3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेल १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे ।
कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन् । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् । यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए ।

कुशल टि२० आई र ओडिआई दुबैमा शतक हान्ने नेपालको तेस्रो खेलाडी हुन् । कुशलअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले ओडिआई र टि२० आई दुबैमा शतक हानेका थिए । कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय कीर्तिमानी साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
ओडिआईमा नेपालबाट बनेको उच्च साझेदारी हो । यसअघि उच्च साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको गरेका थिए । कप्तान रोहितले दुई जीवनदान थिए । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । डिप मिडविकेटमा रोहितको सहज क्याच लो ह्यान्डी लरेन्सले छाडेका थिए ।

नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । कुशल मल्ल ६ रनमा ट्रम्पलम्यानको बलमा बोल्ड आउट भए ।
सन्दीप जोरा २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नामिबियाका जेन निकोलले ५.४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । उनको यो लगातार शतक हो । दुबै शतक नेपालविरुद्ध हानेका छन् ।

यसअघि नेपालविरुद्ध नै डिसेम्बरमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । जुन नेपालविरुद्ध विपक्षी कुनैपनि ब्याटरले ओडिआईमा हानेको उच्च योगफल थियो । उनी नामिबियाबाट ओडिआईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी हुन् ।
उनी नामिबियाबाट एक खेलमा ओडिआईमा सर्वाधिक रन हान्ने दोस्रो खेलाडी हुन् । नामिबियाका जेपी कोट्जेले २०१९ मा अमेरिकाविरुद्ध १ सय ३६ रनको इनिङ् खेलेका थिए । माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका थिए । माइकल करण केसीको बलमा डिप मिडविकेटमाथि छक्का हान्ने धुनमा ४७ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भएका थिए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए ।
माइकलले ब्यक्तिगत ५६ रनमा जीवनदान पाएका थिए । स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा माइकलको क्याच छाडेका ५६ रनमा क्याच ड्रप गरेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टकलाई १३ रनमा बोल्ड आउट गर्दै पूनरागमन गरेका थिए ।

चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि गत भदौपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् । जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।
करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए । नेपालले अव दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २४ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]