स ४६ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा आउट भए ।
हेन्ड्रिक्स र डु प्लेसिसले पहिलो विकेटका लागि १६.३ ओभरमा १ सय ५७ रनको शतकीय साझेदारी गरेका थिए । जायन्ट्सका रिस टोप्ली र वियान मुल्डरले एक एक विकेट लिए ।
त्यसअघि जोहनबर्गमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । जायन्ट्सका लागि हेनरिक क्लासेनलले ४८ बलमा ७ चौकासहित सर्वाधिक ६५ रन बनाए । किंग्सका महेश थिक्सेना र जेरार्ड कोट्जेले एक एक विकेट लिए ।