एजेन्सी – भारतीय क्रिकेटर सूर्यकुमार यादवले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टि२० आई क्रिकेटर अफ दी अवार्ड जितेका छन् । सानदार प्रदर्शन गरेका सूर्यले उत्कृष्ट टि२० क्रिकेटर २०२२ को अवार्ड जितेका हुन् ।

सूर्यले टि२० विश्वकप विजेता इंग्ल्यान्डका साम करन, पाकिस्तानका मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । सूर्यले २०२२ मा ३१ खेलमा २ शतक र ९ अर्धशतकसहित १ हजार १ सय ६४ रन बनाउँदै शीर्ष स्थानमा रहेका थिए ।
पाकिस्तानी मोहम्मद रिजवान २५ खेलमा १० मा अर्धशतकसहित ९ सय ९६ रन बनाएका थिए । यता इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि जिताउँदा साम करनले उत्कृष्ट प्रदर्शन गरेका थिए । साम करनले इंग्ल्यान्डलाई विश्वकप उपाधि जिताउन १३ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
जिम्बावेका सिकन्दर राजाले टि२० विश्वकपमा सानदार प्रदर्शन गरेका थिए । राजाले २४ खेलमा ७ सय ३५ रन बनाउनुको साथै २५ विकेट लिएका थिए ।
सूर्यले विष्फोटक ब्याटिङ गर्दै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सूर्यले गत जुलाई इंग्ल्यान्डविरुद्ध तेस्रो टि२० आई खेलमा ५५ बलमा १४ चौका र ६ छक्कासहित १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै सूर्यले नोभेम्बरमा न्युजिल्यान्डविरुद्ध ५१ बलमा ११ चौका र ७ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।
इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले जितेका छन् । मार्को यानसनले टेस्टमा ३६, ओडिआईमा दुई र टि२० आईमा एक विकेट लिएका थिए ।
यानसनले भारतका अर्शदीपसिंह, न्युजिल्यान्डका फिन एलेन र इब्राहिम जद्रानलाईपछि पार्दै अवार्ड जितेका छन् । एसोसियट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।