default_image

3 years ago

January 31, 2023

क्रिकेटका सुपर फ्यान ‘नन्दु’

1182 views

0 Bookmark

भुपेन्द्र जि.सी.,काठमाडौं

खेलाडीका समर्थक कति हुन्छन् त्यो गणना गर्न, सम्झन र चिन्न सकिँदैन । हजारौं, लाखौं र करोडौंको भिडमा त्यो सम्भव पनि हुँदैन । तर केहि यस्ता समर्थक हुन्छन् जो सधैं खेलाडीको मनमा बस्न सफल हुन्छन् । जसलाई खेलाडी खेल चलिरहँदा हजारौंको भीडमा सजिलै चिन्छन् । नेपाली क्रिकेटमा एक उदाहरण हुन् नन्दराम महर्जन उर्फ नन्दु ।

स्थानीय प्रतियोगिता होस् वा अन्तर्राष्ट्रिय, टियु मैदानमा क्रिकेट हुनेबितिक्कै नन्दु उपस्थित हुन्छन् । आफ्नो मन पर्ने खेलाडी, टोली र देशलाई सदावहार साथ र माया दिने गर्दछन् । उनको खेलप्रतिको लगावलाई शब्दमा बयान गर्न सकिदैन । विशेषगरी उनी विकेटकिपर विनोद भण्डारीका त सुपर फ्यान नै हुन् ।

नियमित उपस्थिति जनाउने नन्दुलाई नचिन्ने सायदै कुनै क्रिकेटर होलान् । कीर्तिपुरकै स्थायी बासिन्दा नन्दु दुई दशकयता नेपाली क्रिकेटलाई लगातार पछ्याउँदै आएका छन् । तर नन्दुको परिचय एक सुपर फ्यानमा मात्र सिमित छैन । फुटबल र क्रिकेटतर्फ विशेष क्षमता भएका खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले खेलेका छन् ।

जब टियुमा खेल हुन्छ, त्यसबेला दर्शकदीर्घाबाट एउटा आवाज सुनिन्छ । जसले निरन्तर खेलाडीलाई हौसला दिइरहेका हुन्छन् । सामान्यतया खेलाडीले खेल चलिरहँदा त्यो भीडमा समर्थकको बोली चिन्न सकिँदैन र ध्यान पनि दिँदैनन् । तर नन्दुको आवाज हरेक खेलाडीले चिन्छन् र उनलाई ईशारा गर्दछन् । त्यसो नगरे नन्दु लगातार ती खेलाडीको नाम लिएर आफूतर्फ ध्यान आकर्षण गराउँछन् ।

नन्दुले विनोद धेरै अघिदेखि चिन्ने बताउँछन् । उनको विकेटकिपिङबाट प्रभावित हुँदै कट्टर समर्थक नै बने । त्यसपछि उनले विनोदको साथ कहिल्यै छाडेनन् । विनोदले राम्रो खेल्दा होस् वा नराम्रो, उनी प्राय टियुमा पनि विनोदकै जर्सीमा भेटिन्छन् । भेट्ने र उनीसँग कुरा गर्ने समर्थकलाई पनि विनोद र अन्य खेलाडीबारे गफ दिइरहेका हुन्छन् ।

‘विनोद दाईलाई पहिलादेखि नै चिनेको हो । विनोद दाईले माया गर्नुहुन्थ्यो । त्यहि भएर मन परेको हो । कहिलेकाहीँ विनोदसँग कुरा पनि गर्छु । दाइको ब्याटिङ र किपिङ सबै मन पर्छ । त्यसैले वहाँको समर्थक हुँ’, नन्दुले भने ।

गत कार्तिकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि घरेलु क्रिकेटकै उत्कृष्ट जित हात पार्यो । आर्मीले सेमिफाइनल खेलमा ३ सय ५ रनको विशाल लक्ष्य एक बल अगाडि ८ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको रोमान्चक जितसँगै मैदान छिरेर नन्दुले विनोदसँग अंगालो मारे ।

एउटा समर्थकको लागि यस्तो क्षण विरलै आउँछ । नेपालले होस् वा विनोद कप्तान भएको आर्मीले हार्दा । अथवा विनोदले कमजोर प्रदर्शन गर्दा नै, नन्दु रुन्छन् पनि । नन्दुको आवाज टियुमा सुनिएना भने खेलाडी पनि सोच्छन् । नन्दु आज आएन, कतै विरामी त परेन…।

‘कहिलेकाहीँ नेपालले हार्दा रुन मन लाग्छ । मेरो आफ्नो देश हो । देशको माया त लागि हाल्छ नि । टियुमा खेल हुँदा पनि रोएको छु । पारसको कप्तानीमा मलेसियामा हार्दा पनि रोएँ । शक्ति दाइले सन्न्यास लिने बेला पनि आँशु आयो । पारस दाईले क्रिकेट छाड्दा दुःख लाग्यो । अस्ति आर्मीले फाइनल हार्दा पनि रुन मन लागेको थियो’, नन्दुले भने ।

नन्दु चलाख छन् । खेल हेर्ने समयमा व्यापार पनि गर्छन् । समर्थक कम आउने प्रतियोगितामा दिनभर खेल हेरेर फर्किन्छन् । नन्दुले नेपालबाट विशेष क्षमता भएका खेलाडीले खेल्ने प्रतियोगितामा क्रिकेट र फुटबल खेलेका छन् । २००६ मा नन्दुले भारतमा क्रिकेट खेलेका थिए । त्यो बेला उनले भारतीय बलिउड नायक अक्षय कुमारसँग तस्विर खिच्ने अवसर पाएका थिए । नन्दु त्यस तस्विर देखाउँदा अहिले पनि निकै खुसी हुन्छन् । उनले अफगानिस्तानविरुद्ध २७ रन बनाउनुको साथै २ विकेट लिएका थिए रे ।

२००७ मा उनले चीनमा गएर विशेष ओलम्पिक विश्व ग्रीष्मकालिन खेल अन्तर्गत फुटबल खेले । सामान्य व्यक्तिजस्तै सानोमा नन्दु सबै खेल खेल्थे । तर ७–८ वर्षको उमेरमा कीर्तिपुर नयाँ बजार घर भएका उनी पाँच तलामाथिबाट खसेपछि केहि मानसिक असर परेको बताउँछन् । टियुमा खेल हुँदैछ भनेर उनी सामाजिक सञ्जाल र गुगलबाट थाहा पाउँछन् । खेल हेर्न नपाउँदा कहिलेकाहीँ क्यान, चिनेका मान्छे वा खेलाडीलाई सोध्छन् ।

केहि कारण नन्दु टियुमा खेल हेर्न पाएनन् भने निकै नराम्रो लाग्छ रे । पछिल्लो समय विनोद भण्डारी नेपाली टोलीमा छैनन् । जब नेपालले खेल हार्छ, नन्दु विनोदलाई नखेलाएर हारेको भन्दै समर्थकमाझ गफ पनि दिन पछि पर्दैनन् । कहिलेकाहिँ टियुमा नन्दुलाई देखेनन् भने विनोदको मन पनि आतिन्छ रे । नन्दुको समर्थनबाट विनोद पनि निकै खुसी छन् ।

‘कोहि यसरी हारमा पनि साथ दिन्छ भने खुसी लाग्छ । मलाई कस्तो लाग्छ भने उसलाई जितेपनि वा हारेपनि केहि हुँदैन । तर साथ दिइरहेको हुन्छ । टियु आएको बेला अरुको आवाज नसुने पनि उसको सुनिन्छ । किनभने उसको आवाज तिखो छ । त्यो आवाज पनि भित्र कानमा आइरहन्छ’, विनोदले भने ।

विनोदले केहि समय अघि नवौं राष्ट्रिय खेलकुदको सुरुवाती चरणमा नन्दुलाई टियु देखेनन् । सधैं टियुमा उपस्थित हुने उनलाई नदेख्दा विनोदको मन आत्तिएछ । कतै विरामी पो भएन भन्ने शंका लागेछ ।

‘अस्ति भएको नवौं राष्ट्रिय प्रतियोगितामा होला । त्यतिबेला नन्दु खेलमा आएको थिएन । त्यो बेला मलाई अर्कै अनुभव भएको थियो । खेल सकिएपछि अरु खेलाडीहरुसँग पनि कुरा गर्दै मैले भनेको थिए यो पटक नन्दु देखिएको छैन, सन्चो छैन कि जस्तो छ । तर पछि नकआउट खेलमा भने आइपुगे’, नन्दुलाई सम्झदै भने ।

नन्दुलाई विनोद, पारस खड्का, सोमपाल कामी, रोहित पौडेल लगायतका नेपाली खेलाडी मनपर्छ । खेलपछि कहिलेकाहिँ अन्य खेलाडीहरु विनोदको समर्थन गर्न छाड् जर्सी वा कुनै दिन्छु भनेर लोभ देखाउँछन् । तर नन्दुले अस्वीकार गर्छन् । यसैबाट नन्दु विनोदका कतिसम्म फ्यान हुन आफैं अनुमान गर्न सकिन्छ ।

‘उ नआउँदा पनि मलाई खल्लो खल्लो लागेको थियो । त्यस्तो नोटिस हुन्छ । किनकी हरेक खेलमा साथ दिने । एक पटक मैले पनि नन्दुसँग कुरा गरेको थिए । काठमाडौं मेयर्स कपमा पारस र म दुवैले शतक हान्नुको अघिल्लो दिन बागमती प्रदेशविरुद्ध खेल्नु अघि मैले नन्दुलाई भनेको थिएँ – भोली त पारस दाइको खेल छ । पारस दाइको सपोट नगर्ने ? ‘

‘उसको जवाफ थियो – भित्रदेखि पारस दाइको सपोर्ट पनि गर्छु । तर तपाईंको साथ भने छाड्दैन । त्यो कुराले मलाई झनै भित्रैदेखि मन छोएको थियो । नन्दु कराएपछि खेल्दा पनि अलिकति रमाइलो हुन्छ । जबसम्म मैले हात देखाएन तबसम्म मलाई बोलाइरहन्छन् । नराम्रो नलागोस भनेर मैले हात देखाउँछु’, विनोदले भने ।

कीर्तिपुर नयाँबजारका स्थानीय बासिन्दा नन्दुको एक छोरा र एक छोरी छन् । टियुमा खेलसँगै समय कटाउन व्यापार पनि गर्ने नन्दुको पारिवारिक आर्थिक अवस्था एकदम बलियो छ । प्रायः हसिलो अनुहारका साथ सामान्य जीवनशैलीमा हिँड्न रुचाउने उनले दर्शक दिर्घामै बसेर नेपाली क्रिकेटमा पहिचान बनाएका छन् । उनी नेपाली क्रिकेटका सुपर फ्यान हुन् भन्दा सायदै दुइमत होला ।

हरेक नेपाली समर्थकझैं नन्दुको अबको आशा भनेको ओडिआई मान्यता निरन्तरता होस् भन्ने छ । ‘नेपालले विश्वकप पनि खेलोस् । बलिङ, ब्याटिङ र फिटनेस नभएर राम्रो भएको छैन । खेल हुनुपर्छ । नेपालले राम्रो खेल्नुपर्छ । त्यसको लागि नेपालले अभ्यास गर्नुपर्छ’, उनले आफ्नो भनाइ सुनाए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.